ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुस्ताङका किसानलाई स्याउ टिप्ने चटारो

२०७९ असोज, १०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । मुस्ताङमा स्याउ टिप्न शुरू गरिएको छ । बगैंचामा स्याउ पाक्न थालेपछि बजार पुर्‍याउन कृषकले स्याउ टिप्न थालेका हुन् । जिल्लाका पाँचओटै स्थानीय तहका स्याउ बगैंचामा यतिबेला स्याउ व्यापारीको चहलपहल बढेको छ । 

बोटमा स्याउ नपाक्दै बजार पठाउने प्रवृत्ति रोक्दै यस वर्ष भदौ २५ गतेदेखि कृषकलाई स्याउ टिप्न दिने निर्णय गरिएको थियो । यससँगै अहिले सबैजसो ठाउँमा स्याउ टिप्न थालिएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए । उनका अनुसार यस वर्ष मुस्ताङमा स्याउ उत्पादन बढेको छ ।

विगतका वर्षहरूमा बोटबाट स्याउ नपाक्दै बजारमा लैजाँदा उपभोक्ताले स्याउको गुणस्तर खस्किएको गुनासो गरेका थिए । यस वर्षदेखि भने बोटमा पाकेपछि मात्र बजारमा पठाउन थालिएको छ । अनुकूल मौसमका कारण गतवर्षको तुलनामा यस वर्ष स्याउको उत्पादन १५ प्रतिशतले बढेको अनुमान गरिएको छ । 

मुस्ताङमा उत्पादित स्याउ ९० प्रतिशत जिल्लाबाहिर निकासी हुने गरेको छ । गतवर्ष ५ हजार ५६४ मेट्रिक टन स्याउ विक्रीबाट मुस्ताङमा रू. ५१ करोडभन्दा बढी भित्रिएको थियो । जिल्लामा १ हजार ४७५ हेक्टर जमीनमा स्याउखेती गरिएको छ, जसमध्ये ५८० हेक्टरमा लगाइएको स्याउका बोटबाट उत्पादन हुने गरेको छ । ३८ हेक्टर जमीनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ । जिल्लाको थासाङ गाउँपालिकाको वडा नं ३, ४ र ५ बाहेक पाँचओटै स्थानीय तहमा स्याउखेती हुँदै आएको छ । मुस्ताङमा स्याउखेतीलाई थप व्यावसायिक बनाउन र विस्तार गर्न कृषि ज्ञान केन्द्रले सहयोग गर्दै आएको छ । पुरानो बगैंचा व्यवस्थापनका लागि प्रांगारिक मल, विषादी र यन्त्र/उपकरण खरीदका लागि कार्यालयले नगद अनुदान दिँदै आएको छ ।

कृषि ज्ञान केन्द्र र स्थानीय तहहरूले समेत प्राविधिक परामर्श सेवा र बजारीकरणमा सघाउन थालेपछि स्याउखेतीमा कृषकको आकर्षण बढ्दै गएको छ । 

जोमसोममा वर्षौंदेखि स्याउखेती गर्दै आएका कर्मा गुरुङले आफूले खेतीको क्षेत्रफल विस्तारसमेत गरिरहेको बताए । अहिले ३०० रोपनी जग्गामा स्याउखेती गरेका गुरुङले आफ्नो बगैंचामा उत्पादित स्याउ काठमाडौंमा बेच्ने तयारी गरेका छन् । ‘यहाँ स्याउ किन्न बाहिरका व्यापारी पनि आउने गर्छन्, यस वर्ष म आफै पनि काठमाडौं पुर्‍याएर विक्री गर्ने योजनामा छु,’ उनले भने ।

मुस्ताङमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेतीअन्तर्गत गाला, फुजी, रिङरुट, गोल्डेन डेलिसियस र जोनाप्रिन्स प्रजातिका स्याउखेती गरिन्छ । बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकामा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती बढी विस्तार भएको छ ।

स्याउ विशेष कार्यक्रमअन्तर्गत गतवर्ष मात्र कृषि ज्ञान केन्द्रले उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती प्रवर्द्धनका लागि कृषकहरूलाई रू. २ करोड ४० लाख अनुदान दिएको थियो । कृषि विकास निर्देशनालयले समेत स्याउका बिरुवा खरीदमा ७५ प्रतिशत अनुदान उपलब्ध गराएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)