ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

क्षमताको एक चौथाइमा खुम्चिए सिमेन्ट र डन्डी उद्योग

नाफा कमाउन होइन, घाटा कम गर्न सामान उत्पादन गरेर विक्री गर्नुपरेको उद्योगीको गुनासो

२०७९ असोज, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । सामान्यतः कुनै पनि वस्तुको मूल्य बढ्दा बजारमा त्यस्तो उत्पादनको माग बढेको हुन्छ । तर, अहिले बजारको यो सर्वमान्य सिद्धान्तले काम गरेको छैन । कोरोना महामारीयता अर्थतन्त्रमा देखिएको असामान्य अवस्थामा हरेकजसो वस्तुको लागत बढेको छ । बजारमा माग भने छैन ।

बजारले साथ नदिएपछि स्वदेशी सिमेन्ट र डन्डी उद्योगको बजार खस्किएको छ । यस्ता उद्योगले उत्पादन घटाएका मात्र छैनन्, लागतभन्दा कम मूल्यमा बेच्न बाध्य भएको सम्बद्ध व्यवसायीको भनाइ छ ।

कोरोना महामारीले उत्पादन र आपूर्ति शृंखला बिथोलिँदा वस्तु र सेवाको लागत बढे पनि बजार भने खुम्चिएको छ । अन्तरराष्ट्रिय बजारमै वस्तु तथा सेवाको मूल्य अभिवृद्धिले नेपालजस्तो आयातमा आधारित उत्पादनमा वस्तुको मूल्य बढेको छ ।

बैंकमा लगानीयोग्य रकमको अभाव देखाएर लगानीमा भएको कडाइ र अर्थतन्त्रमा गम्भीर संकटको हल्लाका कारण सर्वसाधारणले अत्यावश्यकीय उपभोगमा मात्र खर्च गर्न थालेकाले बजारमा माग घटेको नारायणी सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक सतीश चाचानको बुझाइ छ ।

‘सर्वसाधारणले अति आवश्यक कुरामा मात्रै खर्च गरिरहेका छन् । निर्माण प्राथमिकतामा नपर्दा निर्माण सामग्रीको माग घटिरहेको छ,’ चाचानले भने, ‘सरकारको प्राथमिकता पनि चुनावमा छ । विकास बजेट खर्च भएको छैन । यसले माग सृजना हुन सकेको छैन ।’

सिमेन्टका सकस
सिमेन्ट उद्योगहरू क्षमताको एक चौथाइमा झरिसकेको उद्यमीहरूले बताएका छन् ।

‘बजारमा माग नै छैन । वर्षाको बेलामा यसै पनि माग कम हुने हो । त्यसमाथि लगानीमा कडाइ र उच्च ब्याज दरले निर्माण क्षेत्रमा लगानी नहुँदा माग नै छैन,’ एक उद्यमीले भने, ‘यस्ता उद्योगको उत्पादन अहिले क्षमताको २५/३० प्रतिशतमा झरिसकेको छ ।’

यसको असर उत्पादनको मूल्यमा परेको छ । माग नभएपछि उद्योगहरूबीच सस्तोमा बेच्ने प्रतिस्पर्धा चलेको छ । यतिसम्म कि, कतिले त लागत मूल्यभन्दा पनि कममा विक्री गर्न थालेका छन् । औसतमा प्रतिबोरा (५० किलो) ७५० रुपैयाँ मूल्य रहेको अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) को भाउ अहिले बोरामै १५० रुपैयाँसम्म घटिसकेको छ ।

उद्योगपिच्छे मूल्य केही तलमाथि भए पनि यो सिमेन्टको भाउ अहिले बोराको ६०० देखि ६५० रुपैयाँसम्म छ । पोर्टल्यान्ड पोजोलना सिमेन्ट (पीपीसी) प्रतिबोरा ५०० देखि ५७० रुपैयाँसम्ममा झरिसकेको छ । ६०० रुपैयाँभन्दा कम मूल्यमा सिमेन्ट बेच्दा लागत पनि नउठ्ने उद्यमी बताउँछन् ।

अम्बे सिमेन्टका महाप्रबन्धक राकेश अधिकारी स्वदेशी बजार खुम्चिएको बेला भारत निकासीले राहत दिनसक्ने भए पनि अहिले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकिने बताउँछन् । भारतमा ओपीसी सिमेन्ट ३५० भारतीय रुपया (५६० रुपैयाँ) छ । नेपालको सिमेन्टको न्यूनतम लागत ६०० रुपैयाँ हाराहारी हुन्छ ।
‘भारतले वस्तु तथा सेवा कर नै १२ प्रतिशत लिन्छ । सरकारले दिने भनेको ८ प्रतिशत अनुदानको प्रावधान पनि व्यावहारिक छैन । यस्तोमा निकासी पनि सम्भव देखिएन,’ अधिकारीले भने ।

डन्डीको पनि बेहाल
माग उच्च हुँदा शतप्रतिशत क्षमतामा चल्ने डन्डी उद्योगले माग नै आउन छोडेपछि अहिले उत्पादन घटाउने अवस्था आएको छ । केही डन्डी उद्योगले मात्र क्षमताको ५० प्रतिशत उपयोग गरेका छन् । अधिकांश २५ प्रतिशतमा खुम्चिएका छन् ।

उद्योगले पूरा क्षमतामा उत्पादन गर्न नपाउँदा सीमित उत्पादनमै बैंकको ब्याज, मजदूर तथा कर्मचारी खर्चको भार पर्दा लागत झन् चुलिएको छ । कच्चा पदार्थ र ढुवानी खर्च पनि तुलनात्मक वृद्धि भएको उद्यमी बताउँछन् । यस्ता वस्तुको उत्पादन लागत बढे पनि लागतभन्दा पनि कम मूल्यमा विक्री गर्नुपरेको बारा–पर्सा उद्योग संघका उपाध्यक्ष रमेश अग्रवालले दाबी गरे ।

डन्डी उत्पादक जगदम्बा इन्टरप्राइजेजका सञ्चालकसमेत रहेका अग्रवालका अनुसार अहिले डन्डीको उत्पादन लागत प्रतिकिलो ९६ रुपैयाँ पर्छ । तर, उद्योगीले ९३ रुपैयाँमा विक्री गरिरहेका छन् । ‘नाफा कमाउन होइन, घाटा कम गर्न सस्तोमै भए पनि बेच्नैपर्ने बाध्यता छ,’ अग्रवालले भने । ६ महीनाअघि डन्डीको मूल्य किलोको १०८ रुपैयाँ पुगिसकेको थियो । उपभोक्ताले यो मूल्यमा मूल्य अभिवृद्धिकर थप तिर्नुपर्छ ।

उद्योगी राजेश क्याल वर्षाको समयमा यसै पनि बजार खुम्चिने भए पनि यो वर्ष अनपेक्षित रूपमा घटेको अनुभव सुनाउँछन् । सरकारले पूँजीगत खर्च बढाएर विकास निर्माणका काम अघि बढाएमा बजारमा सुधार आउने क्यालको भनाइ छ । आसन्न चुनावपछि बजारले गति लिने उनको अपेक्षा छ ।

उपाध्यक्ष अग्रवाल सरकारको ध्यान चुनावमा केन्द्रित भइसकेकाले मङ्सिरयता निर्माण सामग्रीको बजारमा सुधार आउने सम्भावना देख्दैनन् । ‘चुनावबाट नयाँ सत्ता आएपछि विकासका कामले गति लिने र वित्तीय क्षेत्रमा पनि सुधार आउने आशा उद्यमीले गरेका छन् । हेरौं, मङ्सिर–पुसपछि केही हुन्छ कि,’ अग्रवालले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)