ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगर सुनसान जोगवनी मालामाल

२०७९ असोज, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । फितलो अनुगमन र सीमा सुरक्षामा कडाइ नहुँदा दशैंको घटस्थापनाको दिनसम्म पनि विराटनगरको बजारमा किनमेल गर्नेको भीड छैन । तर, ५ किलोमीटर दक्षिणमा रहेको भारतीय सीमावर्ती बजार जोगवनीमा भने पाइला राख्ने ठाउँसमेत छैन । 

विराट व्यापार संघका अध्यक्ष नरेश खत्री नियमन गर्ने निकायका मानिस ‘लोभीपापी’ भएको कारण चाडपर्वका बेलामा जहिले पनि विराटनगरका व्यापारीले दिनभरि ‘टिकटक’ बनाएर समय बिताउनुपरेको बताउँछन् । भारतीय व्यापारीले ठगी गर्छन्, कम गुणस्तरको सामान दिन्छन्, म्याद गुज्रिएका सामान भिडाउँछन् अनि तौलमा पनि ठगी गर्छन् भन्ने चेतना नहुँदा उपभोक्ता जोगवनी बजार गएर दैनिक ठगिने गरेको खत्रीले बताए । 

सीमाक्षेत्रमा कडाइ गर्न आफूले पटकपटक प्रमुख जिल्ला अधिकारीलगायत निकायमा ज्ञापनपत्र बुझाएको तर कुनै सुनुवाइ नभएको खत्रीले बताए । उनले बजार अनुगमन र सीमाक्षेत्रमा कडाइ नभएसम्म विराटनगर बजारको भविष्य राम्रो नभएको बताए । 

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा जोगवनी बजारमा मात्रै प्रत्येक दिन ५ करोड रुपैयाँ बराबरको सामान नेपाली उपभोक्ताले खरीद गर्ने र त्यो विनाकर नेपाल भित्रने बताउँछन् । यसले गर्दा विराटनगरको बजार जहिले पनि चाडपर्वका बेला सुक्खा हुने र जोगवनीमा जहिले पनि भीड लाग्ने गरेको छ । सरकारले उपभोक्तालाई ठगिनबाट सचेत गराउन, नेपालमै सामान किन्न प्रेरित गर्न र सीमामा कडाइ गर्न नसक्दा व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको उनले बताए । 

खुद्रा व्यापार संघ विराटनगरका अध्यक्ष सञ्जय मण्डल खाद्यान्नको भन्सार न्यूनतम गर्नुपर्ने बताउँछन् । यसो गरे चाडपर्वका बेला दैनिक हजारौं उपभोक्ता सीमावर्ती भारतीय बजार नपुग्ने उनको भनाइ छ । विराटनगरका व्यवसायी दोहोरो मारमा रहेको भन्दै उनले सीमा क्षेत्रमा प्रहरीको सेटिङको कारण चोरीपैठारी भएर आउने सामानले इमानदार व्यवसायी मारमा परेको बताए । सस्तोको नाउँमा दैनिक हजारौं उपभोक्ता जोगवनी गइदिनाले चाडपर्वका बेला पनि विराटनगरको बजार सुनसान रहेकाले दोहोरो मार खेप्नुपरेको उनले बताए । 

दैनिक उपभोग्य वस्तु र कपडा सबैभन्दा बढी भन्सार छलेर नेपाल भित्रने गरेको छ । विराटनगरका अधिकांश पसलमा पाइने चिप्ला साडी विनाभन्सार प्रहरीको मिलेमतोमा आउने गरेको एक अधिकारीले बताए । उनका अनुसार सरकारले विगतमा प्रतिबन्ध लगाएका सामग्री विराटनगरको बजारमा छ्याप्छ्याप्ती पाइनुले पनि मिलेमतोमा चोरीको बाटोबाट छिराइएको पुष्टि हुन्छ । 

पछिल्लो ३ वर्षमा विराटनगर भन्सार कार्यालयबाट एउटा पनि चिप्ला सारीको भन्सार कटेको छैन । एक वर्षयता चिनीको पनि भन्सार कटेको छ । तर, बजारमा बोराका बोरा चिनी पाइन्छ । 

सीमावर्ती जोगवनी बजारमा नेपाली रुपैयाँ ५६० पर्ने कुर्तासुरुवाल विराटनगरको बजारमा ६ सयदेखि ७ सय रुपैयाँमा सजिलै पाइन्छ । राजस्व तिरेर ल्याउँदा यो मूल्यमा बेच्न सकिँदैन । क्यारिङ गरेर भन्सार छलेर आएको कारण जोगवनीभन्दा सय/डेढ सय रुपैयाँ फरकमा विराटनगरको बजारमा पाइन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)