ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुस्ताङी भेडाच्याङ्ग्रा पोखरा भित्रिए

एउटैको मूल्य रू. ५० हजारसम्म

२०७९ असोज, १६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । दशैंका लागि पोखरामा मुस्ताङबाट भेडाच्याङ्ग्रा भित्रिन थालेको छ । मुस्ताङको उपल्लो भेग, डोल्पा, बझाङ र हुम्लाबाट आएका व्यापारीहरूले हप्तौं लगाएर ल्याएका भेडाच्याङ्ग्रा पोखराका लुम्ले, हेमजा र आसपासका क्षेत्रमा राखेका छन् । मुस्ताङबाट हिँडाएर व्यापारीले ल्याउँदै गरेका च्याङ्ग्राका बथान बाटोमा आउने क्रममा पनि छन् ।

पोखरा र आसपासमा स्थानमा दशैंको समयमा खसीबोकाभन्दा च्याङ्ग्रा नै बढी खपत हुने गरेको छ । पहाडी एवं तराई क्षेत्रमा पालिने खसीबोकाको तुलनामा हिमाली भेगमा पालिएको च्याङ्ग्रा स्वास्थ्यका हिसाबले पनि राम्रो हुने भएकाले पोखरामा वर्षमा एकपटक च्याङ्ग्राकै मासु खाने चलन नै बसेको छ । तर यस वर्ष पनि कोभिड–१९ का कारण चीनले सीमा जोखिम बढ्ने भन्दै कोरला लगायत नाका बन्द गरेकाले तिब्बतबाट भेडाच्याङ्ग्रा भित्रिन पाएन । यसले मुस्ताङमा पालिएका च्याङ्ग्राको मूल्य ह्वात्तै बढेको छ ।

पोखरा क्षेत्रमा झारिएका च्याङ्ग्रा प्रतिगोटा ३५ हजारदेखि ५० हजार रुपैयाँसम्ममा विक्री भइरहेको व्यवसायी कृष्ण अधिकारीले बताए । उनका अनुसार तिब्बतबाट ल्याउन नपाउँदा उपल्लो मुस्ताङमा पालिएका च्याङ्ग्रामा प्रतिगोटा १० हजार रुपैयाँसम्म महँगिएको छ । साथै पोखरासम्म ल्याउँदा विभिन्न ठाउँमा तिर्नुपरेको पटके करका कारण मूल्य झनै बढेको उनको भनाइ छ ।

पोखराबाट जोमसोम पुगेर १५० ओटा च्याङ्ग्रा किनेर ल्याएका अधिकारीले अघिल्लो वर्ष मुस्ताङमा प्रतिगोटा ३० हजार रुपैयाँसम्म परेको च्याङ्ग्राका लागि यस वर्ष ३५ हजारदेखि ४० हजार रुपैयाँसम्म तिर्नुपरेको बताए ।

उनले भने, ‘गतवर्ष पोखरामा २५–३० हजार पर्ने च्याङ्ग्रालाई यस वर्ष मुस्ताङमै १० हजारभन्दा बढी तिर्नुपर्‍यो । पोखराबाट जोमसोमसम्म जाँदाको खर्च र यहाँसम्म ल्याउँदा विभिन्न ठाउँमा तिरेको करसहितको खर्च जोड्दा विगतको भन्दा १०–१२ हजार रुपैयाँ बढी परेको छ ।’

विगत डेढ दशकदेखि दशैंको बेला भेडाच्याङ्ग्राको व्यापार गर्दै आएका अधिकारीले यस वर्षको मूल्य अहिलेसम्मकै उच्च भएको बताए । व्यापारीका अनुसार च्याङ्ग्रालाई मुस्ताङबाट पोखरासम्म सुरक्षित ढंगले ल्याउन १०–१५ दिन हिँडाएर ल्याउनुपर्ने बाध्यता छ । ट्रकबाट ल्याउँदा वातावरणीय प्रतिकूलताले धेरै भेडाच्याङ्ग्रा मर्ने भएकाले ठाउँ ठाउँमा चराउँदै वातावरणसँग अभ्यस्त बनाउँदै ल्याउनुपरेको हो ।

भेडाच्याङ्ग्रा झारेसँगै व्यापारीहरूले पोखराका पुरानो टुँडिखेल, सिमपानी, याम्दी, हेमजा लगायत ठाउँमा खोर बनाउने काम तीव्र रूपमा भइरहेको छ । दशैंका बेला भेडाच्याङ्ग्रा राख्न खोर बनाउँदै गरेका याम्दीका किशोर थापाले यस अवधिमा प्रतिखोर १५ हजारदेखि २० हजार रुपैयाँ भाडा लिने गरेको बताए ।
सिजन अनुसार दिल्ली र काठमाडौंमा व्यापार गर्दै आएको भए पनि दशैंका बेला भने आफूले च्याङ्ग्राको व्यापार गर्ने गरेको घाँसाका दोर्जे गुरुङले बताए । ‘दुःखकष्ट सहेर हप्तौं लगाएर ल्याउनुपर्ने भए पनि च्याङ्ग्राको व्यापारबाट राम्रो फाइदा हुने गरेको छ,’ उनले भने ।

पोखराको हेमजामा च्याङ्ग्रा किन्दै गरेका यामबहादुर थापाले वर्षमा एकपटक च्याङ्ग्राको मासु खाने  चलनले महँगो भए पनि किन्ने गरेको बताए । ‘खसीबोका, कुखुराको मासु नियमित खाए पनि हिमाली जडीबुटीयुक्त खाँस खाएका च्याङ्ग्राको मासुको स्वाद लिन वर्षेनि किन्ने गरेको छ,’ उनले भने ।

पोखरामा व्यापारीले अष्टमी र नवमीको दिनमा ठूलो संख्यामा च्याङ्ग्रा भिœयाउने गर्दछन् । फूलपातीको दिन विशेषगरी च्याङ्ग्राको विक्री ह्वात्तै बढ्ने गर्दछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)