नेपालमा योजनाबद्ध विकासको थालनी भएको ६६ वर्ष पुगेको छ । पहिलो पञ्चवर्षीय योजना २०१३ देखि २०१८ सम्म कार्यान्वयन भएको थियो । देशमा भएका ठूला राजनीतिक परिवर्तन र आन्दोलनले आर्थिक विकासको क्षेत्रमा खासै उपलब्धि प्राप्त गर्न भने सकेनन् । नेपालसँगै आर्थिक विकासको यात्रा थालेका मुलुक हङकङ, सिंगापुर, ताइवान र दक्षिण कोरिया आर्थिक विकासमा एशियाकै चार बाघका रूपमा चिनिन्छन् ।
हाम्रो अवस्था भने जस्ताको तस्तै छ । अर्थतन्त्र परनिर्भर छ । रूस–युक्रेन युद्धले विश्वव्यापी रूपमा बढेको इन्धनको मूल्यले गैरखाद्य सामग्रीमा मुद्रास्फीति बढेको बढ्यै छ । यातायात खर्च र ढुवानी भाडामा भएको वृद्धिले खाद्यान्नलगायत उपभोग्य सामानको मूल्य चर्कोसँग बढेको छ । हाम्राजस्ता अविकसित राष्ट्रहरू कोभिड–१९ को असरबाट मुक्त हुन नपाउँदै यूरोपेली राष्ट्रहरूको युद्धबाट दोहोरो मारमा पर्न गए ।
सन् १९९० को दशकमा विश्व अर्थतन्त्रले अँगालेको भूमण्डलीकरण, उदारीकरण र निजीकरणजस्ता सिद्धान्तबाट केही क्षेत्रमा राम्रो परिणाम देखिए तापनि समग्र अर्थतन्त्रमा भने युगान्तकारी परिवर्तन हुन सकेन ।
उद्योगको क्षेत्रमा २०६२/ ६३ को आन्दोलनपछि तीन प्रकारका समस्या देखा परे– लोडशेडिङ, श्रमिक समस्या र बन्दहडताल । यी समस्याबाट ग्रस्त धेरैजसो उद्योग व्यवसाय बन्द हुन पुगे । ठूलो संख्यामा श्रमिक बेरोजगार भए । समयक्रममा यी समस्या क्रमशस् मत्थर हुँदै गए पनि उद्योग क्षेत्र विशेषगरी उत्पादनमूलकमा सिमेन्टबाहेक अन्यमा उत्साहजनक सहभागिता भएको पाइँदैन । सेवाक्षेत्रमा भने तारे होटेल खुल्ने क्रम बढ्दै छ । यद्यपि यो क्षेत्रले वैदेशिक मुद्रा आर्जनमा राम्रो योगदान दिएको छ र दिनेछ पनि । उत्पादनमूलक उद्योगहरू व्यापक मात्रामा स्थापना गर्न सके पूँजी बजारको विकास हुन गई लगानी, उत्पादन, रोजगारीसँगै सरकारी र राष्ट्रिय आय वृद्धि हुन गई विकासतिरको यात्राले गति लिन्छ । व्यापारघाटा घटाउने महत्त्वपूर्ण कडी पनि यही क्षेत्र हो ।
आजसम्म कृषिप्रधान भनिँदै आएको मुलुकमा कृषिक्षेत्र धराशयी बन्दै गएको छ । प्रत्येक वर्ष कृषिजन्य वस्तुको आयात परिमाण बढ्दै गएको देखिन्छ । मुलुकको व्यापारघाटा बढाउने इन्धन, कपडा, औषधिसँगै कृषिजन्य वस्तुको आयात बढ्दै जानु बिडम्बनापूर्ण अवस्था हो । नेपालको कृषि मौसममा आधारित र अनिश्चित छ । सिँचाइयोग्य भूमिको न्यूनता, उत्पादकत्त्व न्यून हुनु, उत्पादन घट्नु र खेती हुने भूमिको क्षेत्रफल कम हुँदै जानुजस्ता समस्या छन् । जनसंख्याको असन्तुलित वितरणले गाउँबाट शहर पस्नेको संख्या दिनानुदिन बढ्दै छ । शहर अनियन्त्रित भीडको केन्द्र बन्दै छ भने ग्रामीण क्षेत्र जनशून्य । यसबाट पनि कृषिक्षेत्रले उत्पादन र उत्पादकत्व गुमाउँदै गएको हो । देशमा आयमूलक रोजगारीका अवसर बढाउन नसकेको कारणले दक्ष श्रमिक विदेशिँदै गएका छन् । सरकारले यसतर्फ सचेत भएर तदनुरूप काम गर्न नसके समस्याले जटिल रूप नलेला भन्न सकिँदैन ।
नेपाल आर्थिक विकासको आवश्यकता र चुनौतीको दोबाटोमा छ । सन् २०२६ मा नेपाल कम विकसितबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुँदै छ । यसबाट अर्थव्यवस्थाका आयामहरूमा केही परिवर्तन हुनेछन् । कम विकसित राष्ट्रको हैसियतमा पाइने सुविधा, अनुदान र सहयोग कटौती हुनेछ ।तसर्थ त्यस बेलासम्ममा आत्मनिर्भर अर्थतन्त्र बनाउनुपर्ने दबाब छ ।
दिगो आर्थिक विकासले मूर्त रूप लिइसक्नु पर्नेछ । दिगो विकासको आर्थिक रणनीति यो लेखमा उल्लेख गरिएको छ । ती रणनीतिहरू गरीबीबाट छुटकारा भोकमरीबाट मुक्ति, राम्रो र मर्यादित कामको अवसर एवं आर्थिक वृद्धि, आर्थिक र सामाजिक असमानतामा कमी, नवप्रवर्तन र औद्योगिकीकरण, उत्तरदायी उपभोग र बढ्दो उत्पादन हुन् ।
एकातर्फ यस्ता महत्त्वाकांक्षी रणनीतिको कार्यान्वयन गर्नु पर्नेछ भने अर्कातिर बढ्दो व्यापारघाटा, भुक्तान सन्तुलनको ऋणात्मक अवस्था र घाटाको बजेटको कारण अर्थतन्त्रमा परेको चापले अन्योलको स्थिति सृजना भएको छ ।
उल्लिखित रणनीतिमार्फत नेपालमा आउने परिवर्तनका लागि विभिन्न चुनौतीको सामना गर्नु पर्नेछ । ती चुनौती निम्नअनुसार छन् :
यी चुनौतीको सामना गर्दै सुशासन र भ्रष्टाचारमुक्त सरकारको नारालाई निकट भविष्यमा हुने संसदीय निर्वाचनमा आत्मसात् गर्न सक्ने हो भने मात्र वाञ्छित सफलता प्राप्त हुनेछ । अन्यथा दिगो विकास नारा मात्र बन्नेछ ।
रिजाल मोरङ व्यापार संघका अध्यक्ष हुन् ।