ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

असमान कर हटे पनि प्याड उद्योगका समस्या उस्तै, ६ अर्ब लगानी जोखिममा

२०७९ असोज, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । सरकारले सेनेटरी प्याड आयात नियन्त्रण नगर्दा असमान करका दर सच्याए पनि स्वदेशी सेनेटरी प्याड उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।

नेपालमा वार्षिक ४५ करोड थान सेनेटरी प्याडको माग छ । साना ठूला गरी ३५ ओटा स्वदेशी उद्योगको वार्षिक उत्पादन क्षमता ९० करोड थान रहेको उद्योगी बताउँछन् । तर, सरकारले प्याड आयात नियन्त्रण नगर्दा ती उद्योगमा भएको ६ अर्ब रुपैयाँ लगानी जोखिममा परेको छ । 

नेपाल सेनेटरी प्याड तथा बेबी डाइपर उत्पादक संघका अध्यक्ष डोलराज अधिकारीका अनुसार सरकारले आर्थिक वर्ष (आव) २०७९/८० को बजेटमार्फत गरेको सेनेटरी प्याड आयातमा ९० प्रतिशत कर छूट दिने निर्णय सच्याए पनि त्यसमा लाग्ने १ दशमलव ५ प्रतिशत भन्सार महसुललाई १५ प्रतिशत नबनाउँदा आयातित प्याडको कारण स्वदेशी उत्पादन ५० प्रतिशतमा खुम्चिएको छ ।

सरकारले असमान कर लगाउनुअघि ६० करोड थान सेनेटरी प्याड उत्पादन गरेर स्वदेश र विदेशमा समेत विक्री गर्दै आएका उद्योगहरू सरकारको निर्णयले बन्द भएका थिए । करका दर सच्याएपछि ती उद्योग अहिले सञ्चालनमा आएका छन् । तर, सरकारले आयात नियन्त्रण नगर्दा त्यसको लाभ पूर्णरूपमा उद्योगीले लिन नसकेको अध्यक्ष अधिकारी बताउँछन् । 

स्वदेशी उद्योगको उत्पादन अहिले वार्षिक ३० करोड थानमा सीमित भएको र ६ हजार मजदूरमध्ये ३ हजारले मात्र रोजगारी पाएको संघका महासचिव तथा जस्मिन हाइजिनका सञ्चालक पुनीत शारडाले बताए । उनले भने, ‘सरकारले कच्चा पदार्थको भन्सार घटाएर मात्र हुँदैन, प्याकेजिङ मेटेरियललगायत वस्तुमा पनि भन्सार घटाउनुपर्छ । स्वदशी उद्योगलाई प्रोत्साहन गर्न सरकारले सहुलियत दिनुपर्छ ।’

अध्यक्ष अधिकारीका अनुसार १ सेकेन्डमा ७ ओटा प्याड बनाउने उद्योग नेपालमा आइसकेकाले थप उद्योग सञ्चालनमा पनि नियन्त्रण गर्नुपर्छ । ‘भारतको विहारमा एउटा पनि सेनेटरी प्याड उद्योग छैन । तर, नेपाल जस्तो सानो देशमा ६ ओटा ठूला उद्योग खुलिसकेका छन्,’ अधिकारीले भने, ‘पूर्ण क्षमतामा सञ्चालन हुँदा ती उद्योगको क्षमता घरेलु मागभन्दा बढी भएकाले अब सरकारले निकासीमा सहुलियत दिएर प्याडको आयात होइन, निर्यात गरेर विदेशी मुद्रा आर्जनको बाटो खोल्नुपर्छ ।’

सरकारले विदेशी मुद्रा सञ्चिति घट्ने भन्दै केही वस्तुको आयात रोके पनि आत्मनिर्भर भइसकेको प्याड उद्योगलाई असर पर्ने गरी यसको आयात खुला राखेकोमा उद्योगीले असन्तुष्टि व्यक्त गरेका छन् । विदेशमा निकासी गरी विदेशी मुद्रा आर्जन गर्ने बाटो बन्द गरेर सरकारले केही व्यापारीलाई खुशी पार्न आयातमा सहजीकरण गरेको देखिएको उनीहरूको भनाइ छ । ‘सरकारको स्पष्ट नीति नभएका कारण उद्योगहरू धराशयी बनेका छन्,’ महासचिव शारडाले भने, ‘सरकारले विदेशी मुद्रा आर्जन र रोजगारीको थप अवसर सृजना गर्न प्याड उद्योगलाई सहुलियतपूर्ण कर्जा र विदेश निकासीका लागि थप सुविधाको व्यवस्था गर्नुपर्छ ।’

संघका उपाध्यक्ष तथा हेल्थ एन्ड हाइजिनका सञ्चालक राकेश लाहोतीले सरकारले असमान करको दर सच्याए पनि आयातित प्याडका कारण यहाँका उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको अवस्थालाई बिर्सिएको बताए । भारत र चीनका ठूला उद्योगबाट उत्पादित तयारी प्याड १ दशमलव ५ प्रतिशत भन्सार तिरेर भित्रिएका कारण स्वदेशी उत्पादनको बजार खुम्चिएको उनको तर्क छ । 

एक मिनेटमा ४ सयभन्दा बढी प्याड उत्पादन गर्न सक्ने क्षमताका उद्योगको उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेकाले सरकारले भारतमा जस्तै यहाँका सेनेटरी प्याड उद्योगलाई पनि सहुलियत दिनुपर्ने उनले बताए । आयात प्रतिस्थापन गर्न सरकारले एन्टी डम्पिङ शुल्क र भन्सार १५ प्रतिशत पुर्‍याए मात्र नेपाली उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न पाउने लाहोतीले खुलाए । सरकारको आयात प्रोत्साहन गर्ने नीतिले अहिले डाइपरको उत्पादनमा समेत असर परेको छ ।

सरकारले गत साउन १ गतेबाट सेनेटरी प्याड आयात गर्दा ९० प्रतिशत भन्सार छूट दिने निर्णय गरेपछि उक्त महीना ९ करोड ९२ लाख २९ हजार रुपैयाँ बराबरको प्याड आयात भएको छ । भदौमा १५ करोड ४० लाख ४१ हजार रुपैयाँको प्याड आयात भएको भन्सार विभागको अभिलेखले देखाउँछ । यी प्याड भारत, चीन, थाइल्यान्ड, जापानलगायत मुलुकबाट आयात भएका हुन् । २ महीनाको अवधिमा नेपालबाट ८३ लाख ३९ हजारको प्याड भारत निकासी भएको छ । विदेशबाट प्याड किलोग्राम र गोटामा नेपाल आउँछ । आव २०७७/७८ मा भएको १ अर्ब १७ करोडको आयातमा ३ करोड ५८ लाख थान र १७ सय ३८ टन सेनेटरी प्याड छ । गत आवको ८ महीनामा ९ करोड ९० लाख थान आयात भएको छ । 

आव २०७५/७६ मा सरकारले सेनेटरी प्याड उद्योगको सबै कच्चा पदार्थमा भन्सार महसुल घटाएर ५ प्रतिशतमा ल्याएपछि मुलुकमा यस्ता उद्योग थपिने क्रम बढेको थियो । आव २०७७/७८ को बजेटले नयाँ उद्योगलाई ५ वर्षसम्म कर छूट दिने व्यवस्था गरेपछि प्याड उद्योगमा लगानीको सम्भावना अझ बढ्यो ।

सरकारले २०७६ सालदेखि सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि लागू गरेको छ । कार्यविधिमा ठूला उद्योग र स्थानीय स्तरमा उत्पादित सेनेटरी प्याडको न्यूनतम मापदण्ड छुट्टाछुट्टै छ । नेपालको गुणस्तर चिह्न नम्बर ५८७ मा प्याडमा हुनुपर्ने लम्बाइ चौडाइ, सोस्ने क्षमता पीएच भ्यालू, सूक्ष्मजीवी कीटाणुको उपस्थिति आदिबारे विस्तृत मापदण्ड उल्लेख छ । 

स्थानीय स्तरमा उत्पादित सेनेटरी प्याडमा सेतो रङको सुती र मलमलको कपडा प्रयोग गर्नुपर्छ । कपडाको लम्बाइ कम्तीमा दुई हात र चौडाइ आधा हात हुनुपर्छ । प्याडको गुणस्तर सुनिश्चितताका लागि ९५ प्रतिशत सुती कपडा प्रयोग गर्नैपर्ने प्रावधान छ । तर, आयातित प्याडको अनुगमन फितलो भएको कारण कम गुणस्तरका प्याड आयात भइरहेको उद्योगी दाबी गर्छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)