ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाली चियालाई भारतमा प्रतिबन्ध रोक्न पहल भएन

चिया किसान र उद्योगीलाई निकासी बजारको ८० प्रतिशत अंश गुम्ने डर

२०७९ असोज, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । भारतको केन्द्रीय र पश्चिम बंगालको प्रान्तीय सदनमा नेपाली चियाको कारण दार्जिलिङ चिया विश्व बजारमा बदनाम भएको भन्दै नेपाली चियामाथि ११ ओटा गम्भीर आरोपसहित याचिका दर्ता भएको छ । दर्ता भएको याचिका पारित भए नेपाली चियालाई बजारको समस्या हुनेछ । नेपालले वार्षिक करीब साढे ३ अर्ब रुपैयाँको चिया भारत निकासी गर्दै आएको छ ।

चिया तथा कफी विकास बोर्डका अनुसार आर्थिक वर्ष (आव) सन् २०२०/२१ मा ३ अर्ब ७९ करोड ७१ लाख ३९ हजार रुपैयाँ मूल्यको ११ हजार ९ सय २० मेट्रिक टन चिया संसारका विभिन्न ३३ मुलुकमा निकासी भएको छ । यसमा ३ अर्ब ३८ करोड ३० लाख १३ हजार रुपैयाँ बराबरको ११ हजार ४ सय ७२ टन भारत निकासी भएको छ । भारतले नेपाली चियामा प्रतिबन्ध लगाउने निर्णय गरेमा नेपाली किसान र उद्योगीले यो बजार गुमाउनेछन् । नेपालमा १७ हजार हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । पहाड र तराईका २४ हजार साना किसान चियाखेतीमा जोडिएका छन् । चियासँग सम्बद्ध साना ठूला गरी १४६ उद्योग सञ्चालनमा छन् । चियाको मुख्य बजार भारतमा निकासी गर्न नपाए नेपाली किसानले ८० प्रतिशत बजार गुमाउने निश्चित भएपछि चियासँग जोडिएका किसान, उद्योगी र व्यवसायी अहिले त्रासमा छन् ।

चिया तथा कफी विकास बोर्डका अनुसार नेपालबाट सीटीसी र अर्थाेडक्ससमेत गरी ८० प्रतिशत चिया भारतीय बजारमा जान्छ । २० प्रतिशत चिया अमेरिका, चीन, बेलायतलगायत ३२ मुलुकमा निर्यात हुन्छ ।

भन्सार विभागको तथ्यांकअनुसार आव २०७६/७७ मा नेपालबाट २ अर्ब ७८ करोड २८ लाख, आव २०७७/७८ मा ३ अर्ब ७९ करोड ७१ लाख र आव २०७८/७९ मा ३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बराबरको चिया भारतलगायत तेस्रो मुलुकमा निकासी भएको छ ।

नेपाल चिया उत्पादक संघका केन्द्रीय अध्यक्ष सुरेश मित्तलले भारतको केन्द्रीय संसद्मा रहेको वाणिज्य तथा व्यापार हेर्ने संसदीय समितिमा ४० जना सांसदको हस्ताक्षरसहित नेपालको चियालाई प्रतिबन्ध लगाउनुपर्ने याचिका दर्ता भएपछि नेपाली चिया किसान र उद्योगी व्यवसायी त्रस्त भएको उल्लेख गरे ।

२ महीनाअघि दर्ता भएको याचिकाबारे भारतीय सरकार वा अन्य निकायबाट आधिकारिक धारणा नआएकाले पनि त्रास कायम रहेको उनले बताए ।

भारत सरकारले लिन सक्ने अप्रिय निर्णयअघि नै नेपाली चियामाथि प्रतिबन्ध वा अंकुश लाग्न नदिने पहल गर्न प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, परराष्ट्रमन्त्री र नेपालस्थित भारतीय दूतावासमा आफूहरूले ज्ञापनपत्र बुझाएको अध्यक्ष मित्तलले जानकारी दिए । मित्तलका अनुसार भारतीय पक्षले नेपाली चियामाथि थोपरेको गैरभन्सार अवरोधलगायत अन्य समस्या समाधान गर्न ‘जीटूजी’ वार्ता हुनुपर्छ । उनले भने, ‘नेपाली चिया किसान, व्यवसायी र उद्यमी सधैं त्रासमा बाँच्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ ।’

नेपालबाट भारत निकासी हुने चियालाई भारतको विभिन्न तहका सरकार र चिया बोर्डले समेत बेलाबेलामा बखेडा सृजना गरेर तर्साइरहने र व्यापारीलाई नानाथरी बहानामा दुःख दिइरहने गरेको नेपाल टी प्लान्टर्स एशोसिएशनका सल्लाहकार उदय चापागाईंले बताए । उनले दुवै देशका सरकारबीच छलफल भई चियाको समस्या सधैंका लागि समाधान गर्नुपर्नेमा जोड दिए । नेपाल सरकारले स्वदेशी चिया चीन निकासीका लागि पनि पहल गर्नुपर्ने उनले बताए । चीन भ्रमणका बेला पराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालबाट चिया र जडीबुटी निकासी गर्न सकिने विषयमा कुरा उठाएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)