काठमाडौं । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई दिने लाभांश धमाधम घोषणा गर्न थालेका छन् ।
हालसम्म म्युचुअल फन्डबाहेक ९ कम्पनीले गत आर्थिक वर्षको लाभांश प्रस्ताव सार्वजनिक गरेका छन् । लाभांश प्रस्ताव सार्वजनिक गरेका कम्पनीमा अधिकांशले नगदमा जोड दिएका छन् ।
हालसम्ममा कुमारी बैंक, बोटलर्स नेपाल तराई, बोटलर्स नेपाल बालाजु, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अरुण काबेली पावर, सानिमा माई हाइड्रोपावर, रू रू जलविद्युत् कम्पनी, नेपाल ल्युब आयल लिमिटेड र सिटिजन्स बैंक इन्टरनेशनलले लाभांश प्रस्ताव सार्वजनिक गरेका छन् ।
यी कम्पनीमध्ये नेपाल ल्युब आयल लिमिटेडले शुक्रवार साधारणसभा गर्दै छ । सिटिजन्स बैंक इन्टरनेशनल र रू रू जलविद्युत् परियोजनाले लाभांश पारितलगायत निर्णय गर्न कात्तिक ४ गते साधारणसभा बोलाएका छन् । त्यस्तै सानिमा माई हाइड्रोपावरले कात्तिक २ गते साधारणसभा बोलाएको छ ।
सूचीकृत कम्पनीहरूको लाभांश सार्वजनिक भइरहँदा बजारमा यस विषयमा चर्चा परिचर्चा हुन थालेको छ । यसपालि कम्पनीहरूले बोनस शेयर दिन सक्ने अवस्था छैन । धेरै जसोले नगद लाभांश दिने हल्ला बजारमा छ । धितोपत्रको दोस्रो बजार सूचनाका आधारमा चल्ने भएकाले हल्ला र गलत सूचनाको प्रभाव बजारमा पर्नसक्छ । लगानीको प्रतिफल भित्र्याउने बेला कम्पनीको लाभांशले बजारमा सकारात्मक प्रभाव पार्छ । लगानीकर्ताहरू लाभांशमा बोनस शेयर राम्रो कि नगद भन्नेमा पनि अन्योलग्रस्त छन् ।
सूचीकृत कम्पनीले १ वर्ष अवधिमा आर्जन गरेको नाफाबाट विभिन्न शीर्षकमा रकम छुट्ट्याएपछि बाँकी रहेकोबाट शेयरधनीलाई लाभांश वितरण गर्छ ।
नगद लाभांश कम्पनी, देश र शेयरधनी सबैका लागि हितकारी हुने अधिवक्ता ज्योति दाहाल बताउँछन् । उनका अनुसार बोनस शेयरपछि मूल्य समायोजन हुने हुँदा थप कित्ताले शेयरधनीको सम्पत्तिमा कुनै फरक पर्दैन । वर्षैपिच्छे पूँजीको भार थपिँदा व्यापार सोही मात्रामा थपिएर जान्छ भन्ने पनि हुन्न र थपिए पनि एउटा विन्दुमा पुगेपछि मन्दीको स्थिति आउँछ । कुनै पनि कम्पनीले जति मात्रामा नगद बाहिर पठाउने सामथ्र्य राख्छ, त्यत्ति नै सफल मानिने दाहालको भनाइ छ ।
‘कम्पनीको नगद बाहिर आउँदा कम्पनी राम्रो छ भन्ने पनि बुझियो, पूँजी बढेन, फेरि पनि नाफा कमाउन सजिलो हुने भयो । यसरी कम्पनीको लागि फाइदा भयो । त्यसपछि एक ठाउँमा थन्किएको पैसा बाहिर आउँदा आर्थिक क्रियाकलाप बढ्ने हुँदा अर्थतन्त्रलाई टेवा पुग्छ,’ दाहालले भने ।
ट्रेडरले बाहेक दीर्घकालीन लगानीकर्ताले सितिमिति शेयर विक्री गर्न चाहँदैन । दीर्घकालीन लगानीकर्ताको एउटा लक्ष्य हुन्छ । यस्ता लगानीकर्तालाई नगद लाभांश आउँदा चाहेको काम गर्न सहज हुन्छ । उदाहरणका लागि कुनै लगानीकर्तालाई बीमाको किस्ता बुझाउनु छ भने नगद लाभांशले काम गर्छ, बोनस शेयरले गर्दैन ।
बोनस शेयरले कम्पनीको चुक्ता पूँजी बढाउने, नेटवर्थ तथा सञ्चिति घटाउने र शेयरधनीको कित्तामा परिमाणात्मक वृद्धि दिनेबाहेक गुणात्मक रूपमा केही दिँदैन । बोनस शेयर जारी हुने सूचनाले केही दिन शेयरको मूल्य अस्वाभाविक बढ्ने, पूँजीको कारण आम्दानी सोही अनुपातमा कायम राख्न सञ्चालन र स्रोत परिचालन खर्च बढ्नेबाहेक गुणात्मक रूपमा प्रतिफल केही नपाइने जानकार बताउँछन् ।
पाँच वर्षदेखि शेयर कारोबार गरिरहेकी लगानीकर्ता सुनीता थापा बैंकहरूको बोनस शेयरबाट घाटा भएको र लघुवित्त कम्पनीबाट केही प्रतिफल प्राप्त भएको बताउँछिन् । बोनस शेयर समायोजन भएर आउँदा मूल्य घट्ने तर नगद लाभांश दिँदा नगद आउने भएकाले खर्च टर्ने उनी बताउँछिन् ।
अन्य मुलुकमा भने सूचीकृत कम्पनीहरूले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिन्छन् । बोनस शेयर वितरण गर्नुलाई राम्रो मानिँदैन । बोनस शेयर वितरण गर्दा कम्पनीको दायित्व बढ्दै जान्छ भने कम्पनीको चुक्ता पूँजीसमेत बढ्छ । सोही कारण विदेशमा कम्पनीको चुक्ता पूँजीभन्दा जगेडा धेरै गुणा बढी हुने गर्छ । नेपालमा भने त्यसको ठीक विपरीत अवस्था छ । नेपालमा वर्षैपिच्छे सूचीकृत कम्पनीले बोनस शेयर वितरण गर्दा पनि लाभांश क्षमता बढेको देखिन्छ ।
यसो त पछिल्लो २ वर्षको शेयर बजार ट्रेन्ड हेर्दा लगानीकर्ताले बोनस शेयरभन्दा पनि सर्ट टर्म ट्रेड गरेर प्रतिफल लिएको देखिन्छ । एउटा उदाहरण छ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्ना शेयरधनीलाई शतप्रतिशत बोनस शेयर वितरण गरेको थियो । त्यतिबेला उक्त बैंकको शेयर मूल्य प्रतिकित्ता २ हजार रुपैयाँभन्दा बढी थियो । त्यति बेला उक्त कम्पनीको शेयर खरीद गरेका दीर्घकालीन लगानीकर्ताको अझै साँवा नउठेको बताइन्छ । हाल उक्त बैंकको शेयर मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ छ ।
विभिन्न समयमा नियामक निकायले कम्पनीहरूको चुक्ता पूँजी बढाउन निर्देशन दिने गर्छ । सोहीअनुसार कम्पनीहरू बोनस शेयरलगायत अन्य माध्यमबाट पूँजी बढाउन बाध्य हुन्छन् । बोनस शेयर धेरै वितरण गर्नु भनेको कम्पनीको दायित्व र पूँजी बढ्नु हो । सोही कारण चुक्ता पूँजी बढाउनभन्दा पनि सञ्चिति बढाउन आवश्यक रहेको जानकार बताउँछन् । कम्पनीको शेयर संख्या थोरै हुँदा उक्त शेयर सीमित व्यक्ति वा समूहको पकडमा हुने भएकाले अझ धेरैको पहुँच पुर्याउन बोनस शेयर जारी गर्छन् ।
शेयर संख्या थोरै हुँदा मूल्य धेरै बढ्ने भएकाले धेरैको पहुँचमा शेयर नपुग्ने कारण पनि बोनस शेयर जारी गरेर संख्या बढाइन्छ । बोनस शेयरपछि मूल्य पनि समायोजन हुने हुँदा केही सस्तो जस्तो देखिँदा किन्नेको पहुँचमा पुग्छ । बोनस शेयर जारी गर्न नचाहने कम्पनीले शेयर खण्डीकरण गरेर पनि संख्या बढाएर पहुँच बढाउँछन् । खण्डीकरण गर्दा पनि मूल्य समायोजन हुन्छ र किन्नेको पहुँचमा पुग्छ । यी कारणले गर्दा सूचीकृत कम्पनीले बोनस शेयर जारी गर्छन् ।
company haru le dividend dina dhila ra jhel garda pani niyamak vanine haru kina chup lagxan bujhi dinu paryo patrakar jyu.