ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल ईयूको सुरक्षा चासो सूचीबाट हट्ने ! के-के हुनेछ नेपाललाई लाभ ?

२०७९ असोज, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । सन् २०१३ डिसेम्बरदेखि नेपाली वायुसेवालाई यूरोपको आकाशमा उडान गर्नबाट रोक लगाउँदै आएको यूरोपेली संघ (ईयू) यसपटक भने नेपालको प्रगतिप्रति सन्तुष्ट देखिएको छ । यूरोपेली युनियन एभिएसन सेफ्टी एजेन्सी (आएसा)को प्राविधिक टोलीले नेपालको हवाई सुरक्षाका सम्बन्धमा अध्ययन गरेको हो । 

नेपाल आएर निजी विमान कम्पनीसमेतको अध्ययन गरेर फर्किएको प्राविधिक टोलीले सन्तुष्ट रहेको प्रतिक्रिया दिएसँगै नेपाल यसपटक भने कालोसूचीबाट हट्ने आशामा छ । हाल ईयू फर्किएको आएसाको प्राविधिक टोलीले अक्टोबर २८ (कात्तिक ११ गते) प्रारम्भिक प्रतिवेदन बुझाउने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले आएसाले अक्टोबर २८ मा प्रारम्भिक प्रतिवेदन बुझाउने जानकारी दिए । अबको १५ दिनमा आउने प्रतिवेदनमा आएसाको प्राविधिक टोलीले चासो राखेका प्रश्नको जवाफ पनि पठाउने तयारी प्राधिकरणले गरेको छ । ‘नेपालले हवाई सुरक्षामा गरेको प्रगतिप्रति प्राविधिक टोली सन्तुष्ट रहेको छ,’ निरौलाले भने, ‘नेपालले सुरक्षामा गरेका सुधार तथा उपलब्धिका कारण नेपाल ईयूको उडान सुरक्षा चासो सूचीबाट हट्ने सम्भावना छ ।’ 

झन्डै ९ वर्षअघि नेपालका वायुसेवा कम्पनीहरूले यूरोपको आकाशमा उडान गर्न पाउने अवस्था थियो । तर, सन् २०१३ पछि नेपालले चाहेर पनि यूरोपको आकाशमा उडान गर्न सक्ने अवस्था औपचारिक रूपमै रोकिएको छ । ईयूको आकाश नेपाली वायुसेवाका लागि खुला हुँदा नेपालसँग वाइड बडी जहाज थिएन । अहिले भने २ ओटा कम्पनीसँग यस्ताखाले जहाज छन् ।

अहिले सरकारी स्वामित्वको नेपाल एयरलाइन्स र निजीक्षेत्रको हिमालय एयरलाइन्ससँग यूरोप उडानका लागि वाइड बडी जहाज छन् । तर, सीमित मात्रामा त्यस्ता जहाज हुँदा ईयूले सुरक्षा चासो सूचीबाट नेपाललाई हटाए पनि नेपाली वायुसेवाले लाभ लिन पाउने छैनन् । यद्यपि यूरोपबाट नेपाल आउने पर्यटकका लागि भने यसले ठूलो राहत दिनेछ । 

नेपालबाट यूरोपमा सीधा उडान हुँदा पर्यटकको बीमा शुल्कदेखि पर्यटक आगमनमा पनि वृद्धि हुने सरोकारवाला बताउँछन् । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले नेपाल ईयूको सुरक्षा चासो सूचीबाट हट्यो भने नेपाली वायुसेवा क्षेत्रका लागि उत्साहको कुरा हुने बताइन् । 

तर, नेपाल एयरलाइन्सले तुरुन्तै यूरोप जाने योजना बनाई नसकेको उनले बताइन् । ‘तत्काल यूरोप जाने योजना छैन,’ खड्काले भनिन्, ‘अहिले हामीसँग जहाज नै थोरै संख्यामा छन्, भविष्यमा जान सकिन्छ ।’ अहिले जहाज थप्ने योजना रहेको भन्दै उनले यो योजनासँगै यूरोप उडानका लागि पनि योजना बनाउने बताइन् । नेपाल एयरलाइन्ससँग अहिले २ ओटा वाइड बडी जहाज छन् ।

ईयूले यूरोपेली आकाश उडानका लागि खुला गरे पनि उत्साही भइहाल्नुपर्ने अवस्था नभएको निजी वायुसेवा कम्पनीका अधिकारी बताउँछन् । ईयूले कालोसूचीबाट हटाउने/नहटाउने यकीन नभएको र नेपाली वायुसेवा पनि यूरोप उडानका लागि तयार भई नसकेको एक वायुसेवा कम्पनीका अधिकारीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)