ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डस्टी कार्गोमा साढे दुई महीना राहत

२०७९ असोज, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
वीरगञ्ज सुक्खा बन्दरगाहमा डस्टी कार्गो व्यवस्थापनका लागि तयार पारिएको रेल लाइन । सरकारले स्वीकृति नदिँदा बन्दरगाहमा यो पूर्वाधार उपयोगमा आउन सकेको छैन । तस्वीर : आर्थिक अभियान
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । भारतले रक्सौल–मितेरीपुल–वीरगञ्ज रुटबाट हुँदै आएको डस्टी कार्गोको व्यवस्थापन एकीकृत जाँच चौकी (आईसीपी) बाट मात्रै गर्ने निर्णय तत्कालका लागि स्थगित गरेको छ । भारतीय भन्सारले यही आइतवार (असोज ३०) देखि उक्त नाकाबाट हुँदै आएको सम्पूर्ण आयातनिर्यात आईसीपीमा सार्ने सूचना निकालेपछि अत्तालिएका आयातकर्तालाई पछिल्लो सूचनाले केही राहत दिएको छ ।

भारतको विदेश मन्त्रालयको उत्तरी विभागले शुक्रवार सूचना निकालेर पुरानो नाकाबाट आयातनिर्यात पूर्ण रूपमा बन्द गर्ने निर्णय तत्कालका लागि स्थगित गरिएको जानकारी दिएको हो । विभागले अघिल्लो सूचना जनवरी १ तारीखसम्म कार्यान्वयन नहुने बताएको छ । तर, आयातकर्तामा जनवरी १ पछि के हुने भन्ने अन्योल कायमै छ ।

नेपाल सरकारको आग्रहमा उक्त आयातनिर्यात स्थानान्तरणको निर्णय डेढ महीनाका लागि स्थगन गरिएको भारतले बताएको छ । नेपाल सरकारले काठमाडौंस्थित भारतीय दूतावासमार्फत आग्रह गरेको थियो ।

वीरगञ्जका व्यापारीले सम्पूर्ण डस्टी कार्गो आईसीपीमा सार्न आवश्यक पूर्वाधार तयार भई नसकेको भन्दै सरकारलाई पहलका निम्ति आग्रह गरेको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए ।

यसअघि पनि भारतको रक्सौल भन्सारले गत जुलाई १ बाटै डस्टी कार्गो आईसीपीबाट भित्र्याउन सूचना निकालेको थियो । रक्सौल रेलवे र आईसीपीबीचको साँघुरो सम्पर्क सडक मुख्य समस्या भएको राजपालले बताए । सडक साँघुरो रहेकाले दैनिक ३०० देखि ४०० ओटासम्म ट्रक आवागमन हुन नसक्ने उनको भनाइ छ ।

भारतले पनि आफ्नो सूचनामा पूर्वाधार तयार नभएकाले तत्कालका लागि निर्णय स्थगन गरिएको उल्लेख गरेको छ ।

आईसीपी पूर्ण सञ्चालनमा आइसकेको भन्दै भारतीय पक्षले वीरगञ्ज–रक्सौल नाकाको सम्पूर्ण आयातनिर्यात आईसीपीबाटै गर्न दबाब दिँदै आएको छ । आईसीपी सञ्चालनको ४ वर्ष बितिसक्दा पनि कोइला, आइरन ओर, स्ल्यागजस्ता डस्टी कार्गो र केही परिमाणमा आइरन बिलेट, आइरन रोललगायत औद्योगिक कच्चा पदार्थ पुरानै रक्सौल–मितेरीपुल–वीरगञ्ज भएर भित्रिने गरेको छ । नुन र मलखाद पनि रक्सौलमै अनलोड भएर भित्र्याउने गरिएको छ ।

नेपालतर्फ डस्टी कार्गो व्यवस्थापनको उपयुक्त स्थान तयार नभएकाले रक्सौल–मितेरीपुल–वीरगञ्ज रुटबाट ल्याउन नपाए समस्या पर्ने स्थिति देखिएको हो । यसअघि कहिले भारतको रक्सौलका स्थानीय बासिन्दा त कहिले भारतीय निकायको कदमबाट आयातकर्ता आजित हुँदै आएका छन् ।

पाँच वर्षअघि रक्सौलका स्थानीयको अवरोधका कारण त्यहाँ क्लिंकर लोड–अनलोड बन्द भएको थियो । त्यसबेला स्वदेशी भू–भागमै डस्टी कार्गो व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तत्कालीन सहसचिव रविशंकर सैंजू नेतृत्वको टोलीले वीरगञ्जका ३ स्थानमा यस्तो कार्गो व्यवस्थापन गर्न सकिने सुझाएको थियो ।

त्यसयता भारतीय भन्सारले पटकपटक डस्टी कार्गो त्यहाँबाट हटाउन अल्टिमेटम दिइसकेको छ । प्रत्येकपटक सूचना निस्किएपछि आयातकर्ता सरकारदेखि भारतीय निकाय गुहार्न पुग्छन् । तर, सरकारले अहिलेसम्म यसको विकल्प दिन सकेको छैन ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालका लागि आउने डस्टी कार्गो व्यवस्थापनका लागि सार्थक प्रयास नगरेको व्यवसायीको आरोप छ । मन्त्रालयले डस्टी कार्गो वीरगञ्जको आईसीपीमा ल्याउन पहल गरेकोमा स्थानीय तह त्यसमा सकारात्मक नभएको नेपाल इन्टरमोडल यातायात विकास समितिको वीरगञ्ज कार्यालयका प्रमुख कमल ज्ञवालीको भनाइ छ ।

वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालकले भने बन्दरगाहमै डस्टी कार्गो व्यवस्थापन हुन सक्ने बताएको छ । बन्दरगाह सञ्चालन गरिरहेको प्रिस्टाइन भ्याली ड्राइपोर्ट प्रालिका मुख्य सञ्चालन अधिकृत (सीओओ) अतुलकुमार शर्माले सरकारले अनुमति दिए डस्टी कार्गो व्यवस्थापन गर्न सकिने बताए ।

कम्पनीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बन्दरगाहमा डस्टी कार्गो भित्र्याउने प्रस्ताव पठाएको छ । ‘सरकारले स्वीकृति दिए १ महीनाभित्र आवश्यक पूर्वाधार तयार गरेर सञ्चालनमा ल्याउन सक्छौं,’ शर्मा भन्छन् । बन्दरगाहमा रेलसेवा सञ्चालनमा रहेकाले डस्टी कार्गो सोझै भित्र्याउन सहज हुने पनि उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)