ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रत्यक्ष विदेशी लगानीमा २ करोडको सीमा लागू

२०७९ असोज, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७९/८० को बजेटमार्फत सरकारले घटाएको विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँ लागू भएको छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी हालैको मन्त्रिपरिषद् बैठकले विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता २ करोड रुपैयाँ लागू गर्ने निर्णय गरेको हो । 

कुनै समय यस्तो सीमा ५० लाख रुपैयाँ रहेको थियो । न्यूनतम सीमालाई सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको अधिकार प्रयोग गरी २०७६ को बजेटमा एकैपटक ५ करोड रुपैयाँ बनाएको थियो । त्यसलाई सरकारले चालू आवको बजेटमार्फत २ करोडमा झार्ने घोषणा गरेको हो । उक्त घोषणा लागू गर्ने प्रस्ताव अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो । हालैको मन्त्रिपरिषद् बैठकले बजेटमा ल्याइएको व्यवस्था लागू गर्नेगरी निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

नेपालमा विदेशी लगानीको अधिकतम सीमा भने तोकिएको छैन । सरकारको पछिल्लो निर्णयले साना तथा मझौला उद्योगमा समेत विदेशी लगानी भित्र्याउन सम्भव भएको छ । सरकारले पटकपटक सीमा घटाए पनि नेपालमा प्रत्यक्ष वैदेशिक लगानी अझै पनि उत्साहजनक रूपमा बढ्न सकेको भने छैन । वैदेशिक लगानीविज्ञका अनुसार न्यूनतम सीमा घटाइनु सकारात्मक भए पनि यसैका कारण तत्कालै ठूलो लगानी भित्रन सक्ने अवस्था छैन । वैदेशिक लगानीसम्बन्धी जानकार अञ्जान न्यौपानेका अनुसार सरकारले न्यूनतम सीमा घटाउँदा आईटी, पर्यटन, सेवाक्षेत्रमा थप लगानी भित्रन सक्ने सम्भावना छ । अझै पनि विदेशी लगानीको थ्रेसहोल्ड बढी नै भएको उनी बताउँछन् । 

उनका अनुसार नेपालमा लगानी भित्र्याउन अझै सहज छैन । देश छिर्नासाथ शुरू हुने अप्ठ्यारा र झमेला विदेशी लगानीकर्ताले पाइला पाइलामा भोग्नुपर्छ । पछिल्लो समय वैदेशिक लगानी प्रतिबद्धतामा केही सुधार आएको देखिए पनि वास्तविक लगानी भने आउन नसकेको देखिन्छ ।

गत भदौसम्ममा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ४ खर्ब १९ अर्ब नाघेको देखिए पनि लगानी ल्याएर काम गर्नेहरू न्यून रहेको उद्योग विभागको तथ्यांकले देखाउँछ । 

उद्योग विभागको तथ्यांकअनुसार गत भदौसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी आएको छ । यसमध्ये भारतबाट सबैभन्दा बढी ७९ अर्ब १४ करोड, चीनबाट ७५ अर्ब ७७ करोड छ । यस्तै सिंगापुरबाट १७ अर्ब ४३ करोड, आयरल्यान्डबाट १६ अर्ब ४८ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १४ अर्ब ५१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)