बागलुङ । कुनै समय लहलह धान झुल्ने बागलुङ नगरपालिका, वडा नम्बर १२ को सँहेलाको २२३ रोपनी खेतमा अहिले लटरम्म कागती फल्न थालेका छन् । गाउँका युवा विदेशिएपछि उजाडिएको फाँट तिनै विदेशिएका युवाको पहलमा पछिल्लो २ वर्षदेखि हरियो र आकर्षक देखिन थालेको छ ।
सडक र सिँचाइ सुविधा नपुगेको उक्त जग्गामा धान नभएका बेला दुबोको जालो देखिन्थ्यो । उक्त खेतले अहिले बगैंचाको रूप लिएको छ । बागलुङ नगरपालिका–१४ अर्माहका स्थानीयले सोही नगरपालिकाको वडा नम्बर १२ मा कृषि समूहमार्फत गरेको कागती खेती जिल्लामै पहिलो र सम्भवत: देशकै पहिलो सामूहिक खेती फार्म हो ।
यसरी जन्मियो समूह
अर्माह गाउँमा करीब ६५ घरधुरी छ । गाउँका युवा विदेशिएपछि मजदूर अभाव र लागतको तुलनामा धान उत्पादन कम भएपछि अधिकांश खेत बाँझै थियो । गाउँदेखि केही पर सँहेलाको खेत पाखोमा परिणत भएको थियो । विदेशमा रहेका युवाले आफू जन्मे हुर्केको र आफैलाई पालेको खेतको बिजोग भएपछि वैकल्पिक व्यवस्था गर्नुपर्ने भन्दै साथी सर्कलमा कुरा चलाए । म्यासेन्जर ग्र्रूपमा शुरू भएको छलफलले कागती खेती गर्ने निष्कर्ष निकाल्यो । र, स्थानीय अगुवा केशव सुवेदीको अध्यक्षतामा चासो कृषि समूह गठन भयो ।
बाँझो खेतलाई सदुपयोग गर्न गठित चासो समूह नै अहिले सबैको चासोको विषय बनेको छ । प्रतिसदस्य न्यूनतम २० हजारदेखि १ लाख रुपैयाँसम्म शेयर लगानी संकलन गरेर शुरू भएको थियो चासो समूह । ४ वर्षसम्म यसले उत्पादन नदिने भएकाले ४ वर्षको भाडालाई जग्गावालाको शेयरमा रूपान्तरण गर्दिने र त्यसपछि आम्दानीको आधारमा शेयरलाई बोनस दिने गरी काम गरिएको छ । सकेसम्म सबैलाई समेट्ने उद्देश्यले नगद नहुनेलाई फार्ममा श्रम गरेर पनि शेयरधनी हुन पाइने विकल्प दिइएको छ । लगानीको स्रोत जुटाउने, प्राविधिक सहयोग लिनेलगायत मोडालिटी बनाइएको छ ।
यो समूह हो, सहकारी होइन । हाल सिंगै गाउँका बासिन्दा फार्मको शेयरधनी बनेका छन् । समूहमा आबद्ध हुनेले लगानी र प्रतिफल दुवैमा साझेदारी गर्नेछन् भने समूहको परियोजनामा जमीन पर्ने तर समूहमा आबद्ध हुन नचाहनेका लागि वार्षिक भाडा दिने गरी जग्गा लिइएको छ । एक रोपनीको प्रतिवर्ष ५ हजार रुपैयाँ भाडा दिने गरी जग्गा लिइएको अध्यक्ष सुवेदीले जानकारी दिए ।
बिरुवा उत्पादन र खरीदलगायत झन्झट पार गर्दै अब भने उत्पादन कुरिरहेका छन् किसान । अनुभव नभएको खेती र पर्याप्त प्राविधिक सहयोग नपाउँदा केही समस्या भएको अध्यक्ष सुवेदीले बताए ।
‘हप्ता दिन तालीम लिएको ज्ञानले नपुग्ने रहेछ । कुन सिजनमा कुन रोगको जोखिम हुन्छ र त्यसको उपचार के भन्ने थाहा नहुँदा कतिपय बिरुवामा लागेको रोगको सही उपचार गर्न सकिएको छैन । जसले गर्दा केही बिरुवा मर्ने वा हाँगा सुक्ने भएको छ,’ सुवेदीले भने, ‘नगरपालिकाले हामी जस्ता कृषकका लागि भनेर डेडिकेटेड प्राविधिक उपलब्ध गराउन सके सहज हुन्थ्यो ।’
हालसम्म करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेको समूहले ४ हजार बिरुवाका लागि मात्रै ५० लाख रुपैयाँ बराबर खर्च भएको जानकारी दिएको छ । फार्ममा सुरक्षा चुनौती रहेको अध्यक्ष सुवेदी बताउँछन् ।
अझै जग्गा थप्ने योजना रहेको पनि उनले सुनाए । ‘तर, हाल लगाएका बिरुवाले उत्पादन दिन थालेपछि अवस्था हेरेर खेती विस्तार गर्ने योजना छ । यो प्रोजेक्ट डुब्यो भने हाम्रो गाउँ नै डुब्छ,’ सुवेदीले आर्थिक अभियानसँग भने ।
धान, मकै, गहुँ फल्ने जग्गामा ती बाली लगाउँदा निर्वाहमुखी मात्र भएपछि कागती लगाएर आम्दानी गर्ने सोच बनाएको उनले बताए । ‘कागतीले धानको तुलनामा तेब्बर बढी आम्दानी दिने भएकाले दीर्घकालीन आय आर्जनका लागि किसानले कागती रोजे,’ उनले भने ।
बजारमा कागतीको माग र मूल्य राम्रो छ । अहिले स्थानीय बजारमा कागतीको मूल्य प्रतिकिलो १७० देखि २०० रुपैयाँसम्म पर्छ । एउटा वयस्क कागतीको राम्रो रुखले वर्षमा १०० किलोभन्दा धेरै उत्पादन दिन सक्छ ।
दुई वर्ष समूहलाई खर्च चलाउन पनि कठिन भएको थियो । अब भने उत्पादन शुरू हुनेमा उनीहरू ढुक्क छन् । यस वर्ष केही बोटमा लागेको फलले त्यसको संकेत पनि दिएको छ । कलमी बिरुवाले केही उत्पादन दिन थालेका छन् । कलमी बिरुवाले २ वर्ष र बिजु बिरुवाले ५ वर्षपछि मात्रै उत्पादन दिन थाल्छ ।
सडक र सिँचाइको व्यवस्था गर्न सके उत्पादनका लागि बजारको समस्या नहुने उनले बताए । नेपाली बजारमा अहिले खपत हुने कागतीको १० प्रतिशतमात्रै स्वदेशमा उत्पादन हुने भएकाले यहाँ उत्पादित कागतीका लागि बजारको समस्या नहुने उनीहरूको बुझाइ छ ।
समूहले हालसम्म प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत १० लाखसहित सानोसानो रकम अनुदान पाएको छ । ‘स्तरीय सडकको पहुँच नभएकाले समस्या भएको र एक चरणको लगानी किसान आफैले गरिसकेकाले सडक र प्राविधिकमा स्थानीय सरकारले सहयोग गरिदिए हुन्थो,’ सुवेदीले भने । नगरपालिकाले बाटोलगायत क्षेत्रमा सहयोग गरेको छ । समूहलाई कृषि ज्ञान केन्द्रले पनि सहयोग गर्दै आएको छ ।
भैंसी पाल्ने योजना
कागती खेतीसँगै अन्य नगदेबाली पनि लगाउन सकिन्छ । तर, सुवेदीका अनुसार उक्त ठाउँमा प्रशस्त घाँस भएको र गाई वा भैंसी पालेर दूध उत्पादन गर्न सकिने भएकाले यस विषयमा समूहमा छलफल भएको छ । समूहकै सदस्यले वा अन्य कसैले भैंसी पाल्न चाहेमा व्यवस्था गरिदिने वा भैंसी फार्म आफैले सञ्चालन गर्ने योजना सुवेदीले सुनाए ।
‘हामीलाई प्रांगारिक मल चाहिन्छ । घाँस पनि छ । त्यसैले अन्य खेती गर्नुभन्दा भैंसीपालनमै जोड दिएका छौं,’ सुवेदीले भने ।