म्याग्दी । संघीय व्यवस्था कार्यान्वयनमा आएपछि पूर्वाधार निर्माणको गति तीव्ररूपमा बढे पनि म्याग्दीका ग्रामीण बस्तीहरूबाट बसाइँसराइको क्रम रोकिएको छैन ।
हिमाली पर्यटकीय जिल्ला म्याग्दीका ६ ओटा पालिकामा ४५ वडामध्ये ४४ वडामा सडक सुविधा पुगेको छ । धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जा बाहेक ६ ओटा पालिकाका सबै वडासम्म सडक सञ्जाल पुगेको छ । सडक सञ्जालको पहुँचसँगै पालिकाहरूले अन्य विकासका पूर्वाधार निर्माणमा पनि तीव्रता दिइरहेका छन् । सडक स्तरोन्नति, पक्की पुल निर्माण, घना बस्ती योजना, सिँचाइ, खानेपानी, ज्येष्ठ नागरिकको घरघरमै पुगेर स्वास्थ्य जाँच, औषधोपचार, सामुदायिक विद्यालयको गुणस्तर सुधार लगायतका लागि नयाँ–नयाँ रणनीतिक योजना समेत पालिकाहरूले ल्याएका छन् ।
केही वर्ष अघिसम्म टुकी तथा दियालोको भरमा साँझ र रात बिताउन बाध्य गाउँलेहरूको घरमा अहिले बिजुली बत्तीको झिलीमिली उज्यालो छ । गाउँगाउँका स्वास्थ्यचौकीको स्तर वृद्धि भएको छ । गाउँमा पशुपालन तथा कृषिमा लाग्ने किसानलाई उत्पादनमा आधारित अनुदान पालिकाले दिइरहेका छन् । तर यहाँबाट थातथलो छोड्ने क्रम भने रोकिएको छैन ।
२०५८ सालको जनगणना र त्यसयताका दुई दशकमा भएका जनगणनाका तथ्यांकले समेत म्याग्दीको जनसंख्या क्रमश: घट्दो रहेको देखिन्छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को नतीजा अनुसार यसअघि २०६८ को तुलनामा शून्य दशमलव ५४ प्रतिशतले म्याग्दीको जनसंख्या घटेको छ ।
२०६८ सालको जनगणना अनुसार एक लाख १३ हजार ६४१ जना रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतीजामा एक लाख सात हजार ३७२ जना भएको जिल्ला जनगणना अधिकारी घनश्याम सापकोटाले बताए । एक दशकमा म्याग्दीबाट ६ हजार २ सय ६९ जनाले बसाइँसराइ गरेका छन् ।
ग्रामीण बस्तीका खानेपानी, सिँचाइ, सामुदायिक भवन, कृषिलगायत समस्या समाधान गर्न र योजना वितरण गर्न वडैपिच्छे योजना सम्झौतासमेत गरिँदै आएको छ । हरेक वडामा प्राविधिक, कृषि तथा भेटेरिनरी जेटीएको दरबन्दी छ । गाउँगाउँमा खानेपानी र सिँचाइको व्यवस्था छ । तर यहाँका ग्रामीण बस्ती भने बसाइँसराइका कारण रित्तिँदै गएका छन् ।
जिल्लाको मालिका गाउँपालिकाले गतवर्ष गरेको सर्वेक्षणअनुसार विभिन्न वडाबाट एक वर्षको अवधिमा मात्रै ९७ परिवारका १ सय ९३ जनाले बसाइँसराइ गरेका छन् । बेनी नगरपालिकाबाट अघिल्लो वर्ष मात्र करीब एक सय परिवारले बसाइँसराइको सिफारिश लिएका थिए । अन्नपूर्ण, धवलागिरि, मंगला र रघुगंगा गाउँपालिकाको हालत पनि उस्तै छ । गतवर्ष मंगला र रघुगंगाका विभिन्न वडाबाट मात्रै करीब २ सय परिवारले बसाइँसराइ गरेको तथ्यांक छ । त्यसैगरी धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका ग्रामीण बस्तीबाट सुविधा खोज्दै बाहिरिनेको तथ्यांक पनि वर्षेनि बढ्दो छ । बसाइँसराइ गर्नेमा अधिकांश परिवार तराईका जिल्ला र केही सुविधासम्पन्न शहरबजारमा गएका छन् ।