ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मैदा उद्योगको उत्पादन ४० प्रतिशतमा सीमित,आयात रोकिंदा ३२ ओटा मैदा उद्योगलाई गहुँ अभाव

२०७९ कार्तिक, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । भारतले खाद्य संकटको सम्भावना टार्न गहुँ निकासीमा प्रतिबन्ध लगाएको छ । भारतबाट आयात गर्न नपाउँदा नेपालमा सञ्चालित ३२ ओटा मैदा उद्योगलाई गहुँ अभाव भएको छ । फलस्वरूप उत्पादन ६० प्रतिशत घटेको उद्योगीहरूको गुनासो छ । क्षमताको ४० प्रतिशतमात्रै उत्पादन गरिरहेका उद्योगले अहिले ३४ रुपैयाँमा पाउने गहुँलाई ५० रुपैयाँ किलोमा किनेर मैदा, आँटा, सुजी उत्पादन गर्दै आएका छन् । 

नेपालको उत्पादनले ४ महीनामात्रै धान्ने र बाँकी ८ महीना भारतबाट ल्याएको गहुँले चलेका उद्योग अहिले संकटमा छन् । भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाएपछि ४ महीनामा आँटा, मैदा र सुजीको मूल्य किलोमै १५ रुपैयाँले बढेको छ । भारतीय गहुँ नआउँदा स्थानीय उत्पादनको माग बढ्न गई ६० प्रतिशतसम्म मूल्यवृद्धि भएकाले आँटा र मैदाको मूल्य बढेको हो । 

तीन महीनाअघि ३४ रुपैयाँ किलोमा पाइएको गहुँ अहिले ५० रुपैयाँ किलो पुगेको छ । गहुँको मूल्य बढेपछि पहिले ४९ रुपैयाँ किलोमा पाइने आँटाको मूल्य ६८ रुपैयाँ किलो र ४७ रुपैयाँ किलो रहेको मैदाको भाउ ६८ रुपैयाँ पुगेको छ । प्रतिकिलो ५५ रुपैयाँमा पाइने सुजीको मूल्य अहिले ७० रुपैयाँ पुगेको नेपाल फ्लोर मिल एशोसिएशनका सचिव तथा मोरङ व्यापार संघका उपाध्यक्ष विकास बेगवानीले जानकारी दिए । 

भारतबाट गहुँ नआएपछि नेपालमा सञ्चालित ३२ मैदा उद्योग संकटमा छन् । मैदा, आँटा र सुजीको मूल्यवृद्धि भएपछि यसको असर चाउचाउ, बिस्कुटलगायत उद्योगमा समेत परेको छ । केही उद्योगले मूल्य बढाउनुको साटो चाउचाउ र बिस्कुटको तौल घटाएर उही मूल्यमा विक्री गरिरहेका छन् । अहिले आम उपभोक्ताले ५ केजी आँटा किन्दा ७५ रुपैयाँ बढी मूल्य तिर्नुपरेको छ ।

तिहार सबैभन्दा बढी आँटा, मैदा र सुजी विक्री हुने समय हो । तिहारमा रोटी र मिठाइको परिकार बनाउन आँटा, मैदा र सुजी नै प्रयोग हुन्छ । 

भारतले गहुँ अभाव भएमा माग गरेजति दिने बताए पनि नेपाल सरकारले आवश्यक परिमाण तोकेर माग नगर्दा उद्योगहरू संकटमा परेका हुन् । ‘सरकार गहुँ ल्याउँदैन, यहाँ मूल्य बढेको बढ्यै छ । तर, खुला सीमाका कारण भारतबाट निर्बाध रूपमा नेपाली बजारमा मैदा आइरहेको छ, जसले गर्दा नेपालका मैदा उद्योगहरू बन्द गर्नुपर्ने अवस्था सृजना हुन लागेको छ,’ सचिव बेगवानीले बताए । 

भारतले गहुँ निकासी रोकेपछि उद्योगीहरूले ‘जीटूजी’को माध्यमबाट ल्याउन माग गरिरहेका छन् । तर, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र परराष्ट्र मन्त्रालय अलमलमा छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगीसँग आवश्यक गहुँको परिमाण सोधेर दशैंअघि नै भारतमा पत्र पठाए पनि परराष्ट्रबाट प्रभावकारी पहल हुन नसक्दा अहिलेसम्म गहुँ आउन नसकेको बताएको छ ।

नेपालका ३२ उद्योगलाई १ वर्षलाई १० लाख मेट्रिक टन गहुँ चाहिन्छ । त्यसमध्ये ३ लाख ५० हजार टन नेपालमै उत्पादन हुन्छ । बाँकी ६ लाख ५० हजार टन भारतबाट आयात गर्नुपर्छ । सरकारले एकपटक ६ लाख मेट्रिक टन गहुँ आयात गरे मैदा उद्योगलाई १ वर्षसम्म समस्या हुँदैन । 

गोमती फुड्स प्रालिका सञ्चालक हरिवंश राठीले गहुँको मूल्य बढेको र बैंक कर्जाको चर्को ब्याजको कारण लागत बढेकाले अहिले मैदा उद्योगको उत्पादन क्षमताको ४० प्रतिशतभन्दा तल झरेको बताए । उनका अनुसार भारतबाट मैदा र चोकर अवैध बाटोबाट आउन थालेपछि स्वदेशी उत्पादनले बजार पाउन छाडेको छ । राठी भन्छन्, ‘नेपालको उत्पादनभन्दा भारतको उत्पादन किलोमा २ रुपैयाँ सस्तो परेपछि अहिले स्वदेशी उद्योगले बजारसमेत गुमाएका छन् ।’

भारतबाट अवैध रूपमा आएको मैदा, आँटा, सुजी र चोकर नेपालकै उत्पादन हो भन्ने भ्रम सरकारका उच्च ओहोदामा परेको कारण गहुँ आयातमा कसैले पनि तदारुकता नदेखाएको उनको बुझाइ छ । भारतबाट गहुँ ल्याएर उत्पादन गर्न सके प्रतिक्वीन्टल ३०० सय रुपैयाँ सस्तो पर्ने भएकाले केही राहत हुने राठीले बताए । 

बाबा फ्लोर मिलका सञ्चालक भावेश राठीले गहुँ अभावबीच खुला सीमाबाट भारतीय मैदा, आटा र चोकर निर्बाध तस्करी भएर नेपाल आइरहेकाले अहिले स्वदेशी उद्योगको उत्पादन २५ प्रतिशतमा सीमित भएको दाबी गरे । दशैंअघि नै गहुँ भारतबाट आउँछ भनिए पनि अहिलेसम्म नआएको उनले बताए । 

चोरबाटो भएर आएको आँटा र मैदा स्वदेशी उद्योगको पुरानो बोरामा प्याक भएर विक्री भइरहेको पाएपछि अहिले उद्योगी व्यवसायी थप चिन्तामा परेको उनले बताए । आफ्नो बाबा ब्रान्डको पुरानो बोरा प्रयोग भएर माल विक्री भइरहेको भेटेपछि भावेश तीनछक परेका छन् । भन्छन्, ‘उजुरी गर्न कहाँ जाने ?’

नेपाली उद्योगको उत्पादन विक्री गरिरहेका डिलरहरूले भारतबाट अवैध रूपमा भित्रिएको आँटा, मैदा, सुजी र चोकर बेच्न थालेपछि पुरानो उधारो पनि नतिर्ने र माल पनि नमगाउँदा गोदाममा त्यत्तिकै थन्किएको उद्योगी बताउँछन् । सरकारले तत्कालै गहुँ ल्याउने र बोर्डरमा कडाइ नगर्ने हो भने नेपालका मैदा उद्योगहरू बन्द हुने अवस्था आउने उद्योगीहरूले चेतावनी दिए । 

नेपालमा गतवर्ष भारतबाट ६ अर्ब ९० करोड ७२ लाख ९० हजार रुपैयाँको ३ लाख ३५ हजार ९३२ मेट्रिक टन गहुँ आयात भएको थियो । विराटनगर भन्सार नाकाबाट गतवर्ष २ अर्ब १९ करोड ९० लाख १६ हजार रुपैयाँ बराबरको ६ हजार ८ सय टन गहुँ आयात भएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाले बताए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)