ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकले किस्ता तिर्न ताकेता गरेपछि तनावमा व्यवसायी, 'मन्दीमा राहत भन्दा पनि निचोर्ने काम भयो'

२०७९ कार्तिक, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
सांकेतिक फोटो
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । बैंकहरूले बढाएको व्याजदरप्रति असन्तुष्टि जनाउँदै उद्योग वाणिज्य संघ–चितवनले ज्ञापनपत्र बुझाएको छ । सोमवार  प्रमुख जिल्ला अधिकारी अस्मान तामाङमार्फत अर्थ मन्त्रालयलाई ज्ञापनपत्र पठाइएको हो ।

विज्ञप्ति बुझाएपछि बोल्दै  संघका अध्यक्ष चुननारायण श्रेष्ठले संस्थागत माग भए पनि यो साना–ठूला सबै व्यवसायीको माग भएको बताए । व्याजदर एकल अङ्कमा ल्याउन र कर्जाको किस्ता बुझाउन पर्ने समय थप गर्नुपर्ने उनीहरूको माग रहेको छ ।

‘त्रैमासिकरुपमा असोज मसान्तमा व्याज बुझाउने समय हुन्छ, तर केही दिनदेखि धेरै व्यवसायीहरु के–कसरी व्याज बुझाउने, किस्ता सल्टाउने भन्ने मानसिक तनावमा छन्’, अध्यक्ष श्रेष्ठले भने, ‘हामीले गुनासो सुनेका छौँ, तर सम्बोधन गर्ने निकायसम्म त्यस्ता गुनासो लैजाँदा समाधान नहुने गरेकाले हामी पनि तनावमा छौँ ।’

कर्जा लिँदा भएको व्याजदर दोब्बरले बढेर गएपछि वस्तु तथा सेवाको लागत र मूल्य वृृद्धि स्वाभाविक भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले बैंकहरू मोटाउने तर व्यवसायी दुव्लाउँदै जाने वर्तमान आर्थिक नीति राष्ट्रिय समस्याको रुपमा रहेको बताए ।

बचतमा व्याजदर वृद्धि गरे पनि भनेजस्तो रकम संकलन गर्न बैंकहरू असफल भएको उनको टिप्पणी छ । बैंक तथा वित्तीय संस्थाले किस्ताका लागि दिएको मानसिक तनावले व्यवसायीहरूमा आतङ्क सिर्जना भएको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारीमार्फत अर्थमन्त्रालयलाई ज्ञापनपत्र पठाउँदै चितवनका व्यवसायी 

नेपाल राष्ट्र बैंकले लागू गरेको चालू पुँजी मार्गनिर्देशन र सोही मार्गनिर्देशनको आडमा वर्तमान आर्थिक मन्दीको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूले मनोमानीरुपमा गरेको व्याजदर वृद्धिप्रति उद्योग वाणिज्य संघ–चितवनको गम्भीर ध्यानाकर्षण भएको संघका उपाध्यक्ष शिरीष पन्तले बताए ।

कोभिड महामारी र रसिया–युक्रेन युद्धका कारण नेपालको व्यावसायिक क्षेत्र प्रभावित बनेको अवस्थामा राहत वा सहुलियतभन्दा पनि व्यवसायीलाई निचोर्ने काम सरकारकै जिम्मेवार निकायको कमीकमजोरीका रुपमा रहेको उपाध्यक्ष पन्तको भनाइ छ ।

बैंकले भनेजति र भनेको समयमा पैसा नदिँदा मिटर व्याजले प्रोत्साहन पाएको व्यवसायीहरु बताउँछन् ।

‘समस्या सुल्झाउनका लागि व्यवसायीहरू मिटर व्याजमा पैसा चलाउन बाध्य छन् । राज्यले गैरकानूनी भनेको धन्दामा व्यवसायीलाई जबर्जस्ती आबद्ध गराइरहेको छ, त्यो भत्र्सनायोग्य छ’, उनले भने । अन्तरराष्ट्रिय बजारमा डलरको भाउ र निक्षेपको व्याजदर बढेकाले कर्जाको व्याजदर बढेको ग्लोबल आइएमई बैंक नारायणगढ शाखाका प्रमुख लक्ष्मण पौडेलले जानकारी दिए । व्याज संकलनका लागि अहिले असहज भएको उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले भदौ ७ गते सार्वजनिक गरेको चालू पुँजी मार्गदर्शन–२०७९ को व्यवस्थाले मुलुकको उद्योग व्यवसायमा प्रतिकूल असर पर्ने भनी व्यवसायीले आपत्ति जनाएका हुन् । व्यवसायीसँग सोधपुछ नगरी मनोमानी तरिकाले सरकारले नीति ल्याउँदा समस्या भएको उनीहरूको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)