ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटक आकर्षित गर्न घोडेपानीमा घोडा दौड प्रतियोगिता

२०७९ कार्तिक, ३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न घोडा दौड प्रतियोगिता हुने भएको छ । घोडेपानीका घोडा व्यवसायी र टोल सुधार समितिले आमा समूह, पर्यटन व्यवस्थापन समिति लगायत स्थानीय संघ संस्थाको  सहकार्यमा आगामी कात्तिक १७ गते उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने घोडेपानी अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य हो । घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन गर्बुजा पुनले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले घोडा दौड प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । पुनहिल र घोडेपानीबाट सूर्योदय, हिमाल, पहाडी भूगोल, जंगलको मनमोहक दृश्य अवलोकन गर्न आउने पर्यटकका लागि घोडा दौड प्रतियोगिता अर्को आकर्षण बन्ने विश्वास गरिएको छ ।

सामान ढुवानी, आवतजावत र पर्यटक बोक्न घोडेपानीमा घोडा पाल्ने गरिएको छ । पहिले घोडेपानी भोटमा नून लिन जाने, दामोदर कुण्डको तीर्थयात्रा गर्ने र चिनियाँ भारतीय बजार जाने आउने गर्ने बाटोमा थियो ।

समुद्री सतहदेखि करीब दुई हजार ८०० मिटरको उचाइमा रहेको घोडेपानीमा बटुवाहरूले घोडालाई पानी खुवाउने गरेकाले घोडेपानी नाम रहेको बताइन्छ । घाडेपानीमा पहिले वैशाखमा घोडा दौड प्रतियोगिता हुने गरेको थियो ।

घोडेपानीको छिमेकी कास्कीको घान्द्रुकमा घोडेजात्रा पर्वका अवसरमा घोडादौड प्रतियोगिता आयोजना हुँदै आएको छ । दुई ठाउँमा सँगसँगै पर्ने भएकाले घोडेपानीमा यसपालिदेखि शरद्याममा गर्न लागिएको टोल सुधार समितिका अध्यक्ष गर्बुजाले बताए । घोडेपानीदेखि अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने घोप्टेखर्कसम्म सात किलोमिटर ५०० मिटरको दूरीमा घोडा दौडाउने तय भएको छ । कात्तिक ४ गते आयोजना गर्ने भनिएको प्रतियोगिता सडकमा राखिएको निर्माण सामग्री र उपकरण व्यवस्थापन तथा मर्मतका लागि समय लाग्ने भएपछि १३ दिन ढिला गरी हुने भएको हो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार रुपैयाँ नगद प्रदान गरिने आयोजकले जानकारी दिएको छ । सहभागीका लागि दर्ता शुल्क प्रतिव्यक्ति तीन हजार रुपैयाँ तोकिएको छ । सहभागी हुने घोडाका लागि दानाको व्यवस्था आयोजकले गर्नेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)