ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाली चियाको एउटा अवरोध हट्यो

२०७९ कार्तिक, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । भारतको टी बोर्डले दार्जिलिङको चियामा नेपाली मिसाउन १ वर्षअघि लगाएको प्रतिबन्ध हटाएको छ । टी बोर्डको कदमले पश्चिम बंगालमा नेपाली चियाको घट्दै गएको माग फेरि बढ्ने भएको छ । टाटा चियाले नेपाल र भारतकै अन्य प्रान्तको चियामा दार्जिलिङको मिसाउन पाउनुपर्ने माग गर्दै बोर्डमा निवेदन दिएको थियो ।

बोर्डले टाटाको पक्षमा निर्णय गर्दै मंगलवारबाट प्रतिबन्ध हटाएको हो । २०२१ नोभेम्बर ११ मा बोर्डले जुन स्थानमा उत्पादन भएको चिया हो, त्यहीँको भौगोलिक पहिचानको ट्याग लगाउनुपर्ने र अन्यत्र उत्पादन भएर आएको मिसाउन नपाइने निर्णय गरेको थियो । यसले गर्दा दार्जिलिङको चिया विक्री नभएर हजारौं टन सस्तोमा लीलाम गर्नुपरेको थियो ।

टाटा कन्जुमर प्रोडक्ट्स लिमिटेडले मात्रै दार्जिलिङको हजार टन चिया खरीद गर्दै आएको छ । यो परिमाण त्यहाँको उत्पादनको १५ प्रतिशत हो । चिया बोर्डको निर्णयको कारण किसानको चिया विक्री नभएपछि चिया बोर्डका केही सदस्य र केन्द्रीय वाणिज्य मन्त्रालयका केही पदाधिकारी रुष्ट बनेको द टेलिग्राफको बुधवारको अंकमा प्रकाशित समाचारमा उल्लेख छ ।

नेपाल चिया उत्पादक संघका केन्द्रीय अध्यक्ष सुरेश मित्तलले भारतीय टी बोर्डको निर्णयले नेपाली चियाको माग बढ्ने बताए । उनका अनुसार भारतको टी बोर्डले १ वर्षअघि भारतको भौगोलिक पहिचान प्याकेजिङमा उल्लेख गरेर विदेशको चिया मिसाउन नपाउने नियम लागू गरेपछि टाटा चियाले दार्जिलिङमा उत्पादित पनि किन्न छाडिदिएको थियो ।

टाटाले नेपालबाट चिया नकिनी दार्जिलिङको मात्र प्रयोग गर्दा पनि नेपालकै हो भन्ने आरोप लागेसँगै उसले दार्जिलिङको पनि किन्न छाडिदिएपछि ठूलो समस्या उत्पन्न भयो । अहिले आएर भारतीय टी बोर्डले विदेशी चिया मिसाउन पाउने तर मिसाएको प्याकेटमा भौगोलिक पहिचान दिन नपाइने उल्लेख गरेपछि नेपाली चियाको बजार सहज भएको मित्तलले बताए ।

भारतका ४० जना सांसदले नेपाली चियामाथि ११ ओटा आरोप लगाउँदै  संसद्मा पेश गरेको याचिकालाई समेत टी बोर्डको निर्णयले फिक्का बनाएको मित्तलको भनाइ छ । नेपालको चिया ठीक छ, मिसाउन मिल्छ भनेर भारतीय टी बोर्डले नै भनेपछि दार्जिलिङको भन्दा खराब छ भन्ने आधारसमाप्त भएकाले अब ती सांसदहरूले याचिका फिर्ता लिनुपर्ने उनको धारणा छ ।

नेपाल टी प्लान्टर्स एशोसिएशनका सल्लाहकार उदय चापागाईंले भारतीय टी बोर्डको निर्णयको स्वागत गरेका छन् । उनले नेपाली चियाका लागि यो एउटा सकारात्मक निर्णय आएको बताए । नेपालको चिया पनि दार्जिलिङकै गुणस्तरमा रहेको कारण भारतका व्यापारीले नेपालबाट लगेर अन्य चियासँग मिसाएर विक्री गर्ने गरेका छन् । यसकै कारण उनीहरूको बजार विस्तार भइरहेको छ ।

तर, केही बिचौलियाको कारण नेपालको चियालाई मिथ्या आरोप लगाएर भारतीय संसद्मा दर्ता भएको याचिका फिर्ता गराउन सके नेपाली चियाको बजार नगुम्ने व्यवसायी बताउँछन् । चापागार्इंले भने, ‘नेपाली चियाको ८० प्रतिशत बजार भारत हो, हामीले कुनै पनि हालतमा यो बजार गुमाउनु हुँदैन ।’ नेपालले वार्षिक रूपमा झन्डै साढे ३ अर्ब रुपैयाँको चिया भारत निकासी गर्दै आएको छ । चिया तथा कफी विकास बोर्डका अनुसार आर्थिक वर्ष सन् २०२०/२१ मा ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँको ११ हजार ९२० मेट्रिक टन चिया ३३ मुलुकमा निकासी भएको छ । यसमध्ये ३ अर्ब ३८ करोड ३० लाख रुपैयाँ बराबरको ११ हजार ४७२ टन चिया भारत निकासी भएको छ । भारतले नेपाली चियामा प्रतिबन्ध लगाउने निर्णय गरेमा नेपालले ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको बजार गुमाउनेछ । नेपालमा १७ हजार हेक्टरमा चिया खेती हुँदै आएको छ । पहाड र तराईका २४ हजार साना किसान चिया खेतीमा जोडिएका छन् । चियासँग सम्बद्ध सानाठूला गरी १४६ उद्योग सञ्चालनमा छन् । भारतमा निकासी गर्न नपाए मुख्य बजार नै गुम्ने निश्चित भएपछि चियासँग जोडिएका किसान, उद्योगी र व्यवसायी अहिले त्रासमा छन् । चिया भारत निकासीमा प्रतिबन्ध भने लागिसकेको छैन ।

चिया तथा कफी विकास बोर्डका अनुसार नेपालबाट सीटीसी र अर्थाेडक्स गरी ८० प्रतिशत चिया भारतीय बजारमा जान्छ । २० प्रतिशत अमेरिका, चीन, बेलायतलगायत ३२ मुलुकमा निर्यात हुन्छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ७८ करोड २८ लाख, २०७७/७८ मा ३ अर्ब ७९ करोड ७१ लाख र २०७८/७९ मा ३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ मूल्यको चिया भारतलगायत तेस्रो मुलुक निकासी भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)