ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्जको निर्यात ६६ प्रतिशतले घट्यो

२०७९ कार्तिक, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । सरकारले आयातमा लिएको कडाइको नीति र बजार संकुचनको प्रभाव वैदेशिक व्यापारमा परेको छ । नेपालको वैदेशिक व्यापार ओरालो लागेको सरकारी निकायको तथ्यांकले देखाएको छ । आयातनिर्यात परिमाणका आधारमा देशको सबैभन्दा ठूलो वीरगञ्ज भन्सारको तथ्यांकले यस्तो देखाएको हो ।

चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो त्रैमासका तीनओटै महीनामा यो भन्सारमार्फत हुने वैदेशिक व्यापार निरन्तर घटिरहेको छ । गत आव २०७८/७९ को सोही अवधिको तुलनामा बितेको असोजमा कुल वैदेशिक व्यापार परिमाण २६ प्रतिशतले घटेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले बताए ।

त्यसअघि चालू आवको साउन र भदौ दुवै महीना यो नाकाबाट हुने वैदेशिक व्यापार घटेको प्रमुख भन्सार अधिकृत बरुवालले जानकारी दिए । सरकारले गत आवको दोस्रो चौमासदेखि आयात नियन्त्रणको उपाय अपनाएको थियो ।

सरकारले विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न भन्दै विलासी वस्तु आयात रोक्ने नीति लिएको छ । औद्योगिक कच्चा पदार्थ र अत्यावश्यकबाहेकका वस्तु आयातको एलसीमा नगद मार्जिनको नियम छ । 

यसैबीच वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिएपछि व्यापार झन् शिथिल बनेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् । 

‘सरकारले लिएको आयात निरुत्साहनको नीति र लगानीयोग्य रकम अभावलाई कारण देखाएर बैंकहरूले कर्जामा पनि कडाइ र ब्याज बढाएपछि त्यसको सोझो असर माग र आपूर्तिमा परेको हो,’ अध्यक्ष गुप्ताले भने ।

वीरगञ्ज भन्सारका अनुसार चालू आवको साउनदेखि असोजसम्ममा वैदेशिक व्यापारमा करीब २० प्रतिशतले कमी आएको छ । गत आवको सोही अवधिमा कुल वैदेशिक व्यापार १ खर्ब ९८ अर्ब रुपैयाँ बराबर थियो । चालू आवमा यो आकार १ खर्ब ५९ अर्ब रुपैयाँमा खुम्चिएको छ । 

निर्यातमा उल्लेख्य कमी 

यो नाकाको आयात ११ प्रतिशतले घट्दा निर्यात भने ६६ प्रतिशतले घटेको भन्सारको तथ्यांकले देखाउँछ । यो नाकाबाट आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, सवारी साधन र औद्योगिक कच्चा पदार्थ पर्छन् । यी सबै वस्तुको आयात घटेको छ । 

निकासीतर्फ विगत वर्षहरूमा प्रशोधित खानेतेलको मुख्य योगदान थियो । अहिले खानेतेलको भारत निकासी स्वाट्टै घटेको छ । 

गतवर्षसम्म भारतमा यस्तो तेलको आयातमा उच्च दरमा सीमा शुल्क लाग्दा स्वदेशी उद्योगले यसको लाभ उठाएका थिए । स्वदेशका दर्जनभन्दा बढी उद्योगले तेस्रो मुलुकबाट कच्चा तेल भित्र्याएर प्रशोधित तेल निर्यात गर्दै आएका थिए । भारतले बजार मूल्य नियन्त्रणमा राख्न यस्तो शुल्क शून्यदेखि २ दशमलव ५ प्रतिशतसम्ममा सीमित गरेपछि निकासी करीब बन्द भएको ओसीबी फुड्स एन्ड फिड्सका सञ्चालक सुरेश रुंगटा बताउँछन् । 

घट्यो राजस्व 

वैदेशिक व्यापार खुम्चिएपछि त्यसको प्रभाव सरकारले उठाउने राजस्वमा देखिएको छ । वीरगञ्ज भन्सारले चालू आवका कुनै पनि महीनामा राजस्वको लक्ष्य भेट्टाउन सकेको छैन । 

पछिल्लो ३ महीनामा यो नाकाबाट उठेको राजस्व लक्ष्यको तुलनामा ३० प्रतिशत कम छ । वीरगञ्ज भन्सारले आप्mनो वेबसाइटमा प्रकाशित गरेको तथ्यांकअनुसार यो भन्सारलाई चालू आवको पहिलो त्रैमासका लागि ५६ अर्ब ३७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको थियो । भन्सारले ३९ अर्ब ६२ करोड रुपैयाँमात्र उठाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)