ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्घा भगवती विमानस्थल : ६ वर्षमा साढे १२ करोड खर्च, अझै तयार भएन धावनमार्ग

२०७९ कार्तिक, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१३, धरम्पानीस्थित शिखरबार्नीमा निर्माणाधीन अर्घा भगवती विमानस्थलमा माटो कटान गरिँदै । तस्वीर : हिमा वि.क
author avatar हिमा वि.क.

काठमाडौं । २०७३ असार १३ गते शिलान्यास भएको अर्घा भगवती विमानस्थल परियोजना ६ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन । तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले शिलान्यास गरेको उक्त विमानस्थल निर्माणमा हालसम्म १२ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ । तर, अझै धावनमार्ग तयार हुन सकेको छैन ।

विमानस्थल छिटो बनाउने भन्दै उनले नै २ पटकसम्म कामको औपचारिक शुरुआत गरे । २०७३ मा शिलान्यास भए पनि काम शुरू नभएपछि उनले फेरि २०७६ मा रिबन काटेर विमानस्थल निर्माणको आरम्भ गरे । तर, विमानस्थल हालसम्म पनि बनिसकेको छैन । सन्धिखर्क नगरपालिका–१३, धरम्पानीको शिखरबार्नीमा विमानस्थल बन्दै छ । आयोजनाको प्रगति ६० प्रतिशत पुगेको छ । 

अर्घाखाँची सदरमुकाम सन्धिखर्कलाई कालोपत्रे सडकले जोडेको छ । संघीय राजधानी काठमाडौं छिट्टै जान परे अर्घाखाँचीवासीलाई रूपन्देहीको भैरहवा विमानस्थलसम्म पुग्नुपर्छ । हवाईजहाज चड्न भैरहवासम्म पुग्नुपर्ने बाध्यता हटाउन, आपत्कालीन अवस्थाको काठमाडौं यात्रा सहज बनाउन र पर्यटन प्रवर्द्धनका लागि यो विमानस्थल निर्माण शुरू गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।

धार्मिक पर्यटनका हिसाबले पनि अर्घाखाँची आकर्षक गन्तव्यका रूपमा विकास हुँदै छ । विमानस्थल निर्माणले भने उल्लेख गति लिन नसकेको स्पष्ट देखिन्छ । अहिले विमानस्थल साइटमा डोजरले माटो काट्ने र सम्याउने काम गरिरहेका छन् ।

विमानस्थलको धावनमार्ग विस्तार तथा निर्माणका लागि मात्रै दुईओटा ठेक्का सम्झौता भएका छन् । पहिलो चरणमा ६५० मीटरको धावनमार्ग बनाउन ठेक्का आह्वान भयो । सोही धावनमार्गलाई विस्तार गरेर ७५० मीटर पुर्‍याउन गत असारमा ठेक्का सम्झौता गरेर काम शुरू गरिएको परियोजना प्रमुख पुष्पराज न्यौपानेले जानकारी दिए । 

उनका अनुसार पहिलो चरणको धावनमार्ग निर्माण सम्पन्न भइसकेको छ, त्यसका लागि ६ करोड रुपैयाँ खर्च भएको छ । दोस्रो चरणको काममा ३ करोड ५० लाख रुपैयाँ खर्च भएको उनले बताए । धावनमार्ग विस्तार गरेर ७५० मीटर पुर्‍याउन ५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको र उक्त बजेटमा हालसम्म ३ करोड रुपैयाँ खर्च भइसकेको उनले बताए । 

परियोजनामा हालसम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको न्यौपानेले जानकारी दिए । धावनमार्ग थप विस्तारका लागि २०७९ असारमा ठेक्का लागेको भन्दै उनले केही महीनामै ७५० मीटरको धावनमार्ग तयार हुने जानकारी दिए । यो धावनमार्ग सम्पन्न भइसकेपछि टर्मिनल भवन बनाउने स्थानको माटो कटान र पार्किङका लागि स्थान तयारीको काम शुरू हुने उनको भनाइ छ ।

उक्त कार्यका लागि प्राधिकरणले ३/४ दिनभित्रमा टेन्डर आह्वान गर्ने तयारी गरेको पनि उनले जानकारी दिए । टर्मिनल भवन बनाउने ठाउँमा माटो कटानका लागि प्राधिकरणले यो वर्ष १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । धावनमार्ग विस्तारसँगै प्राधिकरणले उक्त विमानस्थलमा ४५ सीट क्षमताका जहाज उडान गराउने लक्ष्य राखेको छ । पहिला भने १९ सीट क्षमताका जहाज उडान गर्न मिल्ने विमानस्थल बनाउने योजना प्राधिकरणको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)