ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रूस–युक्रेन तनावको मारमा छाला निकासी

२०७९ कात्तिक, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । कोभिड–१९ का कारण ३ वर्षदेखि सुस्ताएको तयारी छाला निकासी अहिले रूस–युक्रेन तनावको शिकार भएको छ । विराटनगरबाट आर्थिक वर्ष (आव) २०७८/८९ मा छाला निकासी अघिल्लो वर्षको तुलनामा बढेको देखिए पनि कोभिडपूर्वको स्थितिभन्दा निकै तल रहेको छ ।

विराटनगर भन्सार कार्यालयका अनुसार कोभिडपछि तुलनात्मक रूपमा छाला निकासीमा सुधार आए पनि आव २०७४/७५ को भन्दा कम छ । उक्त आवमा ३७ करोड ६१ लाख मूल्यको ५१ लाख ३८ हजार वर्गफिट छाला निकासी भएको तथ्यांक छ । नेपालबाट भारत, चीन, इटाली, मेक्सिको, फ्रान्स, टर्की, ल्याटिन अमेरिकालगायत देशमा प्रशोधित छाला निकासी गरिन्छ ।

भन्सार कार्यालयका प्रवक्ता रामचन्द्र ढुंगानाका अनुसार कोभिडपछि छाला निकासी बढेको छ । आव २०७८/८९ मा राँगाभैंसी, बोकाबाख्रा, भेडालगायत चौपायाको प्रशोधित छाला २० करोड ४१ लाख रुपैयाँ बराबरको निकासी भएको छ । उक्त वर्ष १७ लाख ५७ हजार ५७६ किलो छाला निकासी भएको हो । आव २०७७/७८ मा १० करोड ५९ लाख रुपैयाँ बराबरको ८ लाख २१ हजार किलोभन्दा केही बढी छाला निकासी भएको थियो ।

कोरोनाको बेला छाला उद्योग बन्द भएका थिए । कोरोना कमजोर भएपछि यूरोपलगायत मुलुकबाट अपेक्षाअनुसार माग नआएको युनाइटेड टेनेरिजका सञ्चालक परवेज अख्तरले बताए । उनका अनुसार रूस–युक्रेन तनावका कारण इटाली र चीनबाट आउने माग शून्य भएको छ । युद्धका कारण ७० प्रतिशत निकासी प्रभावित भएको उनले बताए ।

सरकारले निकासी हुने वस्तुको सूचीमा राखेर ५ प्रतिशत नगद अनुदान दिँदै आएको छाला उद्योगका लागि सुहलियतपूर्ण कर्जा सुविधा नहुँदा उत्पादन खुम्चँदै गएको अख्तरले बताए । विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रूपमा छाला उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा सरकारले नगद अनुदानसमेत ढिला दिइरहेको गुनासो उद्योगीको छ ।

विराटनगर नाकाबाट एशियन लेदर इन्डस्ट्री, नेपाल ट्यानिङ इन्डस्ट्री र युनाइटेड टेनेरिज गरी तीनओटा उद्योगले भारत र तेस्रो मुलुकमा प्रशोधित छाला निकासी गरिरहेका छन् । विराटनगरको एक उद्योग बन्द छ । अरू सातओटा उद्योग वीरगञ्जमा सञ्चालनमा छन् । छाला निकासी वीरगञ्ज र विराटनगर नाकाबाट हुँदै आएको छ ।

युनाइटेडका कार्यकारी निर्देशक सदाव अख्तरले अन्तरराष्ट्रिय स्तरमा न्यून रूपमा छाला निकासी भइरहेको बताए । पहिलेको तुलनामा माग घटेको र शिपिङ भाडा बढेको कारण उत्पादित छाला यूरोप पठाउन नसकेको उनले खुलाए । निर्यात गर्ने र प्राथमिकतामा परेको उद्योग भए पनि सरकारले सुविधा नदिँदा बैंकको चर्काे ब्याजको कारण करोडौं लगानी जोखिममा परेको उनले बताए ।

बन्दाबन्दीको कारण छाला निकासी रोकिएपछि आफूहरूले ‘स्पोर्ट शुज’ उत्पादन गरिरहेको कार्यकारी निर्देशक अख्तरले बताए । सरकारी निकायहरूले नेपालकै उद्योगबाट उत्पादित छालाका जुत्ता प्रयोग गर्ने हो भने नेपालमा दोब्बर उद्योग खुल्ने उनको अनुमान छ । ‘त्यस्ता उद्योगले रोजगारी सृजना पनि गर्छन्, विदेशी लगानीसमेत भित्र्याउँछन्,’ कार्यकारी निर्देशक अख्तरले भने ।

एशियन लेदरका सञ्चालक हसन अन्सारीका अनुसारकोरोनाका कारण थलिएका छाला उद्योगहरू रूस–युक्रेन तनावको मारमा परेका छन् । भारतलगायत केही मुलुकबाहेक अन्यत्र छाला निकासी हुन नसक्दा उद्योगको उत्पादन खुम्चिएको उनको भनाइ छ । सरकारले बैंक ब्याजलगायतमा छाला उद्योगलाई सुविधा दिनुपर्ने माग उनले गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)