ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतीय नीतिले तेल निर्यात गर्ने उद्योग समस्यामा, वीरगञ्जबाट हुने निकासी ६६ प्रतिशतले घट्यो

२०७९ कात्तिक, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । भारतले आफ्नो बजार मूल्य नियन्त्रणमा राख्न खानेतेलको आयातमा लाग्ने गरेको सीमा शुल्क घटाएपछि नेपालबाट हुँदै आएको प्रशोधित तेल निर्यात निरन्तर ओरालो लागेको छ । चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो त्रैमासका प्रत्येक महीना वीरगञ्ज नाकाबाट खानेतेलको निकासी घट्दै गएको तथ्यांकले देखाउँछ । 

वीरगञ्ज भन्सार कार्यालयका अनुसार भारतीय नीतिको असर तेल निर्यातमा परेको छ । प्रशोधित खाने तेलको निर्यात घटेपछि यो नाकाबाट हुने समग्र निकासी प्रभावित भएको प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले बताए । 

गत आव २०७८/७९ मा प्रशोधित खानेतेल नेपालबाट निकासी हुने प्रमुख वस्तु थियो । यसो त यो वर्ष पनि तेल निकासी हुने वस्तुको अग्रस्थानमै छ । तर, परिमाण भने पोहोरको तुलनामा निकै कम छ । 

वीरगञ्ज तेल निर्यात हुने मुख्य नाका हो । भारततर्फ तेल निकासी सहज हुँदा यो क्षेत्रका १४ ओटा तेल उद्योगले निर्यात गर्दै आएका थिए । अहिले निकासी बन्द हुने अवस्थामा पुगेको ओसीबी फुड्स एन्ड फिड्सका सञ्चालक सुरेश रुंगटाले बताए । 

भारतमा त्यहाँको सरकारले तेल आयातमा ४० प्रतिशतसम्म शुल्क लिँदा नेपालका उद्योगीले यही शुल्क अन्तरको फाइदा लिएर निकासी गरेका थिए । भारतले केही समय अघिसम्म आफ्ना किसान र उद्योग संरक्षणका लागि भनेर अप्रशोधित तेल आयातमा उच्च दरमा शुल्क लगाएको थियो । भारतले अहिले बजार मूल्य नियन्त्रणका लागि यस्तो शुल्क शून्यदेखि २ दशमलव ५ प्रतिशतमा सीमित गरेको छ । 

भारतीय नीतिको कारण नेपालबाट हुने निकासी प्रभावित भएको हो । भारतमा उच्च शुल्क हुँदा साफ्टा सहुलियतको लाभसमेत लिँदै उताका व्यवसायीले ५ प्रतिशत शुल्क तिरेर नेपालबाट खानेतेल आयात गर्थे । अब यो सुविधाअन्तर्गत निकासी गर्दा फाइदा नहुने अवस्था सृजना भएको नारायणी आयल रिफाइनरीका सञ्चालक निखिल चाचानले बताए । 

भारत निकासी गर्ने लक्ष्यसाथ कतिपय उद्योगले विगतमा क्षमता विस्तार गरेका थिए । केही नयाँ उद्योग पनि थपिएका थिए । भारत निकासीको सम्भावना टरेकाले ती उद्योगले अब स्वदेशी बजारमै प्रतिस्पर्धा गर्नुपर्ने स्थिति सृजना भएको छ । 

अहिले भने आन्तरिक बजारमै लागतभन्दा कममा तेल विक्री गर्नुपरेको उद्यमी बताउँछन् । अहिले चाडपर्वका बेला बजारमा मूल्य केही बढे पनि छठलगत्तै मूल्य घट्ने एक उद्यमीले दाबी गरे । 

यस्तो छ तथ्यांक  

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि असोजसम्ममा प्रशोधित पाम तेलको निकासी मूल्यका आधारमा ६६ प्रतिशतले घटेको छ । गत आव २०७८/७९ को पहिलो ३ महीनामा करीब १० अर्ब रुपैयाँको पाम तेल भारत निर्यात भएको थियो । चालू आवको ३ महीनामा निकासी घटेर ३ अर्ब ३३ करोड रुपैयाँमा सीमित भएको छ । 

त्यस्तै भटमास तेल निकासी ८७ प्रतिशतले खस्किएको छ । अघिल्लो वर्षको शुरू ३ महीनामा १४ अर्ब रुपैयाँभन्दा बढीको भटमास तेल निर्यात भएको थियो । चालू आवको सोही अवधिमा यस्तो मूल्य १ अर्ब ८३ करोड रुपैयाँमात्रै छ । 

सूर्यमुखी तेलको निर्यात ९५ प्रतिशतले घटेको छ । यस वर्ष ३ महीनामा ७ करोड रुपैयाँको मात्र सूर्यमुखी तेल भारत निकासी भएको भन्सारको तथ्यांकले देखाएको छ । अघिल्लो वर्ष साउनदेखि असोजसम्म करीब डेढ अर्ब रुपैयाँको प्रशोधित सूर्यमुखी तेल निकासी भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)