ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुस्ताङमा दैनिक ४ हजार पर्यटक

२०७९ कात्तिक, १६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । हिमालपारिको जिल्ला मुस्ताङमा केही दिनयता दैनिक ४ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । दैनिक आउने पर्यटकको संख्या बढेपछि यहाँका होटेल तथा लजहरू भरिएका छन् ।

दशैं लगत्तै र तिहारअघिसम्म दैनिक २ हजार ५ सयदेखि ३ हजार आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकोमा तिहारपछि उक्त संख्या बढेर चार हजार नाघेको मुस्ताङका होटेल व्यवसायीहरूले बताएका छन् । हिजोआज मुस्ताङमा जता हेरे पनि पर्यटक देखिन थालेपछि स्थानीय होटेल व्यवसायीहरू उत्साहित छन् । गत शनिवार करीब ५ हजार पर्यटक मुस्ताङ भित्रिएको घाँसा प्रहरी चौकीको विवरण छ ।

शनिवार मुस्ताङ पुग्ने आन्तरिक पर्यटकहरूको संख्या एकाएक बढेको हो । शनिवार ४७३ ओटा मोटरसाइकल, ३३१ ओटा जीप लगायत चारपांग्रे सवारीसाधन र २३ ओटा बसमार्फत चार हजार ७२० जना पर्यटक मुस्ताङ भित्रिएको घाँसा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीले जानकारी दिए ।

‘यहाँ औसत दैनिक तीन हजार जति पर्यटक आउनुहुन्थ्यो, तर शनिवार ठूलो संख्यामा भित्रिनुभयो,’ उनले भने, ‘ठूला बसमा आउने प्राय: आन्तरिक पर्यटक छन् । विदेशीहरू मोटरसाइकल र जीपमा  आइरहेका छन् ।’

मुस्ताङको जोमसोममा होटेल व्यवसाय गर्दै आएका होटल व्यवसायी योगेश शेरचनले अहिले अधिकांश होटेल पाहुनाले भरिएर नयाँ मान्छेले ठाउँ नै नपाउने अवस्था आएको बताए । ‘अक्टोबर, नोभेम्बर र डिसेम्बरमा पर्यटक बढी आउँछन्,’ उनले भने, ‘विगतका दुई वर्ष कोरोनाका कारण पर्यटक आएका थिएनन् । यस वर्ष पर्यटकको चाप बढेको छ ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले दैनिक बाहिरबाट आउने सवारीसाधनको चापले कालीपुल बसपार्क भरिभराउन हुन थालेपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको र  अधिकांश सवारीसाधन मुस्ताङ जान आउने गरेको बताए ।

लामो बिदा उपयोग गर्दै आन्तरिक पर्यटकहरू मुस्ताङ भ्रमणमा निस्कने गरेका छन् । पुस–माघको समयमा अत्यधिक चिसोका कारण हिमपात हुने भएकाले त्यो बेला मुस्ताङका नागरिक नै चिसो छल्न म्याग्दी, बागलुङ, पर्वत, पोखरा लगायत ठाउँमा झर्ने गरेका छन् । हिमपातका बेला प्राकृतिक दृश्य नियाल्न नपाइने तथा यात्रा नै जोखिमपूर्ण हुने भएकाले यही बेला मुस्ताङमा पर्यटकको चाप बढ्छ ।

उपल्लो मुस्ताङमा अन्नपूर्ण, धवलागिरि लगायत हिमशृंखला, गहिरा ‘हिमालयन गर्ज’, थकाली परम्परा, फरक खालको भौगोलिक संरचना लगायत अवलोकन गर्न पाइन्छ । तल्लो मुस्ताङदेखि नै शुरू हुने पर्यटकीय गन्तव्यले पर्यटकलाई आकर्षित गर्छ ।

कागबेनी र नीलिगिरि हिमाल, जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, मार्फा, थोरोङ्ला पासको पदमार्ग, ‘स्काई केभ’, ‘रक टनेल’, ‘चुङ्सी केभ’, ‘रेड क्लिफ’, घर गुम्बा, छोसेर, लुरी गुम्बा, ‘मनी वाल्स’, गुम्बा ताल, हिमाली क्षेत्रको खेतीपाती लगायत विविधता अवलोकनका लागि मुस्ताङ पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

समुद्री सतहबाट २ हजार ८ सय मिटरको उचाइमा रहेको कागबेनीदेखि झन्डै ४ हजार ७ सय मिटरको उचाइमा रहेको कोरलासम्म पर्यटक पुग्छन् । छिमेकी देश चीनसँग सीमा जोडिएको उपल्लो मुस्ताङको कोरला, कागबेनी र मुक्तिनाथसम्म नै यो बेला पर्यटकको भीड हुन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)