विराटनगर । भारत र पाकिस्तानमा निर्यात भइरहेकाे नेपाली अलैंची अब खाडी मुलुकमा निर्यात गर्न सकिने भएको छ । अलैंची उत्पादक तथा व्यवसायीले हलाल सर्टिफिकेट लिइसकेकाले खाडीका इस्लामिक मुलुकहरूमा निर्यातको ढोका खुलेको हो । खाडी मुलुकमा खाद्यवस्तु निर्यात गर्न हलाल सर्टिफिकेट आवश्यक पर्छ ।
नेपाली अलैंचीको ठूलो बजार भारत हो । भारतपछि नेपाली अलैंचीले पाकिस्तान सरकारको स्वीकृतिमा त्यहाँको बजारमा उपस्थिति जनाएको ३ वर्ष भएको छ ।
नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईका अनुसार नेपाली अलैंची पाकिस्तान पुग्न निकै समय लाग्छ । मूल्यको उतारचढावले त्यहाँभन्दा खाडी मुलुकमै राम्रो बजार रहेको उनले बताए । हलाल सर्टिफिकेट पाइसकेकाले खाडी मुलुकमा सोझै निर्यात गर्न लागिएको उनको भनाइ छ ।
नेपाली अलैंची ‘एभरेस्ट लार्ज कार्डामम’ ब्रान्ड नामबाट निकासी हुन्छ । सरकारले २०७३ असार १९ गते अन्तरराष्ट्रिय बजारमा नेपालकै नामबाट निर्यात होस् भनेर अलैंचीको ट्रेडमार्क बनाएको थियो । त्यसको ४ वर्षपछि पाकिस्तानले गतवर्ष नेपालीे ब्रान्डलाई स्वीकृति दियो । गतवर्ष ५ करोड मूल्यको ३७ दशमलव ५ मेट्रिक टन अलैंची पाकिस्तान निकासी भएको छ । नेपाली अलैंची पाकिस्तानमा रुचाइए पनि व्यापारिक प्रक्रिया लामो (४५ दिनको) हुने र त्यो बीचमा मूल्य तलमाथि हुँदा समस्या आउन थालेपछि व्यवसायीले खाडी मुलुकमा बजार खोज्न थालेका हुन् । कतारमा नेपाली अलैंचीले हलाल सर्टिफिकेट पाएकाले यसकै ट्रेडमार्कमा निर्यात हुनेछ ।
यसबाट खस्कँदै गएको अलैंचीको मूल्य माथि जाने अपेक्षा छ । हलाल सर्टिफिकेट कतारले आफ्नो मापदण्डअनुसार उत्पादन भएको वस्तुलाई दिने अर्ग्यानिक रजिस्टर हो ।
एभरेस्ट लार्ज कार्डाममलाई पाकिस्तानले दर्ता गरेपछि यसले त्यहाँ बजार पाएको हो । विश्वबजारमा नेपाली अलैंची अहिले पनि भारतीय उत्पादनका रूपमा विक्री हुँदै आएको अलैंची व्यवसायी महासंघका पूर्वअध्यक्ष राजकुमार कार्की बताउँछन् । नेपालको ९५ प्रतिशत अलैंची भारत जान्छ । भारतीय व्यवसायीको हातमा पुगेको नेपाली अलैंचीमा भारतीय उत्पादनको ट्याग लागेर खाडी मुलुक निर्यात हुँदै आएको छ ।
हलाल सर्टिफिकेट लिन अलैंची अर्ग्यानिक तरीकाले उत्पादन गर्नुपर्ने, गोडमेल गर्दा र टिप्दा हातमा पञ्जा लगाउनुपर्ने, उत्पादन हुने क्षेत्रमा सुँगुर पाल्न नहुनेलगायत मापदण्ड पूरा गर्नुपर्छ । यी मापदण्ड नेपाली किसानले पूरा गरेका छन् । मापदण्ड पूरा भएको अलैंची मात्र निर्यात हुन्छ । अध्यक्ष भट्टराईका अनुसार भारत, पाकिस्तान र यूएई नेपाली अलैंची बढी खपत हुने मुलुक हुन् । यी तीनओटै देशमा ट्रेडमार्कका लागि पठाइए पनि पाकिस्तानले पहिले स्वीकृति दिएको थियो । ट्रेडमार्क कार्यान्वयनपछि अलैंचीको उत्पादन, प्रशोधन नियमअनुसार गर्नुपर्छ ।
अलैंची तीनथरी गुणस्तरमा उत्पादन हुन्छ । पुच्छर काटिएको सबैभन्दा ठूलो अलैंचीलाई जेजे (जम्बोजेट), पुच्छर नभएको मध्यम खालको दानालाई एसटी (स्ट्यान्डर्ड क्वालिटी) र तेस्रो श्रेणीको पुच्छर भएको अलैंचीलाई (सीसी)मा वर्गीकरण गरिएको छ । वर्गीकरणअनुसार अलैंचीको मूल्यसमेत फरक छ । पहिलो श्रेणी जेजेको प्रतिकिलो मूल्य ८०० रुपैयाँ छ । दोस्रो श्रेणी एसटीको ६०० रुपैयाँ र तेस्रो श्रेणी सीसीको ५५० रुपैयाँ प्रतिकिलो पर्छ ।
महासंघका उपाध्यक्ष सुवास भट्टराईले नेपाली ट्रेडमार्कलाई मान्यता दिएका देशमा पहिचानसहितको गुणस्तरीय उत्पादन पठाउन पाउनु नै गर्वको विषय भएको बताए । नेपाली उत्पादन यसअघि भारतीय ब्रान्डमा विक्री भइरहेको थियो । अब विस्तारै नेपालकै ब्रान्डमा विक्री गर्न प्रयास भइरहेको उनले बताए । भारतमै अलैंची उत्पादन भइरहेकाले नेपाली अलैंचीको ट्रेडमार्कलाई भारतले स्वीकृति दिन आनकानी गरिरहेको उनले बताए । नेपाल सरकारले जारी गरेको ट्रेडमार्क र त्यसको नियम पालना गरेर निर्यात गर्ने कम्पनीले लोगो प्रयोग गरी उत्पादन निर्यात गरिरहेका छन् ।
आफ्नो उत्पादन आफ्नै नाममा निर्यात हुनु गर्वको विषय हुने र त्यसले मूल्यमा समेत सकारात्मक प्रभाव पार्ने व्यवसायी बताउँछन् । पहिचानसहित निर्यात गर्दा मन (४० केजी) मा १ देखि २ हजार रुपैयाँसम्म बढी पाइन्छ । उनी भन्छन्, ‘आफ्नै नाममा उत्पादन निर्यात हुने भएपछि सबैभन्दा बढी गुणस्तर सुधार गर्नुपर्छ । टिप्ने, सुकाउने र प्याकिङ गर्ने सबै विधि अब आधुनिक तरीकाको अपनाउनुपर्छ, परम्परागत प्रविधि छाड्नुपर्छ ।’
उत्पादन बढ्दा मूल्य ओरालो
नेपालमा पछिल्लो समय अलैंची उत्पादन गर्ने सानाठूला किसानको संख्या १ लाख पुगेको छ । नेपालमा वार्षिक ५ हजारदेखि ६ हजार मेट्रिक टन अलैंची उत्पादन हुन्छ । नेपाली अलैंचीको मूल्य भारतीय व्यापारीले त्यहाँ चलेको भाउको आधारमा तोक्छन् ।
यसपालि सिजनको शुरूमा ३५ हजार रुपैयाँ मनमा विक्री भएको अलैंचीको मूल्य अहिले २८ देखि ३० हजारमा झरेको छ । यसपटक गतवर्षभन्दा १ हजार ३ सय मेट्रिक टन बढी फलेकाले मूल्य तल झरेको महासंघका उपाध्यक्ष सुवास भट्टराईले बता
हलाल सर्टिफिकेट लिन अलैंची अर्ग्यानिक तरीकाले उत्पादन गर्नुपर्ने, गोडमेल गर्दा र टिप्दा हातमा पञ्जा लगाउनुपर्ने, उत्पादन हुने क्षेत्रमा सुँगुर पाल्न नहुनेलगायत मापदण्ड पूरा गर्नुपर्छ ।