ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ज्यामरुककोटमा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

२०७९ कात्तिक, १७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ स्थित ज्यामरुककोटका ऐतिहासिक सम्पदाको संरक्षण गर्दै पर्यटकीय गन्तव्य बनाउन भौतिक पूर्वाधार निर्माण शुरू भएको छ । ज्यामरुककोटमा रहेका ऐतिहासिक र पुरातात्त्विक महत्त्वको खड्गभवानी कोत परिसरका सम्पदाको संरक्षण गर्दै पर्यटन पूर्वाधार विस्तार गर्न लागिएको हो ।

समुद्री सतहबाट १ हजार ६४८ मिटर उचाइमा रहेको खड्गभवानी कोत करीब ६०० वर्ष पुरानो मानिन्छ । ज्यामरुककोटका ऐतिहासिक, पुरातात्त्विक र पर्यटकीय महत्त्वको बारेमा जानकारी लिने र आवश्यक पूर्वाधारका लागि सहयोग गर्ने उद्देश्यले म्याग्देली प्रवासी संघ (मोना) हङकङको एक टोलीले शनिवार स्थानीय जनप्रतिनिधि र खड्गभवानी कोत तथा गुठी व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गरेको छ ।

मोना हङकङका अध्यक्ष कर्णबहादुर पुनमगर, मोना हङकङका निवर्तमान अध्यक्ष इन्द्र एलजी थापामगर, ओमकुमारी शान्ति कोषका अध्यक्ष एवं म्याग्दीका पर्यटन अभियन्ता राजेश शाक्य लगायतको टोलीले ज्यामरुककोटका पुरातात्त्विक सम्पदालाई नचलाई पर्यटकीय पूर्वाधार निर्माणमा आफूहरूले संस्थागत र व्यक्तिगत रूपमा सक्दो सघाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

१५औं शताब्दी प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुककोट (खड्गभवानी कोत) परिसरलाई पर्यटन गन्तव्य बनाउन बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएको बेनी नगरपालिका–२ का अध्यक्ष यामबहादुर कार्कीले बताए ।

अध्यक्ष कार्कीका अनुसार यहाँ मल्लकालमा प्रयोग भएका दुर्लभ हातहतियार समेत छन् । नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा अघिल्लो आर्थिक वर्ष रू. २१ लाख लगानीमा मन्दिरसम्म पुग्ने ३५० मिटर पदमार्ग र रेलिङ निर्माण गरिएको छ ।

त्यसैगरी गत आर्थिक वर्षमा नगरपालिकाको ५ लाख र वडा कार्यालयबाट २ लाख रुपैयाँ बजेटबाट कोत परिसरमा २१० मिटर घेराबार, २०० मिटर बाटो ढलान, पटांगिनी निर्माण, नाग थान र मौलो राख्ने बेनी निर्माण गरिएको ज्यामरुककोट क्षेत्र विकास तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले जानकारी दिए ।

४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा, तरबारलगायत हातहतियार, प्राचीन शिला/इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अझै पनि यथावत् छन् । पूर्वाधार र प्रचारप्रसार अभावमा ओझेलमा रहेको ऐतिहासिक स्थलमा पछिल्लो समय वडा कार्यालयले देखाएको सक्रियता प्रशंसनीय रहेको मोना हङकङका निवर्तमान अध्यक्ष इन्द्र एलजी थापामगरले बताए ।

ज्यामरुककोटलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने क्रममा गलेश्वर र पञ्चकोट जोड्ने पदमार्ग निर्माणलाई समेत प्राथमिकता दिइएको वडाध्यक्ष कार्कीले बताए । ज्यामरुककोटबाट धवलागिरि, नीलगिरि, अन्नपूर्ण लगायत हिमशृंखला, सदरमुकाम बेनी बजार, पञ्चकोट र दर्जनौं ग्रामीण बस्ती अवलोकन गर्न सकिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)