ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिद्धबाबा सुरुङमार्ग : डिजाइन तयारीमा ढिलाइले निर्माण पछाडि धकेलिने !

२०७९ कात्तिक, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
प्रतीकात्मक तस्वीर ।
author avatar हिमा वि.क.

काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डको सिद्धबाबामा बनाइने सुरुङमार्ग निर्माणको जिम्मा पाएको ठेकेदार चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ कम्पनीले डिजाइन र ड्रइङको अन्तिम प्रतिवेदन बुझाउन ढिलाइ गरेको छ । उक्त सुरुङमार्ग डिजाइनको अन्तिम प्रतिवेदन बुझाउने अवधि सोमवार सकिए पनि उसले अझै काम जारी रहेको बताएको छ । 

कम्पनीले सुरुङमार्गको डिजाइन स्वीकृत गराउन पहिला उक्त प्रतिवेदन सडक विभागमा पेश गर्नुपर्छ । तर, निर्धारित समयमा कम्पनीले डिजाइन पेश नगरेपछि निर्माण शुरू गर्ने अवधि पछाडि धकेलिने आशंका विभागका अधिकारीले गर्न थालेका छन् । ठेक्का सम्झौता हुँदा नौ महीनामा डिजाइनको काम सकेर विभागबाट स्वीकृति लिने र त्यसपछि पुस अन्तिमदेखि काम शुरू गरिने तय भएको विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए ।

विभागले २०७८ जेठमा सुरुङमार्गको ग्लोबल टेन्डर आह्वान गरेको थियो । चिनियाँ कम्पनीले डिजाइनको काम भइरहेको बताएको थापाले जानकारी दिए । मध्य कात्तिकसम्ममा सुरुङमार्ग डिजाइनको अन्तिम प्रतिवेदन विभागमा पेश गर्ने तालिका थियो । कम्पनीले डिजाइन पेश गरेपछि विभागले स्वीकृत गर्ने र पुसदेखि निर्माण थाल्ने कार्यतालिका रहेको थापाले बताए । ‘निर्माण कम्पनीले अझै डिजाइन स्वीकृत गराएको छैन,’ थापाले भने, ‘प्रतिवेदन दिने समय त आजभोलि नै हो तर उनीहरूले अझै काम भइरहेको बताएका छन्, यस हिसाबले काम शुरू हुन केही ढिलो हुने हो कि भन्ने आशंका छ ।’

काम शुरू गर्ने समय आउन अझै तीन महीना बाँकी रहेकोले उनीहरूले दिएको डिजाइन, ड्रइङ स्वीकृत हुँदा समयमै निर्माण शुरू गर्न सकिने अपेक्षा थापाको छ । चाइना स्टेटले सुरुङ खन्ने सामान आयात गर्न सम्बन्धित निकायबाट अनुमति लिने काम भने शुरू गरिसकेको छ । सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने जनशक्ति ल्याउन भिसाको प्रक्रिया पनि कम्पनीले शुरू गरेको थापाले जानकारी दिए । यस हिसाबले कम्पनीले तोकिएको समयमै काम शुरू गर्नेमा आशावादी रहेको उनको भनाइ छ ।

बहुप्रतीक्षित काठमाडौं–तराई द्रुतमार्गको सुरुङ र विशेष पुल निर्माणको ठेक्का पनि यही कम्पनीले पाएको छ । पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको ठेक्का पनि यसैले पाएको छ । तर, यसमा तोकिएको समयमा काम सम्पन्न गर्न सकेको छैन । सिद्धबाबा सुरुङमार्ग बनाउने योजना आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा घोषणा गरिएको थियो । त्यति बेला सुरुङमार्ग सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँचवर्षे रणनीति बनाएको थियो । सामान्यतया सडक/राजमार्गको दूरी घटाउन सुरुङमार्ग बनाउने गरिन्छ । तर, यस खण्डमा दूरी घटाउनेभन्दा पनि वर्षेनि पहिरोबाट हुने जनधनको क्षति रोक्ने उद्देश्यले सुरुङमार्ग बनाउन लागिएको विभागका अधिकारीको भनाइ छ । निर्माण कम्पनीले पाँच वर्षभित्र सुरुङमार्ग बनाएर नेपाललाई हस्तान्तरण गर्नुपर्छ । ईपीसी मोडलमा ठेक्का भएकाले तोकिएकै समयमा सुरुङमार्ग बन्ने लगभग सुनिश्चित भएको अधिकारीहरू बताउँछन् । 

उक्त सुरुङमार्ग बनाउन अर्थ मन्त्रालयले १० अर्ब १५ करोड रुपैयाँ स्रोत सुनिश्चित गरिदिएको थियो । सिद्धबाबा सुरुङमार्ग बनाउन ७ अर्ब ३५ करोड रुपैयाँ लाग्नेछ । सो सुरुङमार्गमा चिडियाखोला आयोजना क्षेत्र रहे पनि सुरुङ भने माथिल्लो सिद्धबाबाबाट शुरू हुनेछ । त्यसभन्दा अगाडि चिडियाखोलादेखि माथिल्लो सिद्धबाबासम्म ९०० मीटर र सुरुङमार्गको अर्को भागको ५०० मीटरलाई दुई लेनमा स्तरोन्नति गरिनेछ । सुरुङमार्गको दूरी १ किलोमीटर १२६ मीटरको हुनेछ ।

यसैगरी आयोजनामा सुरुङमार्ग नपुग्ने स्थान अर्थात् ढुंगा झर्न नदिन रक फल प्रविधिको प्रयोग गरिनेछ । पहिरोका कारण ढुंगा झर्दा उक्त खण्ड भएर यात्रा गर्नेहरू उच्च जोखिममा पर्दै आएकाले जनधनको क्षति रोक्न पनि सुरुङमार्गको विकल्प नभएको विभागले उल्लेख गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)