ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चर्को व्याजदर विरुद्ध देशभर विरोध : चितवनका व्यवसायीले पनि घोषणा गरे चरणबद्ध आन्दोलन

२०७९ कात्तिक, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाईल फोटो
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । बैंक तथा वित्तिय संस्थाद्धारा चर्को व्याजदर वृद्धि गरिएको भन्दै चितवनका व्यवसायीहरूले संयुक्त रुपमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । यस अघि सुर्खेत, वीरगञ्ज, विराटनगर लगायतका क्षेत्रका उद्योगी व्यवसायीले पनि आन्दोलनका विभिन्न कार्यक्रम गरिसकेका छन् ।

चर्को ब्याजदरविरुद्ध रत्ननगर उद्योग वाणिज्य संघ, खैरहनी, उद्योग वाणिज्य संघ चितवन र राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष एवम् पदाधिकारीहरूको बिहीवार बसेको एक वैठकले चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

बैठकले यहि मंसीर २० गते बैंकर्ससँग छलफल गर्ने, २१ गते संयुक्त पत्रकार सम्मेलन गर्ने, २२ र २३ गते रत्ननर, खैरहनी र राप्तीमा शान्तिपूर्ण विरोध र्‍याली आयोजना गर्ने, र २४ गते भरतपुरमा वृहत शान्तिपूर्ण विरोध र्‍यालीको आयोजना गर्ने निर्णय गरेको संघले जानकारी दिएको छ ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले नेपाल राष्ट्र बैंकले लागू गरेको चालु पूंँजी कर्जा मार्गनिर्देशन र सोही मार्गनिर्देशनको आडमा वर्तमान आर्थिक मन्दीको अवस्थामा बैंक तथा वित्तिय संस्थाहरूले मनोमानी रुपमा गरेको व्याजदर वृद्धिका कारण व्यवसायिक समुदाय थला परेकोले आन्दोलन गर्न बाध्य भएको बताए ।

चर्को ब्याजदर विरुद्ध समय समयमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित निकायमा ध्यानाकर्षण गरिएपनि माग सम्बोधन नभएकोले आन्दोलनका कार्यक्रम तय गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ  ।

‘मुलुकको कुल ग्राहस्थ उत्पादन र रोजगार सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको निजी क्षेत्रमाथि समय–समयमा थपिने आर्थिक भार, नेपाल सरकारबाट लागू गरिने आर्थिक नीति तथा औद्योगिक एवम् व्यवसायिक विकास प्रतिकुलका प्रावधानहरूले निजी क्षेत्र धरासायी बनेकोले आन्दोलनका कार्यक्रमहरु गर्न लागिएकोे हो।’ उनले भने ।

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउंँदै आयात प्रतिस्थापनका लागि संघर्षरत निजी क्षेत्रलाई अवैज्ञानिक रुपमा बृद्धि गरिएको व्याजदरले उद्योग व्यवसायनै बन्द गरी विस्थापित हुनुपर्ने वाध्यात्मक परिस्थिति सिर्जना गरिएको उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठले बताए ।

वैठकले नेपाल उद्योग वाणिज्य महासंघलाई पनि विरोधका कार्यक्रम आयोजना गर्न दबाब दिने निर्णय गरेको उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।

संयुक्त वैठकमा उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, उपाध्यक्ष चिरञ्जिवी सुवेदी, राजेन्द्र ओली, रत्ननगर उवासंघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शंकरी गिरि, खैरहनी उवासंघका अध्यक्ष दिपेन श्रेष्ठ, राप्ती उवासंघका वरिष्ठ उपाध्यक्ष मार्कन्ड गौतम लगायतका नेतृत्व तहका व्यवसायीहरुको सहभागीता  रहेको थियो ।

माग सम्बोधन नभएमा सशक्त आन्दोलन गर्ने चेतावनी समेत व्यवसायीले दिएका छन  ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)