ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशीलाई व्यावसायिक भिसामा कडाइ

२०७९ कात्तिक, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । सरकारले व्यावसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्रै विदेशी लगानी स्वीकृत गराउनेमाथि कडाइ गर्ने भएको छ । नेपालमा उद्योगधन्दा खोल्ने भनेर उद्योग विभागबाट लगानी स्वीकृत गराई व्यावसायिक भिसा लिने तर लगानी नगर्नेहरूलाई निरुत्साहित गर्न व्यावसायिक भिसा सिफारिशमा कडाइ गर्न लागिएको हो ।

उद्योग विभागले व्यावसायिक भिसा सिफारिशलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै भिसा सिफारिशमा केही नयाँ व्यवस्था गरेको छ । यसले व्यावसायिक भिसालाई वास्तविक लगानीसँग आबद्ध गर्न सकिने विभागका महानिर्देशक रामचन्द्र तिवारी बताउँछन् । कतिपय विदेशी नागरिकमा नेपालमा वास्तविक लगानी गर्नु नभई केही समय बसोवास गर्ने र भिसाको म्याद सकेर गन्तव्यमा फर्किने मनसाय देखिएको उनको भनाइ छ ।

विभागबाट स्वीकृत विदेशी लगानीको ग्राफ बढ्ने तर वास्तवमा लगानी नआउने अवस्थालाई निरुत्साहित गर्ने विभागको तयारी छ । विभागले यस्तो भिसा सिफारिशका सम्बन्धमा बिहीवार निकालेको सूचनामा भनिएको छ, ‘केही विदेशीले व्यावसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्र विदेशी लगानी स्वीकृत गराउने र त्यसपश्चात् कम्पनी, उद्योग तथा कर कार्यालयमा दर्ता नगर्ने र विदेशी लगानीसमेत नभित्र्याउने गरेको पाइएको छ ।’

व्यावसायिक भिसा प्राप्त गरेका विदेशी नागरिक भिसाको उद्देश्यविपरीतका गतिविधिमा संलग्नसमेत हुन सक्ने विभागको अनुमान छ । यस्ता गतिविधि रोक्न भिसा सिफारिशलाई व्यवस्थित बनाइएको महानिर्देशक तिवारीले बताए । विभागले यो व्यवस्था शुक्रवारदेखि नै लागू हुने सूचनामा उल्लेख गरेको छ । सोअनुसार कात्तिक १८ गतेदेखि नै भिसा सिफारिशका व्यवस्था लागू भएका छन् ।

विभागले लगानी स्वीकृत भएपछि पहिलोपटक ३ महीनाका लागि व्यावसायिक भिसा सिफारिश माग्दा अनिवार्य रूपमा कम्पनी दर्ता प्रमाणपत्र पेश गर्नुपर्ने शर्त राखेको छ । लगानीकर्ताले कम्पनी दर्ताको प्रमाणपत्र पेश गरेपछि मात्रै विभागले थप ३ महीनाको व्यावसायिक भिसा सिफारिश गर्नेछ । त्यसपछि कर कार्यालयमा दर्ता गरेको, बैंक खाता खोलेको र उद्योग दर्ता गरेको वा उद्योग दर्ताका लागि आवेदन दर्ता गरेको प्रगति विवरण पेश गर्नुपर्ने विभागले उल्लेख गरेको छ ।

विभागबाट लगानी स्वीकृत गराएका विदेशीले व्यावसायिक भिसाको अवधि थप गर्न अब यी प्रक्रिया तथा चरण पूरा गर्नुपर्ने हुन्छ । विभागले यसअघि यस्तो व्यवस्था गरेको थिएन ।

यसैगरी उद्योग दर्ता भएको प्रमाणपत्र विदेशी लगानीकर्ताले पेश गरेपछि भने ६ महीनाको भिसा विभागले सिफारिश गर्नेछ । उद्योग दर्ता भएको र प्रगति विवरण सन्तोषजनक भएमा थप ३ महीनाका लागि व्यावसायिक भिसा सिफारिश गर्ने व्यवस्था विभागले गरेको छ । तर, यसका लागि शर्त राखेको छ । उक्त अवधिमा उद्योग दर्ता गरी विदेशी लगानी भित्र्याउने प्रक्रिया शुरू गरेमा मात्रै विदेशी लगानीकर्ताले यो सुविधा पाउनेछन् ।

विभागले साविकमा विदेशी लगानी स्वीकृत गराई लगानीकर्ताकै रूपमा व्यावसायिक भिसामा रहेकाको नयाँ विदेशी लगानी भने स्वीकृत गर्नेछ । तर, प्रस्तावित विदेशी लगानी नभित्र्याएसम्म नयाँ लगानीको आधारमा मात्रै पुन: व्यावसायिक भिसा सिफारिश नगर्ने नीति विभागको छ । महानिर्देशक तिवारीले यी प्रावधानले विदेशी लगानीकर्तालाई कुनै अप्ठ्यारो पारेमा सहजीकरण गरिने स्पष्ट पारे ।

‘विगतका तथ्यांक हेर्दा स्वीकृत भएकोमध्ये ३० प्रतिशत हाराहारीमा मात्रै वास्तविक विदेशी लगानी आउने गरेको छ,’ तिवारीले भने, ‘तर, पछिल्ला केही वर्षको तथ्यांक हेर्दा भने स्वीकृत रकममध्ये करीब ५० प्रतिशतसम्म लगानी नेपालमा भित्रिएको देखिन्छ ।’ यो आँकडालाई थप बढाउन र स्वीकृत रकमलाई वास्तविक लगानीसँग जोड्न व्यावसायिक भिसा सिफारिशका लागि शर्तहरू राखिएको उनको भनाइ छ ।

व्यावसायिक भिसा मात्रै लिने तर लगानी नगर्ने प्रवृत्ति देखिएको भन्दै उनले थपे, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले नक्कली (फर्जी) लगानीकर्ताको कल्पना गरेको छैन, भिसामात्रै लिने लगानीकर्तालाई अब निरुत्साहित गरिनेछ ।’

३ महीनामा ८६ उद्योग दर्ता, ८७ अर्ब लगानी प्रस्ताव
 चालू आर्थिक वर्ष २०७९/८० को पहिलो ३ महीनामा स्वदेशी तथा विदेशी लगानीका कुल ८६ ओटा उद्योग दर्ता भएका छन् । ती उद्योगहरूमा कुल ८७ अर्ब ८५ करोड रुपैयाँ लगानी प्रस्ताव भएको छ । उद्योग विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार ३ महीनाको कुल लगानी प्रस्तावमा २ अर्ब २४ करोड रुपैयाँ विदेशी रहेको छ । यो अवधिमा १९ ओटा विदेशी लगानीका उद्योग दर्ता भएका छन् ।

पहिलो ३ महीनामा लगानी प्रस्ताव भएका उद्योग सञ्चालनमा आए ५ हजार ९३५ जनाले रोजगारी पाउनेछन् । विदेशी लगानीका लागि प्रस्तावित उद्योगले १ हजार ४३ जनालाई रोजगारीको अवसर सृजना गर्ने विभागले बताएको छ । यो अवधिमा दर्ता हुनेमा सबैभन्दा धेरै मझौला उद्योग छन् । उक्त अवधिमा मझौला ३१, साना २९ र ठूला २६ उद्योग दर्ता भएका छन् । यो अवधिमा ९३१ ओटा ट्रेडमार्क दर्ता भएको विभागले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)