ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चुनावमा विदेश जानेको लर्काे : दैनिक २ हजार २४६ जनाले छाड्छन् देश !

२०७९ कात्तिक, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
author avatar प्रतिक्षा कडेल

काठमाडौं । कैलाली, घोडाघोडी नगरपालिका–५, देउकलियाका २२ वर्षीय केशव भण्डारी आज मलेसिया जाँदैछन् । उनी हाउस किपिङको काम गर्न मलेसिया जान लागेका हुन् । 

भण्डारी मात्रै होइनन्, अहिले दैनिक २ हजारभन्दा बढी मानिस रोजगारीका लागि विदेश गइरहेका छन् । चुनाव नजिकिँदा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको छैन । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । 

चुनाव आउन दुई साताभन्दा कम समय बाँकी रहँदा विदेश जान लागेका अर्का युवक हुन्, दार्चुला, नौगाड गाउँपालिका–४, होपरीका २८ वर्षीय जीवन महता । उनी पनि हाउस किपिङकै कामका लागि भाेलि मलेसिया जाँदैछन् ।  

वैदेशिक रोजगारीमा जान लागेका कामदार परिवारको दैनिक खर्च जुटाउनका लागि विदेश जानुपरेको बाध्यता सुनाउँछन् । वैदेशिक रोजगारीमा जान लागेका महताले भिसा आएपछि आज मलेसिया जान लागेको बताए । ‘चुनाव भनेर घर बसेर के गर्ने ?’ उनी दुखेसो पोखे, ‘यसले खान दिँदैन । घरखर्च त आफैले जुटाउनुपर्छ ।’ 

वैदेशिक रोजगारीमा मलेसिया जान लागेका अर्का युवा भण्डारीको पनि यस्तै दुखेसो छ । सरकारले देशमै स्वरोजगार सिर्जना गर्न नसक्दा युवाहरूले विदेश जानुपर्ने बाध्यता भएको उनीहरूको दुखेसो छ । 

अहिले दैनिक २ हजार २४६ जना रोजगारीका लागि विदेशिने गरेका छन् । यो संख्या चालू आर्थिक वर्ष (आव)को पहिलो तीन महीनामा श्रम स्वीकृति लिएका कामदारको संख्याका आधारमा निकालिएको हो । 

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासमा पछिल्लो तीन महिनामा २ लाख २ हजार १४८ जनाले श्रम स्वीकृति लिएका छन् । यो संख्या गत आवको सोही अवधिको तुलनामा ४९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १ लाख १ हजार १३९ जनाले श्रम स्वीकृति लिएका थिए । 

विभागका अनुसार चालू आवको पहिलो तीन महीनामा मलेशियाका लागि श्रम स्वीकृति लिने धेरै छन् । उक्त अवधिमा ८६ हजार ९१८ जनाले श्रम स्वीकृति लिएका छन् । यो संख्या सबैभन्दा धेरै श्रम स्वीकृति लिने सूचीमा दोस्रो, तेस्रो र चौथो देशको संख्या भन्दा बढी हो ।

विभागका अनुसार चालू आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै श्रम स्वीकृति लिने सूचीमा दोस्रो, तेस्रो र चौथोमा क्रमशल् कतार, साउदी अरब र युएई छन् । साे अवधिमा कतारका लागि ३४ हजार १८८, साउदीको लागि २४ हजार ३५० र युएईका लागि २१ हजार ४६० जनाले श्रम स्वीकृति लिएकाे विभगाले जनाएकाे छ ।  

सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्न नसक्दा युवा विदेशिन बाध्य हुनुपरेको श्रम आप्रवासन विज्ञ सोम लुइँटेल बताउँछन् । सरकारले विदेशिने युवालाई रोक्न प्रभावकारी काम नगरेको उनको भनाइ छ । 

सरकारी अधिकारीहरू भने स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न विभिन्न कार्यक्रम सञ्चालन भइरहेको दाबी गर्छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)