काठमाडौं । नेपालमा व्यवसाय गर्न अवसर र वातावरण छैन भन्नेहरूको घोर विरोधी हुन्– गोल्यान ग्रूपका अध्यक्ष पवन गोल्यान । उनले नेपालमा अवसर र वातावरण देखेरै हङकङको राम्रो व्यापार छाडेर आएका बुबा सोहनलालको पदचाप पछ्याइरहेका छन् ।
विभिन्न आरोहअवरोह पार गरेर आजको अवस्थामा आइपुगेको गोल्यान ग्रूपले झन्डै ७० वर्षअघि सोहनलालले नेपालमा देखेको अवसरलाई ‘क्यास’ गर्न अहिले व्यावसायिक योजनाका साथ काम गरिरहेको छ । १४ वर्षको उमेरमै बुबा गुमाएका पवनका लागि पारिवारिक विरासत अगाडि लैजानु कम्ती चुनौती थिएन । तर, उनले हिम्मत हारेनन् । अहिले त्यही पारिवारिक विरासतको रूपमा रहेको उनको यो व्यवसाय मुलुककै प्रतिष्ठित व्यापारिक घरानाका रूपमा उदाएको छ ।
नेपालमा अवसर र सम्भावना देखेर आएका बुबा सोहनलालले मोरङमा कपडाको व्यापार शुरू गरेका थिए । आज छोरा पवनले कपडालाई पायोनियर बिजनेशको रूपमा अगाडि बढाउँदै व्यवसायलाई विविधीकरण गरिरहेका छन् । अहिले गोल्यान ग्रूपको बिजनेस तेस्रो पुस्ताले सम्हाल्न थालिसकेको छ । बुबाले शुरू गरेको बिजनेशको बिँडो दोस्रो पुस्ता पवन, वासुदेव, शक्ति, लतिका हुँदै तेस्रो पुस्ता अनन्त र अक्षयसम्म आइपुगेको छ ।
गोल्यान समूहले रियल इस्टेटमा वेस्टार प्रोपर्टिज, द रेसिडेन्स, हस्पिटालिटीमा हायात प्लेस होटेल, बैंकिङमा एनएमबी बैंक र एनआईसी एशिया बैंक, बीमामा नेपाल लाइफ र एशियन लाइफ इन्स्योरेन्समा लगानी गरेको छ । यसले उत्पादनमूलक क्षेत्रअन्तर्गत रिलायन्स स्पिनिङ मिल, ट्रिकट इन्डस्ट्रिज, शिवम् प्लास्टिक इन्डस्ट्रिज, धनलक्ष्मी सिन्थेटिक, हिमाली पश्मिना उद्योगमा लगानी गरेको छ । ऊर्जामा ४६ मेगावाटको अपर बलेफी हाइड्रो, ३६ मेगावाटको बलेफी, २५ मेगावाटको भोटेकोशी खोला र ९७ मेगावाटको केएनबीआर इस्वा हाइड्रोपावरमा लगानी छ । सोही समूहले नेपालगञ्जमा २० मेगावाट क्षमताको सौर्य ऊर्जामा पनि लगानी गरिसकेको छ ।
गोल्यान ग्रूपअन्तर्गतका कम्पनीमा ५ हजारभन्दा बढीले रोजगारी पाएका छन् । ग्रूपपले अहिले चारओटा क्षेत्रलाई केन्द्रमा राखेर काम गरिरहेको छ । तिनमा सौर्य ऊर्जा, जलविद्युत्, होटेल तथा पर्यटन र उत्पादन छन् । पवनका अनुसार गोल्यान ग्रूपले दिगो लगानीले दीर्घकालसम्म प्रतिफल दिने भएकाले ट्रेडिङ (व्यापार) लाई कहिल्यै प्राथमिकतामा राखेन । पवन भन्छन्, ‘ट्रेडिङले छोटो समयमा नाफा त कमाउन सकिएला, धन आर्जन पनि होला तर देशलाई हित गर्छ जस्तो मलाई लाग्दैन ।’
उक्त ग्रूपले पछिल्लो चरणमा सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत कृषिमा जोड दिइरहेको छ । लगानीलाई विविधीकरण गरिरहेको गोल्यान ग्र्र्रूपले ‘फ्युचर बिजनेश’मा पनि आफूलाई खरो रूपमा उतारिसकेको छ ।
पवन ६३/६४ वर्षको उमेरमा पनि सक्रिय छन् । तर, उनको काम गर्ने तौरतरीका अरूभन्दा फरक छ । जीवनको उत्तरार्द्धमा देशका लागि केही गरौं भन्ने उद्देश्य रहेछ, उनको । त्यसैले कृषि क्रान्तिमा होमिएको उनको भनाइ छ । पवनको उद्देश्य सीएसआरअन्तर्गत १ हजार करोड रुपैयाँ लगानीमा कृषिमा आधारित कम्पनी बनाएर काम गर्ने रहेछ । यसका लागि योजनाका साथ काम भइरहेको उनले सुनाए । गोल्यान ग्रूपको अबको लक्ष्य भनेको कृषिमै रहेछ । त्यसका लागि उनले अहिले पूर्वी भेगमा चक्लाबन्दीमा आधारित कृषि फार्म सञ्चालन गरिरहेका छन् । नेपाली उत्पादनलाई माया गरेमात्रै पनि देशको मुहार फेरिने भन्दै पवनले यसो भएमात्र कृषकको अनुहारमा खुशीयाली छाउने बताए ।
नेपाल कृषिप्रधान देश भए पनि वार्षिक ४ खर्ब रुपैयाँको कृषिजन्य सामग्री आयात हुनु साँच्चिकै विडम्बना रहेको उनको भनाइ छ । उनले कृषिमा सरकारको लगानी खेर गइरहेको पनि बताए । पवनले भने, ‘कृषिमा बढी समस्या र चुनौती छ भनेर धेरै हल्ला भयो तर यसमा छिर्दा थाहा भयो कृषिबाट धेरै गर्न सकिने रहेछ ।’ त्यसैले सामाजिक र व्यावसायिक रूपमा नै कृषिलाई अघि बढाउने गरी लागेको उनले बताए । उनका अनुसार नेपालीले स्वदेशी उत्पादन लगाउने र खानेमात्र गरे पनि अर्थतन्त्रमा ठूलो टेवा पुग्छ । उनले भने, ‘हामी नेपालीले उत्पादन गरेको स्याउ र किवी खाँदैनौं तर विदेशीले उत्पादन गरेको टिलिक्क टल्किएको स्याउ र किवी किनेर खान्छौं, यस्तो विडम्बनापूर्ण स्थितिलाई मैले आजसम्म बुझ्न सकेको छैन ।’
पारिवारिक विरासतका रूपमा ६५ वर्षअघि स्थापना भएको रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिमार्फत सर्वसाधारणका लागि शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले गत असार ३१ गते नै नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । कम्पनीले बोर्डबाट स्वीकृति पाउनेबित्तिकै आईपीओ निष्कासन हुनेछ । नेपालमै सबैभन्दा पहिला बुक विल्डिङ विधिमार्फत सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने यही कम्पनी हुने उनको भनाइ छ ।
गोल्यान ग्रूपअन्तर्गतकै सिटी होटेल लिमिटेडले पनि आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । उक्त कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ करोड ७४ लाख बराबरको शेयर निष्कासन गर्नेछ । यो कम्पनी पनि शेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृतिको पर्खाइमा छ । उक्त कम्पनीले काठमाडौंको सोल्टीमोडमा पाँचतारे होटेल हायात प्यालेस सञ्चालन गरिरहेको छ ।
अध्यक्ष गोल्यानका अनुसार प्राथमिकताका आधारमा ग्रूपअन्तर्गतका सबै कम्पनीलाई आईपीओमा लैजाने लक्ष्य छ ।