ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतीय चोकर आयात बढ्याे, सस्ताे मूल्यमा कम गुणस्तरकाे भित्रिँदै !

२०७९ कात्तिक, २७  
समाचार उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । गत आर्थिक वर्षको पहिलो तीन महीनाको तुलनामा चालू आर्थिक वर्षको तीन महीनामा विराटनगर भन्सार नाकाबाट हुने भारतीय चोकर आयात ह्वात्तै बढेको छ । भारतबाट सस्तो मूल्यमा आएको कम गुणस्तरीय चोकरका कारण स्वदेशी उद्योगको उत्पादन विक्री हुन छाडेको सम्बद्ध व्यवसायी बताउँछन् । 

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाका अनुसार आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महीनामा भारतबाट १ करोड ४३ लाख रुपैयाँभन्दा बढीको ७ सय ९३ मेट्रिक टन चोकर आयात भएको तथ्यांक छ । चालू आर्थिक वर्ष २०७९/८० को तीन महीनामा ४ करोड ९३ लाख रुपैयाँ बराबरको १ हजार ८ सय ५९ मेट्रिक टन चोकर आयात भएको छ । अघिल्लो आर्थिक वर्षभरिमा १२ करोड ७८ लाख रुपैयाँभन्दा बढीको ६ हजार १ सय ४१ मेट्रिक टन चोकर आयात भएको थियो । 

नेपालमा ३२ मैदा मिल छन् । गहुँ नभएर ६० प्रतिशत उत्पादन कटौती गरेका मैदा मिलले चोकर विक्री नभएपछि अर्काे संकटको सामना गर्नुपरेको सम्बद्ध उद्योगीको गुनासो छ । भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाएपछि कच्चा पदार्थ अभावमा नेपालका उद्योगहरूले उत्पादन कटौती गरेका हुन् । 

भन्सारले चोकरको मूल्य भारु १० लाई आधारमा मानेर शुल्क लिन्छ । उक्त मूल्यमा तोकिएको शुल्क तिरेर आयात गर्ने अनुमति दिएपछि नेपाली बजारमा भारतीय सस्तो चोकरको प्रभाव बढेको व्यवसायीको भनाइ छ । यसले चोकर उत्पादन गर्ने ३२ ओटा मैदा उद्योगलाई समस्या भएको उनीहरू बताउँछन् । 

भारतमै चोकरको मूल्य किलोको ३० रुपैयाँ भारु रहेकाले सोहीअनुसार भन्सार मूल्यांकन बढाउन नेपाल फ्लोर मिल एशोसिएशनले भन्सार विभागको ध्यानाकर्षण गराएको छ ।

कम भन्सार मूल्यांकन भएर चोकर आयात हुन थालेपछि यहाँको उत्पादन विक्री हुन छाडेकाले विभागको ध्यानाकर्षण गराएको एशोसिएशनका महासचिव राधेश्याम अग्रवालले बताए । मोरङ व्यापार संघका उपाध्यक्ष तथा नेपाल फ्लोर मिल एशोसिएशनका केन्द्रीय सचिव विकास बेगवानीले भारतीय बजारमा पाइने मूल्यभन्दा कम मूल्यमा भन्सारबाट चोकर आयात हुन थालेपछि नेपाली उद्योगको उत्पादन विक्री नभएको बताए ।

भारतबाट गहुँ ल्याउन नपाएपछि कच्चा पदार्थ अभावमा उद्योग सञ्चालनमा समस्या झेलिरहेको बेला सस्तो चोकर आयातले मैदा मिलमा ताला लाग्ने अवस्था आएको बेगवानीले बताए । 

बाबा फ्लोर मिलका सञ्चालक भावेश राठीले चोकरमा मात्र नभएर आँटा र मैदामा समेत भन्सार मूल्यांकन बढाउनुपर्ने बताए । भारतले गहुँ निकासीमा लगाएको प्रतिबन्ध नेपालको हकमा लागू नहुने पहल गर्न सरकारले नसक्दा नेपालमा गहुँको भाउ बढेर किलोको ५४ रुपैयाँ पुगेको र चोरीको बाटो भएर आँटा र मैदा भित्रिरहेको उनले बताए । सरकारले चोकर, मैदा र आँटाको भन्सार मूल्यांकन बढाएर भारतबाट गहुँ आयात हुने वातावरण मिलाएमात्र यहाँका उद्योग बाँच्न सक्ने राठीले बताए । 

विराटनगर भन्सारका प्रमुख ताराप्रसाद सापकोटाले आर्थिक ऐन २०५८ र भन्सार ऐन २०६४ ले पहिलो भन्सार अधिकृत र कर अधिकृत व्यवसायी आफै हो भनेकाले उनीहरूले ल्याएको बिललगायत कागजातका आधारमा मूल्यांकन गरिएको बताए । 

नेपालमा गहुँको मूल्य बढेसँगै चोकरको मूल्य पनि प्रतिकिलो ४९ रुपैयाँ पुगेको छ । भारतबाट गहुँ आयात नहुँदा गाईवस्तुलाई दानाको रूपमा खुवाइने चोकरको समेत मूल्य बढेको हो । नेपालमा मूल्य बढेको फाइदा उठाउँदै भारतबाट किलोको ४३ रुपैयाँमा कम गुणस्तरको चोकर आयात हुन थालेपछि उद्योगीसँगै किसानसमेत चिन्तित हुन थालेका छन् । 

विराटनगर–४, खार्जीका किसान रमेश खतिवडाले भारतबाट आएको सस्तो चोकर किनेर गाईलाई खुवाउँदा नेपालमा उत्पादित जसरी गाईले नखाएको बताए । दुइटा गाई पालेर दैनिक २० लिटर दूध विक्री गर्दै आएका खतिवडाले भारतबाट आएको चोकरमा अन्य वस्तुको भुससमेत मिश्रण भएको कारण कम गुणस्तरीय रहेकोले परीक्षण गरेर मात्र आयात गर्न दिनुपर्ने सुझाए । भारतबाट आयात भएको चोकरले दूधसमेत घटाएको उनको भनाइ छ ।

‘दूध नै घटेपछि अचेल नेपालमै उत्पादन भएको चोकर खुवाउन थालेको छु,’ उनले भने । विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा ७५ लाख मूल्यको ४ सय ४० मेट्रिक टन चोकर नेपाल भित्रिएको थियो ।  आर्थिक वर्ष २०७७/७८ मा बढेर १ करोड ८८ लाखभन्दा बढीको १ हजार २ सय ४ मेट्रिक टन आयात भएको देखिन्छ । गत आर्थिक वर्ष २०७८/७९ मा १२ करोड ७८ लाख रुपैयाँ बराबरको ६ हजार १ सय ४१ मेट्रिक टन चोकर आयात भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)