ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

संसदीय निर्वाचनमा वडाध्यक्षका जस्ता एजेण्डा

२०७९ कात्तिक, २८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको चहलपहल बढेको छ । ५ वर्षका लागि जनताले आफ्ना प्रतिनिधि छानेर प्रदेशसभा र संघीय संसद्मा पठाउने भएकाले पनि यसको चहलपहल बढेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै संघ, प्रदेश र स्थानीय सरकारका क्षेत्र, काम, कर्तव्य र अधिकार तोकिएको छ । तर, निर्वाचन जितेपछि सांसद बनेर देशको सुशासन र विकासलाई उचाइमा पुर्‍याउनुपर्ने उम्मेदवारहरूले उठाएका एजेण्डा भने स्थानीय निर्वाचनका लागि वडाध्यक्षले उठाउने एजेण्डा जस्ता छन् ।

विशेषगरी संघीय कानून बनाउने, सरकारलाई सचेत गराउने र संघीय बजेट निर्माण, संसदीय सुनुवाइलगायतमा सहभागी हुने काम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको हो । तर दुवै सभाका उम्मेदवारहरूले ग्रामीण सडक, आमा समूह र युवा क्लब, पर्यटन, शिक्षा, पदमार्ग, विद्युत्, सडक, स्वास्थ्यलगायतका भौतिक संरचना बनाउने आश्वासन दिइरहेका छन् ।

प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुईओटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका तर्फबाट हरिकृष्ण श्रेष्ठ र सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खमबहादुर गर्बुजा चुनावी प्रतिस्पर्धामा छन् । त्यसैगरी प्रदेश सभा (क)मा नेकपा एमालेका तर्फबाट जिल्ला अध्यक्षसमेत रहेका देवेन्द्रबहादुर केसी र सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा माओवादीका हरि भण्डारीबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रदेश (ख)मा नेकपा एमालेको तर्फबाट यामबहादुर गर्बुजा र सत्तारूढ गबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सुविन जुग्जाली प्रतिस्पर्धामा छन् । तर सबै उम्मेदवार स्थानीय तहले गर्ने विकास, निर्माणसँग जोडिएका सामान्य चुनावी एजेण्डा लिएर घरदैलो गरिरहेका छन् ।

उम्मेदवारका पार्टी र चुनाव चिह्न मात्र फरक भएको, तर सबै उम्मेदवारका घोषणापत्रमा खासै भिन्नता नभएको मतदाता बताउँछन् । ‘राजनीतिक दलहरूका घोषणापत्रमा केही फरक छैन । नयाँ एजेन्डा केही देखिँदैन,’ बेनी नगरपालिका–२ सानालेखका नारायण शर्माले भने, ‘स्थानीय तहले गर्ने काम के हो र संघीय संसद्ले गर्ने के हो भन्ने सामान्य ज्ञान पनि उम्मेदवारसँग नभएको देखियो ।’

सिँचाइ कुलो, तटबन्ध निर्माण, गोरेटो बाटो मर्मत, सिलाइकटाइजस्ता स्थानीय तहले गर्ने कामभन्दा माथि प्रतिनिधिसभाका उम्मेदवार उठ्न नसकेको उनको भनाइ छ । ‘वडाध्यक्षको चुनाव लड्दै छु कि संघीय संसद्मा जाँदै छु भन्ने उम्मेदवार आफैले थाहा नपाएको हो कि जस्तो लाग्छ,’ शर्माले भने ।  

पाका मतदाता भवेन्द्रविक्रम शाह पनि प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका घोषणापत्र र प्रतिबद्धतासँग सन्तुष्ट छैनन् । गाउँका सोझासाझा जनताले उम्मेदवारले आफ्ना आवश्यकताको बारेमा बोलेको भन्दै मख्ख पर्ने गरेका भए पनि बुझेका र सचेत मतदाताले उम्मेदवाहरूका यी प्रतिबद्धताहरूप्रति कटाक्ष प्रकट गर्ने गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)