पर्वत । पर्वतको कुश्मामा जिपलाइन सञ्चालन गर्दै आएको हार्नेस जिपलाइन कम्पनीले कालीगण्डकी नदीमा जलयात्रा (र्याफ्टिङ) पनि सञ्चालन गर्ने भएको छ । परीक्षण गरिसकेको कम्पनीले केही दिनभित्रै व्यावसायिक रूपमा र्याफ्टिङ सेवा शुरू गर्ने तयारी गरेको हो । कम्पनीका अध्यक्ष विदुर पौडेलले साहसिक खेलमा ख्याति कमाएको पर्वतमा आफ्नो कम्पनीले र्याफ्टिङ पनि सञ्चालन गर्ने बताए ।
पर्वतको नयाँ पुलबाट स्याङ्जाको मिर्मीसम्म लामो दूरीको र नयाँ पुलबाट साउनेबगरसम्म छोटो दूरीमा र्याफ्टिङ सञ्चालन गरिने जानकारी पौडेलले दिए । यसअघि केही कम्पनीले कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन गर्दै आए पनि नियमित हुन सकेको थिएन । आफ्नो कम्पनीले अब हिउँदको समयमा नियमित र्याफ्टिङ सञ्चालन गर्ने उनले बताए ।
बन्जी जम्प, जिपलाइन, स्काइ साइक्लिङ, स्काई चेयर, स्वीङ, रक क्लाइम्बिङ लगायत साहसिक खेल सञ्चालनमा रहेको पर्वतमा र्याफ्टिङ पनि थपिएपछि पर्यटक थप आकर्षित हुने अपेक्षा गरिएको छ ।
हार्नेस जिपलाइनका सञ्चालक सुनिल बानियाँले जलयात्राका लागि प्रख्यात कालीगण्डकी नदीमा अब नेपाली र विदेशीले आफ्नो कम्पनीमार्फत जलयात्राको मनोरञ्जन लिन पाउने बताए । उनका अनुसार छोटो दूरीमा जलयात्रा गर्न चाहनेलाई २ घण्टा र लामो यात्राका लागि २ देखि ३ दिनसम्मको यात्रा गराउने गरी कम्पनीले तयारी गरेको छ । पछिल्लो समय कालीगण्डकी नदीमा र्याफ्टिङका लागि विदेशी र स्वदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ ।
पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित नयाँ पुल तथा मालढुंगाबाट शुरू हुने र्याफ्टिङ स्याङ्जा, पर्वत र गुल्मीको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको जलाशयमा पुगेर टुंगिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक प्रडक्ट हुने कम्पनीले बताएको छ । पानीको छाल, झरना, वनस्पति, जलचर जीव लगायतको अवलोकन र स्वच्छ हावापानी कालीगण्डकीमा गरिने र्याफ्टिङका विशेषता हुन् ।