ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रू. १४ करोडमा दरबाङ–धारापानी सडक स्तरोन्नति गरिँदै

२०७९ कात्तिक, २९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्रबाट धवलागिरि गाउँपालिकाको केन्द्र जोड्ने दरबाङ–धारापानी सडक स्तरोन्नति भइरहेको छ । दुई वर्षअघि गण्डकी प्रदेश सरकारले विनियोजन गरेको १४ करोड ३८ लाख रुपैयाँ बजेटमा बहुवर्षीय ठेक्का लगाएर सडक स्तरोन्नतिको काम थालिएको हो । यसअघि निर्माण गरिएको साँघुरो सडकलाई फराकिलो बनाउने र घुम्ती मिलाएर ग्राभेल गर्ने योजना छ । यो सडक खण्ड बेनी–दरबाङ–धारापानी–मुनालुलाङ–गुर्जा–ढोरपाटन सडक योजना अन्तर्गत पर्दछ ।

सडक चौडा पार्ने, बादिकाको उकालोमा भीर काटेर फराकिलो बनाउने, साँघुरा घुम्तीलाई चौडा पार्ने, नाली, टेवा पर्खाल निर्माण र ग्राभेल गर्नेगरी २०७६ चैत ४ गते पूर्वाधार विकास कार्यालयले धुलिखेल ब्राइट कुवर जेभीसँग ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले गतवर्ष दरवाङदेखि दाङखोलासम्म सडक चौडा पारेर नाली र ग्याबियन झाली लगाएको छ । यसैगरी बादिकाको भीर काटेर सडक विस्तार गरिएको छ । भीरको केही स्थानमा पहरा काट्न बाँकी छ । मनसुन बाहिरिएलगत्तै सडक निर्माण थाल्न निर्माण कम्पनीलाई ताकेता गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले बताए ।

भीरमा साँघुरो सडक र घुम्तीका कारण यात्रा निकै जोखिमपूर्ण हुँदै आएको थियो । दरबाङबाट धारापानीसम्म ६ किलोमिटर ७ सय मिटर सडक विस्तार तथा ग्राभेल गर्ने काम भइरहेको र आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख अधिकारीले बताए ।

अप्ठ्यारो र जोखिमयुक्त सडक फराकिलो बनाउन र ग्रेड मिलाउन भीर काटेर नयाँ ट्र्याक खोलिएको अधिकारीले बताए । ‘अब धेरै ठाउँमा भीर काट्ने काम सकिएको छ,’ उनले भने, ‘भीरको पुछारतिर केही स्थानमा मात्र बाँकी छ । निर्माण व्यवसायीलाई चाँडो काम गर्न भनेका छौं ।’ गण्डकी प्रदेश सरकारले ‘स्थानीय तहका केन्द्र जोड्ने सडक स्तरोन्नति’ कार्यक्रम अनुसार उक्त सडकको स्तर सुधार योजना सञ्चालन गरिएको हो ।

सडक स्तरोन्नतिको योजनामा अहिलेसम्म ८ करोड ९१ लाख रुपैयाँ खर्च भइसकेको र चालू आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारले ४ करोड रुपैयाँ विनियोजन गरेको जानकारी अधिकारीले दिए । बादिकाको अप्ठ्यारो भीरको करीब दुईसय मिटर सडक ढलान गर्ने योजना छ । सडक चौडा बनाउने काम सकिएपछि कालोपत्रको योजना अघि बढाइने पूर्वाधार विकास कार्यालयले बताएको छ ।

यसैगरी जिल्लाको धारापानीबाट मुनासम्म १३ किलोमिटर सडक स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर प्रदेशसँग योजना माग गरिएको कार्यालय प्रमुख अधिकारीले बताए । दाङखोलामा पक्की पुलको काम पनि यसै वर्षदेखि शुरू गरिएको पूर्वाधार विकास कार्यालयले बताएको छ । हाल बेनीदेखि दरबाङसम्मको सडक कालोपत्रको काम भइरहेको छ, जसअनुसार बेनीदेखि सिमसम्म पहिलो चरणमा सडक कालोपत्र गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)