ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मलेशियामा कामदारको आकर्षण, ३ महीनामा ८७ हजारले लिए श्रम स्वीकृति

२०७९ कात्तिक, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
author avatar प्रतिक्षा कडेल

काठमाडौं । गत बुधबार दार्चुला, नौगाड गाउँपालिका–४, होपरीका २८ वर्षीय जीवन महता मलेशिया उडे । उनी हाउस किपिङ कामका लागि त्यहाँ गएका हुन् । त्यसको एक दिनअघि मलेशिया उडेका थिए, कैलाली, घोडाघोडी नगरपालिका–५, देउकलियाका २२ वर्षीय केशव भण्डारी । उनी हाउस किपिङ कामकै लागि वैदेशिक रोजगारीमा गएका हुन् । 

महता र भण्डारी मात्रै होइनन्, पछिल्लो समय मलेशिया जाने नेपालीको लर्काे लागेको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार चालू आवको पहिलो त्रैमासमा मलेशिया जानका लागि ८६ हजार ९१८ जनाले श्रम स्वीकृति लिएका छन् । यो संख्या उक्त अवधिमा कूल श्रम स्वीकृति लिनेको झण्डै ४३ प्रतिशत हो । सो अवधिमा २ लाख २ हजार १४८ जनाले श्रम स्वीकृति लिएका थिए । 

हालै रोजगारीका लागि मलेसिया गएका दार्चुला, होपरीका महताले मलेशियामा तलब राम्रो भएपछि त्यहाँ गएको सामाजिक सञ्जालमार्फत बताए । ‘अरु देशभन्दा त्यहाँ तलब पनि राम्रो छ । हावापानी पनि नेपालजस्तै छ,’ उनले भने । 

कञ्चनपुर, कृष्णनगरका ४० वर्षीय रमेश ओझाले मलेसिया जानका लागि भिसा प्रक्रिया शुरु गरेको बताए । ‘भिसा प्रक्रियाका लागि मेडिकल गरिसकेको छु,’ उनले भने, ‘एक–दुई महिनामा उड्छु होला ।’ उनले यसअघि करीब १२ वर्ष मलेशियामा काम गरेका थिए । 

विभागका अनुसार चालू आवको पहिलो त्रैमासमा श्रम स्वीकृति लिने देशको सूचीमा संख्याका आधारमा दोस्रो, तेस्रो र चौथोमा क्रमशः कतार, साउदी अरब र युएई छन् । सो अवधिमा कतारका लागि ३४ हजार १८८, साउदीको लागि २४ हजार ३५० र युएईका लागि २१ हजार ४६० जनाले श्रम स्वीकृति लिएको विभगाले जनाएको छ । 

पछिल्लो समय श्रम स्वीकृति लिनेको संख्या पनि बढेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या ४९ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा १ लाख १ हजार १३९ जनाले श्रम स्वीकृति लिएका थिए । 

विभागका सूचना अधिकारी कृष्ण प्रसाद भुसाल मलेसियाले तलब बढाएपछि त्यहाँ कामदारको आकर्षण बढेको बताउँछन् । उनका अनुसार मलेशियाले श्रमिककाे तलब न्यूनतम १५ सय मलेशियन रिंगिट ताेकेकाे छ ।आजको विदेशी विनिमय दरका आधारमा अब त्यहाँ काम गर्ने श्रमिकको न्यूनतम तलब ४२ हजार ५३५ रूपैयाँ हुन्छ । याे खाडी मुलुकका देशमा दिने तलबभन्दा बढी हाे । 

सूचना अधिकारी भुसालका अनुसार खाडी देशमध्ये साउदी अरबमा श्रमिकको बेसिक तलब १ हजार साउदी अरेबियन रियाल, बहराइनमा १००–१०२ बहराइन दिनार र युएईमा १ हजार युएई दिराम छ । आजको विदेशी विनिमय दरका आधारमा साउदी अरबमा श्रमिकको न्यूनतम तलब ३४ हजार ६७० रूपैयाँ हुन्छ । यस्तै, बहराइनका श्रमिकको न्यूनतम तलब ३५ हजार २६६ रूपैयाँ र युएईका श्रमिकको न्यूनतम तलब ३५ हजार ४८० रूपैयाँ हुन्छ । 

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी विनिमय दर अनुसार मलेशियन रिंगिटको विक्रीदर २८.३५, साउदी अरेबियन रियालको ३४.६७, बहराइन दिनारको ३४५.७५ र युएई दिरामको ३५.४८ छ । 

सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्न नसक्दा युवा विदेशिन बाध्य हुनुपरेको श्रम आप्रवासन विज्ञ सोम लुइँटेल बताउँछन् । सरकारले विदेशिने युवालाई रोक्न प्रभावकारी काम नगरेको उनको भनाइ छ । 

सरकारी अधिकारीहरू भने स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न विभिन्न कार्यक्रम सञ्चालन भइरहेको दाबी गर्छन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)