ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कालीगण्डकीको ‘स्टिमर सेवा’ सुचारु

२०७९ कात्तिक, ३०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । कालीगण्डकी जलविद्युत् गृहको ड्याममा सञ्चालित स्टिमर सेवा सुचारु भएको छ । बर्खायाममा पानीको बहाव धेरै हुँदा अवरुद्ध भएको स्टिमर सेवा पानीको सतह कम भएसँगै सुचारु भएको हो ।

कात्तिक पहिलो सातादेखि नदीमा पानीको बहाव घटेपछि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जलयातायात (स्टिमर सेवा) पुन: शुरू भएको हो ।

वर्षाका कारण नदीमा बहाव बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि स्टिमर सेवा अवरुद्ध भएको थियो । बहाव घटेपछि अवरुद्ध स्टिमर सुचारू भएको स्थानीय तिलक पराजुलीले जानकारी दिए ।

लामो समयसम्म वर्षा भएका कारण बहाव नघटेकाले विगतका वर्षहरूमा भन्दा यस वर्ष ढिलोगरी स्टिमर सेवा सुचारु भएको पराजुलीको भनाइ छ । सहजरूपमा सञ्चालन गर्न सकिने भएपछि कात्तिक पहिलो सातादेखि सञ्चालनमा ल्याइएको शालिग्राम–कालीगण्डकी जलयातायात प्रालिका सञ्चालक चन्द्रबहादुर रानाले जानकारी दिए ।

गत असार पहिलो सातादेखि कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि दुर्घटना हुनसक्ने भएकोले साउन, भदौ र असोजमा सेवा बन्द गरिएको सञ्चालक रानाले बताए । ‘झण्डै चार महीनापछि सेवा सुचारु भएको छ,’ उनले भने, ‘स्टिमर सुचारु भएपछि यस क्षेत्रका बासिन्दाका लागि सहज भएको छ ।’
रानाका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी आँधीमुहानदेखि पर्वतको बिहादी गाउँपालिका–६ शालिग्राम सेतीवेणीसम्म सात किलोमिटरको दूरीमा २१ वर्षदेखि स्टिमर सेवा सञ्चालनमा छ । स्टिमर सेवाबाट दक्षिण पर्वतको विहादी र पैंयु गाउँपालिकाका साथै स्याङ्जा, गुल्मी र बाग्लुङका बासिन्दा लाभान्वित हुने विहादी गाउँपालिकाका अध्यक्ष प्रविण गुरुङले बताए । स्टिमरबाट दैनिक एक हजारभन्दा बढीले जलाशयमा ओहोरदोहोर गर्ने गरेको गुरुङले जानकारी दिए ।

गत वर्षसम्म एक सय ५० जना सवार गर्न मिल्ने १० ओटा र १५ जना सवार गर्न मिल्ने माइक्रोस्टिमर दुईओटा भए पनि अहिले त्यो संख्या घटेर ४ ओटामा झरेका छ । नदी किनारामा राखिएका स्टिमरहरू सबै पहिरो डुबानमा परेपछि स्टिमरको सँख्या घटेको हो । सञ्चालक हरिप्रसाद पराजुलीका अनुसार दैनिक एक हजार जनाभन्दा धेरै स्टिमरमा यात्रा गर्न सकिन्छ । स्टिमर सेवा सञ्चालनपछि चार घण्टाको यात्रा आधा घन्टामा छोटिएको उनको भनाइ छ ।

अहिले दुईतर्फी यात्रा गर्दा रू. ४ सय रुपैयाँ भाडादर निर्धारण गरिएको समितिले  जानकारी दिएको छ ।  कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना प्रभावित क्षेत्र स्याङ्जाको गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिका, पर्वतको विहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाका स्थानीयलाई सेवा सुचारु भएपछि सहज बनाएको स्थानीय विष्णु न्यौपानेले बताए ।

स्टिमर सेवा बन्द हुँदा झण्डै चार महीनाभन्दा बढी त्यस क्षेत्रका बासिन्दा आधा घण्टाको बाटो चार घण्टासम्म पैदल हिँडेर वा कच्ची सडकबाट स्याङ्जाको गल्याङ पुग्न बाध्य  थिए । पर्वतको सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको दर्शनका लागि आउने धार्मिक पर्यटक र स्टिमर चढ्नकै लागि आउने पर्यटक समेत बढ्न थालेको विहादी–६ शालिग्रामका वडा अध्यक्ष टेकबहादुर थापाले बताए ।

काठका ठूला तथा मझौला डुंगामा मालवाहक गाडीको इन्जिन जडान गरेर बनाइएका स्टिमर जलयातायातको साधन हो । ठूला मालवाहक गाडी जत्तिकै वहन क्षमता राख्ने हुँदा स्टिमर सेवा त्यस क्षेत्रका लागि वरदान नै सावित भएको थापाको भनाइ थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)