ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्नपूर्ण–धवलागिरि सामुदायिक पदमार्गले फेरिँदै टिकोट गाउँको अवस्था

२०७९ कात्तिक, ३०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । विदेशी पाहुनासहित पहिलोपटक टिकोट हुँदै अन्नपूर्ण–धवलागिरि सामुदायिक पदमार्गको भ्रमणमा आएका विश्व भेगन अर्गनाइजेशनका ज्याक टिकोटको प्राकृतिक सुन्दरता देखेर मख्ख परे । यहाँको चिसो हावापानी, नजिकैबाट देखिने हिमाल, अग्र्यानिक खाना लगायत विशेषताले विदेशी पर्यटक टिकोटमा एक दिन बस्न रुचाउँछन् ।

म्याग्दी र पर्वतका विभिन्न ग्रामीण बस्तीलाई समेटेर सञ्चालनमा ल्याइएको अन्नपूर्ण–धवलागिरि सामुदायिक पदमार्ग हुँदै भ्रमणमा आउने विदेशी तथा आन्तरिक पर्यटककका कारण टिकोट गाउँको अवस्था फेरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ७ मा पर्ने यो गाउँ सडक सञ्जाल र अन्नपूर्ण–धवलागिरि सामुदायिक पदमार्ग दुवैबाट जोडिएपछि पर्यटकको आकर्षण बढ्दै गएको अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरले बताइन् ।

‘पदमार्गले नछोउन्जेलसम्म विदेशी पर्यटक देख्नै नपाएका यहाँका बासिन्दा अहिले दिनहँुजसो पर्यटकलाई स्वागत गर्न पाउँदा मख्ख छन् । ‘गाउँमा होमस्टे (घरवास) सञ्चालन भएका छन् । स्थानीय उत्पादनको विक्री बढेको छ । यसले गाउँलेको आयस्तरमा टेवा पुगेको,’ गाउँपालिका पूर्वउपाध्यक्ष मगरले भनिन् ।

पाँच वर्षदेखि प्राकृतिक पदमार्गको रूपमा सञ्चालनमा ल्याइएको यस पदमार्गको भ्रमणमा आउने पर्यटकको संख्या बढ्दै गएको पदमार्गका व्यवस्थापक चित्र तिलिजा पुनले बताए । सामाजिक कार्यकर्ता महावीर पुनको पहल तथा लघुउद्यम विकास कार्यक्रमको आर्थिक सहयोगमा म्याग्दीका सात र पर्वतका दुई वडाका ग्रामीण भेगलाई समेटेर उक्त  पदमार्ग सञ्चालनमा ल्याइएको थियो । पदमार्गमा जर्मनी, अमेरिका, अस्ट्रेलिया, बेलायत, इजरायल, फ्रान्सलगायत देशबाट बढी पर्यटक आउने गरेका छन् ।

पदमार्गबाट देखिने धवलागिरि, अन्नपूर्ण, मनास्लु लगायत हिमालको मनोरम दृश्य, प्राकृतिक सौन्दर्य, मगर समुदायको रहनसहन, चौंरीपालन, भेडापालन लगायतले पर्यटकलाई आकर्षित गरेको व्यवस्थापक पुनले बताए । पर्यटकबाट भित्रिएको आम्दानी गाउँको सामुदायिक विकास, विद्यालय, स्वास्थ्य संस्था सञ्चालन, पर्यटन पूर्वाधार निर्माणलगायतमा खर्च गरिने भएकाले पनि स्थानीयवासी उत्साहित छन् ।

एक सातादेखि १० दिनसम्ममा पूरा गर्न सकिने पदमार्गको यात्रा पिप्लेको घुमाउने तालबाट शुरू भई पर्वतका बाँसखर्क, डाँडाकटेरी, म्याग्दीका नागी, हम्पाल डाँडा, महरेडाँडा, टिकोट हुँदै खिवाङ, मोहरेडाँडा, घोरेपानी, खोप्रालेक र नारच्याङ हुँदै भुरुङ तातोपानी पुगेर टुंगिन्छ । ‘गाउँमै सडक आएको छ, गाउँलेलाई सडकले सुविधा भएको छ भने घुम्न आउने पर्यटक पदमार्गमार्फत आवतजावत गर्ने गरेका छन्,’ स्थानीय गंगा पुनले भनिन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)