ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोदोखेतीमा किसानको आकर्षण

२०७९ मंसिर, ७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीका विभिन्न ठाउँमा लोप हुँदै गएको कोदोखेती मालिका गाउँपालिका वडा नं २ रुमको बेलीगाउँमा भने फस्टाउँदै गएको छ । यहाँका बासिन्दाले अन्य खेतीलाई भन्दा कोदोखेतीलाई महत्त्व दिँदै आएका छन् । यहाँका १५० भन्दा बढी किसानले कोदोखेती गरेका छन् ।

रुमको बेलीगाउँमा जताततै कोदो फलेको छ । यहाँका स्थानीयले वार्षिक २ सय मुरीभन्दा बढी कोदो उत्पादन गर्दै आएका स्थानीय टेकबहादुर पुनले बताए । उत्पादित कोदो विक्री गर्नुका साथै घरेलु मदिरा उत्पादन गर्ने, ढिँडो र रोटी बनाएर खाने गरेको उनको भनाइ थियो ।

म्याग्दीका ग्रामीण भेगबाट समेत हराउँदै गएको कोदोखेतीको संरक्षणमा बेलीवासी जुटेका छन् । कुनै समयको महत्त्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रका बालबालिकाका लागि मात्रै नभएर ग्रामीण क्षेत्रका वयस्कका लागि समेत दुर्लभ बन्दै गएको छ । यस्तो अवस्थामा बेलीगाउँवासी यसको व्यावसायिक खेती गरेर रैथाने बालीको समेत संरक्षणमा लागेको बेलीकी सीता पुन मगरले बताइन् ।

बेलीगाउँको ५ सय रोपनीभन्दा बढी बारीमा व्यावसायिक  कोदोखेती गरिएको छ । यहाँ उत्पादन भएको कोदोबाट घरेलु मदिरा उत्पादन गरी ब्रान्डिङ गरेर विक्री गर्न सके वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्न सकिने स्थानीय तीर्थबहादुर विकले बताए ।

रुमको बेलीगाउँमा बारीभरि कोदो झुलिरहे पनि जिल्लाका अन्य ठाउँमा भने खेतमा लहलहै धान झुलेको छ । कतिपय ठाउँको  बारीमा वनमारा फुलेको छ । ग्रामीण क्षेत्रका बारीमा थोरै मात्र कोदो लगाइए पनि बेनी नगरपालिका क्षेत्रभित्रका अधिकांश बारी बाँझै छन् ।

मालिका गाउँपालिका ५ की इन्द्रमाया बूढाका घरमा खेती गर्ने मानिस छैनन् । उनको परिवारमा श्रीमान्, दुई छोरा र बुहारी छन् । छोरा वैदेशिक रोजगारका लागि यूएईमा छन् । बुहारी छोराछोरी पढाउन दरबाङ बजारमा कोठा भाडामा लिएर बसेकी छिन् । वर्षौं पहिलेसम्म मुरीका मुरी कोदो फलाउने उनको घरमा पछिल्लो समय एक गेडा पनि छैन । कोदो फलाउने रहर भएर पनि बुढेसकालमा खेती गर्न नसकेको उनले बताइन् ।

तागतिलो खाद्यान्न मानिने कोदोको खेती गाउँघरतिर घट्दै गएको मंगला गाउँपालिका ५ का हरिकृष्ण पौडेलले बताए । कोदोखेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको उनको भनाइ छ । कोदोको उत्पादन घटेसँगै यसको उपभोग पनि कम हुँदै गएको स्थानीयले बताएका छन् । भएको कोदो पनि रक्सी पार्न प्रयोग हुन थालेपछि रोटी, ढिँडो र पिठो बनाएर खाने चलन हराउँदै गएको बेनी नगरपालिका २ खबराका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)