ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशका नेपालीलाई विप्रेषण बचत खाताको सीआरएन लिन पाउने व्यवस्था मिलाउँदै सीडीएससी

२०७९ मंसिर, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीले सि–आस्बा रजिस्ट्रेशन नम्बर (सीआरएन) लिन सक्ने भएका छन् । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले यसअघि बचत खातामा मात्र लिन मिल्ने सीआरएन नम्बर अब रेमिट्यान्स (विप्रेषण) बचत खातामा समेत लिन पाउने व्यवस्था मिलाएको हो । 

वैदेशिक रोजगारीमा रहेका नेपालीले विप्रेषण बचत खातामार्फत सार्वजनिक निष्कासनको धितोपत्र खरीदबापतको रकम भुक्तानी गर्नुपर्ने व्यवस्था भएकाले सीआरएन नम्बरसमेत विप्रेषण बचत खाताकै लिनुपर्ने भएको हो । नेपालमा आस्बा प्रणाली लागू भएपछि सार्वजनिक निष्कासनमा आएका धितोपत्र खरीदमा सीआरएन नम्बर अनिवार्य गरिएको छ ।

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले सिस्टममा वैदेशिक रोजगारीमा रहेका नेपालीको विप्रेषण बचत खाताको सीआरएन नम्बर सपोर्ट गर्ने व्यवस्था मिलाइसकेको बताए । सम्बद्ध लगानीकर्ताले आफ्नो विप्रेषण बचत खाता रहेको बैंकमार्फत सीआरएन नम्बर लिन सक्ने प्रवक्ता न्यौपानेले जानकारी दिए । बैंकहरूलाई सीआरएन नम्बर उपलब्ध गराउन आवश्यक विवरण पेश गरिसकेकाले इच्छुक वैदेशिक रोजगारीमा रहेका नेपालीले आफ्नो विप्रेषण खाता रहेको बैंकमार्फत सीआरएन नम्बर लिन सक्ने न्यौपानेको भनाइ छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कात्तिक १७ गतेबाट धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७९ छैटौं संशोधन लागू गरेको थियो । बोर्डले निर्देशिका लागू गरेपछि आईपीओ निष्कासनको स्वीकृति पाएको कालिञ्चोक दर्शन लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्ने भएका हुन् । कालिञ्चोक दर्शनले १ लाख ८ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्ट्याएको छ ।

वैदेशिक रोजगारीमा रहेका योग्य नेपाली आवेदकले मङ्सिर २८ गतेसम्म आवेदन दिन सक्नेछन् । उनीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार ८ सय कित्तासम्म माग गर्न सक्ने गरी कालिञ्चोक दर्शनले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) विक्री खुला गर्दै छ ।  

कालिञ्चोक दर्शनले कात्तिक २३ गते आईपीओ अनुमति पाएको हो । संशोधित निर्देशिका लागू हुनुपूर्व बोर्डबाट स्वीकृति प्राप्त गरी आईपीओ जारी गर्न बाँकी रहेका कम्पनीको हकमा यो व्यवस्था लागू नहुने बोर्डले स्पष्ट पारेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको धितोपत्र खरीदका लागि आवेदन दिएको व्यक्तिले सर्वसाधारणमा जारी भएको शेयरका लागि आवेदन दिन नपाउने व्यवस्था छ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई छुट्ट्याएको शेयर विक्री नभई बाँकी रहन गएमा त्यो समेत सर्वसाधारणमा थप गरी जारी गर्नुपर्नेछ । 

यस वर्षको बजेटमै सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गरेको थियो । उक्त व्यवस्था लागू गर्न पूँजी बजार सम्बद्ध नियामक निकाय नेपाल धितोपत्र बोर्डले निर्देशिका संशोधन गरेको हो । बोर्डले संशोधन गरेको निर्देशिकामा भएको व्यवस्थाअनुसार आस्बा सदस्यले विद्युतीय माध्यमबाट विप्रेषण बचत खाताको सीआरएन नम्बर उपलब्ध गराउनुपर्नेछ । साथै आस्बा सदस्यहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान विवरण रुजु गरी हितग्राही खाता खोल्न सक्ने व्यवस्था निर्देशिकामा छ । 

विदेश बस्ने सबैलाई होइन, आरक्षण 
विदेशमा बसेका सबै नेपालीले आरक्षणको आईपीओमा आवेदन दिन पाउँदैनन् । श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाले मात्र प्रारम्भिक सार्वजनिक निष्कासनमा आरक्षित धितोपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् । साथै विप्रेषण बचत खाता भएका र उक्त खातामा पछिल्लो ६ महीनामा कम्तीमा ५० हजार नेपाली रुपैयाँ आफू रोजगारीमा रहेको मुलुकबाट जम्मा गरेका नेपालीले मात्र आवेदन दिन पाउने व्यवस्था बोर्डले गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)