ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गार्मेन्टबाट विस्थापित पुष्पमा स्थापित

२०७९ मंसिर, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । व्यवसायबाट टाढै रहेको परिवारमा हुर्केकी बासन्ती प्रधानले जीवनका ५ दशक पार गरिन् । सरकारी जागीरे बुबा । व्यावसायिक वातावरण हुने कुरै भएन । तर, बुबा जागीरको सिलसिलामा सरुवा हुँदा देशका विभिन्न स्थानमा पुगेकी बासन्तीमा त्यहाँको स्थिति हेर्दा केही न केही गर्नुपर्ने सोचको बीजारोपण भयो ।
 
बुबा, श्रीमान्बाट चिनिने आम महिलाको भीडमा उनले आफ्नै पहिचान बनाउने सोच राखिन् । त्यसलाई साकार पार्न २० वर्षकै उमेरमा गार्मेन्ट व्यवसायमा हात हालिन् । त्यति बेला उनका सारथी आफ्नै बहिनी र अर्का साथी गरी तीन जना थिए । ‘अवार्ड गार्मेन्ट उद्योग’ बाट उद्यमशीलतामा हात हालेकी बासन्तीको परिचय अहिले फरक छ । सन् १९८७ मा गार्मेन्ट उद्योग खोलेर उद्यम यात्रा शुरू गरेकी उनलाई अहिले पुष्प व्यवसायीका रूपमा चिनिन्छ । 
 
गार्मेन्ट उद्योगबाट पुष्प व्यवसायमा आउँदासम्मको यात्रा जति उतारचढावपूर्ण छ उत्तिकै प्रेरणादायी पनि । गार्मेन्ट उद्योग फस्टाएको बेला अन्य उद्योगबाट कपडा ल्याएर पकेट, जिपर, बटन राख्ने जस्ता फ्याब्रिकेशनको काम गर्ने लक्ष्य राखेको उनले सुनाइन् । अनुभव नभएकाले शुरूमा सानो स्केलमा व्यवसाय गर्ने उनको योजना थियो । तर, उद्योग खोलेको ३ महीना नबित्दै भारतबाट गार्मेन्ट निर्यात गर्दै आएका व्यवसायीसँग भेट भयो, जसले उनको यो सोचलाई परिवर्तन गरिदियो ।
त्यसबेला नेपाल, भारत र बंगलादेशलाई गार्मेन्ट निर्यातका लागि तेस्रो मुलुकले कोटा उपलब्ध गराउँथे । सोही आधारमा नेपालले निर्यात गर्थ्यो । त्यसबेलाको अवस्था सम्झँदै बासन्ती भन्छिन्, ‘घरमा आउनुभएका पाहुनाले गार्मेन्ट अमेरिका निर्यात गर्न अर्डर दिनुभयो, यो हाम्रा लागि निकै उत्साहको कुरा थियो ।’ अमेरिका निर्यातको अर्डर आएपछि उत्साहित भएकी उनले भारतबाट तुरुन्तै १०० ओटा सिलाउने मेशिन खरीद गरेको सुनाइन् । 
 
घरभाडामा लिएर व्यवसाय अघि बढाएको उनको गार्मेन्ट उद्योगबाट ‘मद्रास कट्टु’ निर्यात हुन्थ्यो । त्यसबेला नेपालमा ‘टिसर्ट’ प्रयोग गर्ने चलन नै नभएको उनी बताउँछिन् । मद्रास कट्टु निर्यात गर्ने उनको उद्योगलाई अमेरिकाबाट जर्सी, टिसर्टको अर्डर आयो । अमेरिकालगायत देशबाट अर्डर आउन थालेपछि निकै उत्साहित उनको समूहका लागि भारतको नाकाबन्दी दुर्भाग्य बन्न पुग्यो । छिमेकी भारतले सन् १९८८ (२०४५) मा गरेको नाकाबन्दीले उनको व्यवसाय चौपट बन्न पुग्यो भने उद्योग टाट पल्टियो । नाकाबन्दी हुँदा भारतबाट आउने सामान रोकियो । सिजन विशेष हुने गार्मेन्टको अर्डर रद्द भयो । ३०० जनालाई रोजगारी दिएको ‘अवार्ड गार्मेन्ट’ त्यसपछि सदाका लागि बन्द भयो ।
 
भारतले २ वर्षसम्म गरेको नाकाबन्दीले उनको व्यवसाय नै डुब्यो । गार्मेन्टमा फेलियर भए पनि उनले उद्यमबाट विश्राम लिइनन् । गार्मेन्टभन्दा फरक व्यवसायबाट अहिले उनी स्थापित छिन् । व्यापार, व्यवसाय नै गर्छु भन्ने अठोट र आँटले नै गार्मेन्टमा लागेको र ठूलो स्केलमा काम गर्दा क्षति पनि ठूलै बेहोर्नुपरेको उनी बताउँछिन् । त्यस घटनापछिको अनुभवबाट उनी अहिले पनि ठूलो स्केलमा एकैपटक लगानी र काम नगर्न उद्यमीलाई सुझाव दिन्छिन् । 
 
गार्मेन्टबाट झट्का बेहोरेकी बासन्ती श्रीमान्को विद्यालयमा उपप्रधानाध्यापक भएर अध्यापन पेशामा पनि लागिन् । तर, उनको मन अध्यापनमा मात्रै अडिन सकेन । ‘अध्यापन गराउँदा पनि उद्यमशीलता दिमागबाट जानै सकेन,’ उनी सम्झिन्छिन्, ‘छुट्टीको समयमा फूलमा मन लगाउन थालेँ, किनभने श्रीमान्को परिवार पुष्प व्यवसायमा थियो ।’ गार्मेन्ट व्यवसायले तर्सिने नै बनाएको बताउँदै उनले थपिन्, ‘परिवारबाट पनि पुष्प व्यवसाय नगर भन्नेसम्मको कुरा अप्रत्यक्ष भोगियो ।’ पुष्प व्यवसायमा फरक गर्ने योजनाअनुसार पहिलोपटक बुकी बनाइन्, जसको चलन त्यति बेला नेपालमा नभएको उनी बताउँछिन् । गुलाबका फूल, बिरुवा पनि उत्पादन गरेको उनको भनाइ छ । यसै मेलोमा फ्रेन्च बिरूवासम्मको माग आयो ।
 
फूल व्यवसाय गरेपछि माइतीघरको ट्राफिक आइल्यान्डदेखि पाँचतारे होटेलसम्ममा गार्डेनिङ बनाएको उनी बताउँछिन् । ‘कतिपयले काम गराउने तर आधा मात्रै पैसा दिने गर्थे,’ उनले तीतो अनुभव सुनाइन् । फ्लोरिकल्चरमा सरकारभन्दा निजीक्षेत्रकै सक्रियता रहेको भन्दै उनी थप्छिन्, ‘अहिले घर, अफिस जहाँसुकै गार्डेनिङ अर्थात् बगैंचा बनाउने चलन छ ।’ 
 
पुष्प व्यवसायमै अति व्यस्त भएकी उनी राति १ बजेसम्म काम गरेको सम्झन्छिन् । दिउँसो ग्राहकलाई मागअनुसारको सामान दिने, रेखदेख गर्ने र रातको समयमा यो क्षेत्रमा भएका नयाँ आयाम र प्रविधिका विषयमा अध्ययन गर्थिन्, जसले व्यवसायमा नवीनता दिन र बजार मागअनुसार उत्पादनलाई विविधीकरण गर्न सघाउँथ्यो । आजभन्दा २५ वर्षअघि विदेशी ग्राहकले ७०० अमेरिकी डलरको बुकीसम्म अडर गरेको स्मरण गर्दै उनी भन्छिन्, ‘हेलिकोप्टर चार्टर गरेर गुम्बामा पठाइन्थ्यो ।’
 
पुरानो अनलाइन प्लेटफर्म मुन्चा हाउससँग हातेमालो गरेर अनलाइन बजारीकरण शुरू गरिसकेकी उनी गार्मेन्टभन्दा पुष्प व्यवसायबाट सन्तुष्ट छिन् । ‘गार्मेन्टले एकैपटक उचालेर बैंकरप्टसम्म पुर्‍यायो,’ उनी भन्छिन्, ‘पुष्प व्यवसाय गर्दा अनुभव पनि भयो र लगानी सानो भए पनि स्थापित भयौं ।’ २९ हजार रुपैयाँबाट पुष्प व्यवसाय शुरू गरेको उनले बताइन् । कतिपय भ्यालेन्टाइनमा २ सय डलरसम्मको बुकी अर्डर आउने उनले सुनाइन् । 
 
विदेशी ग्राहकले किन्ने मात्रै होइन, मार्केटिङका लागि र अन्य सुझाव पनि दिने गर्थे उनलाई । सानो स्केलमा भए पनि ताइवान, जापान, हल्यान्ड, थाइल्यान्डजस्ता देशमा सामान पठाउने गरेको उनी बताउँछिन् । एकपटक एउटा देशमा निर्यात गर्दा करीब १० लाख रुपैयाँका सामान जाने गरेको उनको भनाइ छ । 
 
अमेरिकाबाट पनि ठूलो मात्रामा माग आउन थालेपछि झापाको भद्रपुरमा १० बिगाहा र चन्द्रगढीमा २० कट्ठा क्षेत्रफलमा पुष्पखेती गर्न थालेको बासन्तीले जानकारी दिइन् । अमेरिकाबाट २० देखि ४० टनसम्म माग आउने गरेको उनको भनाइ छ । स्वदेशी बजारभन्दा विदेशी बजार नै सहज हुने गरेको उनको अनुभव छ । ‘विदेशीले अर्डर गर्दा 
एड्भान्समा रकम आउँछ,’ उनी भन्छिन्, ‘स्वदेशी बजारमा राम्रो काम भए पनि पैसा नै उठ्दैन ।’ लाखौंको कारोबार हुने भए पनि पैसा नउठेपछि र राजनीतिक अस्थिरताका कारण २००५ देखि स्वदेशी बजारमा सामान पठाउन विस्तारै कम गरेर सन् २००८ यता बन्द नै गरिएको उनले बताइन् । ‘त्यसयता निर्यात मात्रै गरेको छु,’ बासन्ती भन्छिन् । 
 
विदेश निर्यात मात्रै गर्न थालेपछि २ करोड ५० लाख रुपैयाँसम्मको निर्यात गरेको उनले जानकारी दिइन् । यस्तै प्रतिस्पर्धी बजार भारतमा के प्रचलन छ भन्ने जानकारी लिन भारतबाट विज्ञ नै ल्याएर कार्यपत्र प्रस्तुत गरिएको उनको भनाइ छ । भारतमा विभिन्न विधामा छूट दिएको र सोहीअनुसार सरकारलाई सुझाव दिँदा कार्यान्वयन नभएको उनको गुनासो छ । 
 
पुष्प व्यवसायमा स्थापित हुँदै गर्दा कोरोना भाइरसका कारण मर्का परेको उनको भनाइ छ । अमेरिका र जर्मनीमा बढी निर्यात हुन्छ । तर, कोभिडपछि माग घटेको छ । उनले स्वदेशी बजारलाई लक्षित गरेर कोरोना कालमै ‘बाटिका नेपाल कम्पनी’ स्थापना गरेकी छिन् । उक्त कम्पनी स्थापना गरेपछि पुराना ग्राहक पनि फर्किएका छन्, जसबाट उनी व्यवसायमा थप उत्साहित बनेकी छिन् । 
शुरू गर्दा नै पुराना ग्राहक जोडिनु सकारात्मक भएको भन्दै उनले थपिन्, ‘अब महिला उद्यमीलाई सघाउने हो । ५ हजार महिला उद्यमी जोडिएको संस्थामा भएकाले उनीहरूलाई सघाउने लक्ष्य मेरो हो ।’ नेपालभरका महिलालाई काम दिन सक्ने अर्डर रहेको भन्दै उनले थपिन्, ‘यसको गुरुयोजना बनाउने विषयमा गृहकार्य गरिरहेका छौं ।’ उनले पुष्प व्यवसाय भने बोधीवृक्ष नर्सरीबाट शुरू गरेकी थिइन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)