ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीको रेशमा फस्टाउँदै चियाखेती

२०७९ मंसिर, ९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । पाँच वर्ष अगाडि म्याग्दीको काठेखोला गाउँपालिका–७ रेशमा बसाइँसराइका कारण पाखोबारी र खेतयोग्य जमीन वनमाराले ढाकेको थियो । तर, अहिले ती पाखाबारीहरू चिया बगानमा परिणत भएका छन् । त्यहाँ पुग्ने जो कोहीलाई चिया बगानले आकर्षित गर्छ ।

चियाखेतीले पाखोबारी ढाकिसकेपछि कृषकसमेत निकै उत्साहित भएका छन् । स्थानीयले चार वर्ष अगाडि परीक्षणका लागि ताराखोलाको सिरुबारीबाट थोरै बिरुवा ल्याएर लगाएका थिए । चियाको बिरुवा हुर्केर परीक्षणसमेत सफल भएपछि कृषक उत्साहित भएका हुन् ।

चियाको बिरुवा राम्रो हुँदै गएपछि स्थानीयले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा यसको खेती विस्तार गर्न थालेका छन् । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँको रूपमा यो गाउँ छनोट भएपछि रेशको साना किसान सहकारी संस्थाले बौर र तिङरिङको ७२ रोपनी खाली जग्गामा चियाखेती विस्तार गरेको साना किसान सहकारी संस्थाका अध्यक्ष यामबहादुर कार्कीले जानकारी दिए ।

शुरूमा परीक्षणका थोरै क्षेत्रफलमा करीब १५ हजार बिरुवा लगाएको भन्दै उनले परीक्षण सफल भएपछि खेती विस्तार गरेको बताए । हाल तिङरिङ र बौर गरी तीन स्थानमा ५६ हजार बिरुवा लगाएको उनको भनाइ छ ।

आफूहरूले गाउँलाई चियाबारीको गाउँ बनाउने उद्देश्यले अहिले तीन लाख बिरुवा नर्सरीमा उत्पादन गरिरहेको बताए । ‘शुरूमा के हुन्छ, कसो हुन्छ भन्ने थियो,’ उनले भने, ‘परीक्षणका लागि सिरुबारीबाट थोरै बिरुवा ल्याएर लगाएकोमा राम्रो भयो ।’

चियाखेतीमा हालसम्म करीब ४२ लाख रुपैयाँ लगानी भएको उनले बताए । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ परियोजना र स्थानीयको जनश्रमदानबाट चिया खेती विस्तार भएको उनको भनाइ छ ।

कार्कीले यो ठाउँ चियाखेतीका लागि निकै उपयुक्त रहेको र अब हरेक नागरिकलाई यसतर्फ लाग्न प्रेरित गर्ने बताए । चार वर्ष अगाडि लगाएको बिरुवाले उत्पादन दिने समय आएको उनको भनाइ छ । शुरूमा बिरुवा हुर्काउन समस्या भए पनि अहिले सहज बन्दै गएको स्थानीय भीमबहादुर थापाले बताए । हावापानी राम्रो भएकाले अहिले बिरुवा सप्रिँदै गएको र एक/डेढ वर्षमै उत्पादन हुने उनले बताए । यद्यपि पाखोबारीमा चियाका बिरुवा लगाएको हुँदा पशुचौपायाबाट जोगाउन गाह्रो भएको उनको गुनासो गरे ।

समुद्री सतहबाट १८ सय मिटरदेखि २३ सय मिटरसम्मको उचाइमा चियाखेती राम्रो हुने विज्ञ बताउँछन् । काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछानेले बसाइँसराइ रोक्न र रोजगार सृजना गर्न यहाँ चियाखेती शुरू गरिएको बताए ।

अध्यक्ष लामिछानेले गाउँको पाखोबारी उपयोग गरी गाउँलाई चियामा आत्मनिर्भर बनाउने योजना रहेको सुनाए । ‘गाउँबाट मानिसहरू धमाधम बसाइँसराइ गरी बजार झर्न थालेका छन्,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)