ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भन्सार जाँचपासमा सन्दर्भ मूल्यले सकस

२०७९ मंसिर, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । भन्सार कार्यालयले आयातित वस्तुको बिल मूल्यलाई मान्यता नदिँदा व्यापार विकृत बन्दै गएको निजीक्षेत्रले बताएको छ । भन्सार कार्यालयहरूले आयातकर्ताले पेश गरेको बिलको सट्टा भन्सार विभागले तयार पारेको सन्दर्भ मूल्यलाई आधार मानेर जाँचपास गर्दै आएको उनीहरूको भनाइ छ । 

सरकारले हुन्डी कारोबारलाई अपराध माने पनि भन्सारको सन्दर्भ मूल्यका कारण यस्तो कारोबार बाध्यता बनेको गुनासो व्यवसायीको छ । भन्सारले सन्दर्भ मूल्यअनुसार वस्तुको मूल्यांकनमात्र गर्दैन, बढी मूल्यमा ५० प्रतिशत जरीवाना पनि लगाउने गरेको छ । 

यो जरीवानाबाट जोगिन आयातकर्ताले बजार मूल्य कम भए पनि बढी मूल्यको बिल ल्याउने गरेका छन् । कतिपय वस्तुको भन्सार सन्दर्भ मूल्य बजार मूल्यभन्दा कम छ । यस्तोमा आयातकर्ताले परेको मूल्यभन्दा कमको बिल पेश गर्छन् । 

वास्तविक मूल्यभन्दा बढी रकमको लेनदेन हुन्डीबाटै हुने व्यापारीहरू बताउँछन् । ‘बैंकले बिलअनुसारको रकम भुक्तानी गर्ने भएपछि फरक रकमका लागि हुन्डीको सहारा लिनुको विकल्प छैन,’ वीरगञ्ज उद्योग वाणिज्य संघका एक पदाधिकारीले भने । 

वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले न्यून बीजकीकरण रोक्न सन्दर्भ मूल्य लागू गरिएको बताए । ‘प्राय: ब्रान्डेड सामानको आयातमा यस्तो समस्या हुँदैन । तयारी कपडा, मोटर पार्टस् र खुद्रा सामानमा न्यून बीजकीकरणको समस्या बढी देखिएको छ ।

राजस्व प्रणाली अनलाइनमा गइसकेकाले अब न्यून बीजकीकरण गरेर दोहोरो बिल मिलाउन सहज नभएकाले व्यापारीले न्यून बीजकीकरण नगर्ने व्यवसायीको दाबी छ ।

यसलाई रोक्न सन्दर्भ मूल्यलाई आधार मानिएको हो,’ प्रमुख भन्सार अधिकृत बरुवालले भने । कतिपय प्रतीतपत्र खोलेर आयात गरिएका सामानसमेत न्यून बीजकीकरण भएर आउने गरेको भन्सारको दाबी छ । प्राय: चीनबाट आयातित सामानको कम मूल्यको बिल आउने गरेको बरुवालको अनुभव छ । 

भन्सारले आयातकर्ताको स्वघोषणालाई मान्यता दिने र बदनियत ठहर भए कडा कारबाही गर्ने हो भने सन्दर्भ मूल्यको आवश्यकता नै नपर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् । ‘जसरी आन्तरिक राजस्व कार्यालयले आयको स्वघोषणालाई मान्यता दिएको छ, भन्सारले पनि मान्यता दिनुपर्छ । बजार मूल्य अस्वाभाविक रूपमा बढी राखेको भेटिए कारबाही गरे हुन्छ,’ उनले भने । 

भारतबाट आएको वस्तुमा त्यहाँको भन्सारले जारी गरेको बिल अफ एक्सपोर्टसहितको वस्तु तथा सेवा कर (जीएसटी) बिललाई समेत भन्सारले मान्यता नदिएको व्यापारीले बताएका छन् । प्रतिष्ठित कम्पनीको बिल बीजकलाई पनि भन्सारले मान्यता नदिएर सन्दर्भ मूल्य नै लाद्ने गरेको गुनासो आयातकर्ताको छ । 

आयातकर्ताले पेश गरेको मूल्यमा शंका लागे त्यस्तो सामान भन्सार आफैले किनेर लीलाम गर्न सक्ने व्यवस्था भए पनि त्यस्तो अभ्यास हुँदैन । आयातकर्ताले आग्रह गर्दासमेत भन्सारले किन्न नमानेको नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठ बताउँछन् । 

राजस्व प्रणाली अनलाइनमा गइसकेकाले अब न्यून बीजकीकरण गरेर दोहोरो बिल मिलाउन सहज नभएकाले व्यापारीले न्यून बीजकीकरण नगर्ने संघका अध्यक्ष गुप्ताको दाबी छ । कतिपय वस्तुको सन्दर्भ मूल्य बजार मूल्यभन्दा कम रहेको पनि व्यापारीको दाबी छ । यस्तोमा आयातकर्ताले सन्दर्भ मूल्यअनुसार कम मूल्यको बिल पेश गर्छन् । यसमा सरकारलाई राजस्व घाटा भइरहेको अध्यक्ष गुप्ताले बताए । 

सन्दर्भ मूल्य हटाएर आयातकर्ताले पेश गरेको मूल्यलाई मान्यता दिने र ‘पोस्ट कस्टम अडिट’मा बदनियत भेटिए जरीवाना गरेमा न्यून बीजकीकरणको समस्या हटेर जाने अध्यक्ष लाठको दाबी छ । 

राजस्वको लक्ष्य नपुगेपछि सन्दर्भ मूल्यको सहारा 
सरकारले लिएको आयात नियन्त्रणको नीतिले राजस्व घटिरहेको छ । एकातिर आयात घटिरहेको छ भने अर्कातिर बजारमा माग नभएपछि उत्पादन पनि खुम्चिएको छ । यसबाट राजस्वमा नकारात्मक प्रभाव परेको छ । 

मुख्य भन्सार वीरगञ्जले बितेको ४ महीनामा ६७ प्रतिशतमात्र राजस्व उठाएको छ । वीरगञ्ज नाकामा राजस्व दिने मुख्य वस्तु पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात हो । यहाँबाट उठ्ने कुल राजस्वमा ७० प्रतिशतबराबर योगदान यी दुई वस्तुको छ । यति बेला जीप, कार, भ्यान वर्गका गाडीको आयात रोकिएको छ । इन्धनको आयात खस्किएको छ । 

यसै साता वीरगञ्ज आइपुगेका अर्थसचिव कृष्णहरि पुष्करले भन्सार कार्यालयहरूलाई जसरी भए पनि राजस्वको लक्ष्य पूरा गर्न निर्देशन दिएर गएको भन्सारका एक अधिकारीले बताए । 

घट्दो व्यापारका कारण राजस्वमा कमी आएको र मन्त्रालयले लक्ष्य पुर्‍याउन दबाब दिएकाले भन्सारमा खटिएका अधिकारीले सन्दर्भ मूल्यलाई राजस्व उठाउने सहारा बनाएका छन् । मन्त्रालयले लक्ष्यअनुसार राजस्व उठाउन भनेकाले पनि सन्दर्भ मूल्यमा कडाइ गरिएको वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयका एक अधिकृतले आर्थिक अभियानलाई बताए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)