ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तीन सातामा विराटनगर आईसीपीमा कार्गो रेल

भारततर्फको तयारी पूरा, नेपालतर्फको तयारी पनि ९० प्रतिशत सम्पन्न भएको अधिकारीहरूको भनाइ

२०७९ मंसिर, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । गत बुधवार नेपाल–भारत सीमाक्षेत्रमा रहेको एकीकृत जाँच चौकी (आईसीपी) क्षेत्रमा निकै चहलपहल थियो । नेपाल र भारतका कर्मचारीहरू फोटो खिच्न तँछाडमछाड गर्दै थिए । भारतको बथनाहाबाट नेपालको रानीमा रहेको आईसीपीसम्म २५ ओटा डब्बासहितको यात्रुवाहक रेल आएको थियो ।

यसअघि ब्रोडगेज परीक्षणका लागि पटकपटक रेलको इन्जिन आए पनि पूर्णरूपको रेल आएको थिएन । यो ब्रोडगेजमा मालवाहक डब्बामात्र आउने हो । बुधवार भने यात्रुवाहक रेलमा भारतीय अधिकारी चढेर परीक्षणका लागि आएका थिए । भारतीय पक्षले बथनाहाबाट साढे ७ किलोमीटर उत्तरपूर्वको बुधनगर आईसीपीसम्म रेलवेको सम्पूर्ण काम सम्पन्न गरिसकेको छ । उनीहरूले परीक्षणसमेत पास गरिसकेका छन् । नेपालबाट सम्झौताको लागि तयार रहेको खबर पाउनासाथ भारतले डिसेम्बर १५ देखि लगातार नियमित कार्गो रेल सञ्चालनका लागि हस्तान्तरण गर्ने भन्दै त्यसका लागि तयार रहन भनेको छ । नेपाली पक्षले पनि काम सम्पन्न भइसकेको जानकारी दिएको छ । सोहीअनुसार तयारी पनि गरेको छ ।

भारतको रेल विभागले आईसीपीसम्म काम सम्पन्न भएको क्षेत्रमा कार्गो रेल ल्याउन सक्ने जानकारी दिन बुधवार स्थलगत निरीक्षण गरेर फर्केको छ । भारतीय रेलवे विभागअन्तर्गत एनएफ रेलवे कटिहार मण्डलका कर्नलसहितको टोली बुधवार रेलमै आएर कस्टम यार्डको निरीक्षण गरेर फर्केको हो ।

रेलवे विभागअन्तर्गत बथनाहा–कटहरी रेलवेका साइट इन्जिनीयर रोशनकुमार देवले भारतीय रेलवे विभागका अधिकारीहरू अन्तिम तयारीमा जुटेको बताए । उनले नेपाल कस्टम यार्डको तयारीका लागि आवश्यक पर्ने सामान लिएर आउनेजाने कामका लागि उनीहरू रेल लिएरै आउने गरेको बताए । भारतीय रेलवे अधिकारीहरूले आफ्नो प्रयोजनका लागि रेल लिएर आउने विषय जानकारीमा नभए पनि आगामी डेढ महीनामा कार्गो रेल सञ्चालनको प्रक्रियामा रहेको इन्जिनीयर देवले जानकारी दिए ।

आईसीपीको नेपाल कस्टम यार्डसम्म कार्गो रेल ल्याउन आवश्यक पूर्वाधार तयार गर्ने कामसमेत अघि बढाइएको छ । हस्तान्तरणको कुरा चलिरहेको र त्यसका लागि आवश्यक तयारीमा दुवैतर्फको टोली लागेको बताइएको छ ।

‘भारतीय रेलवे विभागले कस्टम यार्डसम्म काम सम्पन्न भएको पत्र पठाइसकेको छ,’ इन्जिनीयर देवले भने, ‘नेपालको रेल विभाग र भारतको इर्कोनले सुझावसहितको अन्तिम परीक्षण प्रतिवेदन पठाएका छन् । सुझावका आधारमा त्यसको अन्तिम प्रक्रिया भारतीय रेलवे विभागले सम्पन्न गरिसकेको छ ।’

इन्जिनीयर देवका अनुसार भारत सरकारले नेपालको भौतिक पूर्वाधार मन्त्रालयलाई रेलवे हस्तान्तरण गर्नेछ । त्यसपछि यसको सञ्चालन प्रक्रिया अघि बढ्नेछ । त्यसका लागि आईसीपीसँग ‘लिंकअप वे’ निर्माणको काम अघि बढाइसकिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत नेपाल इन्टरमोडल यातायात विकास समितिले कस्टम यार्ड र आईसीपीबीचको ‘लिंकअप वे’को टेन्डर आह्वान गरिसकेको छ ।

विराटनगरका उद्योगी व्यवसायीले आईसीपीसम्म परीक्षण गरिसकिएको रेलमार्ग प्रयोगमा चाँडो ल्याउन सके त्यसको फाइदा नेपाललाई हुने बताउँदै आएका छन् । रेलमार्गमा नेपाली कस्टम यार्ड आईसीपीसँगै नभएका कारण नेपाली पक्षले रेलको कन्टेनर यार्ड र पहुँच मार्ग निर्माणको काम सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसका लागि अहिले भइरहेको २ सय मीटर सडकलाई स्तरोन्नति गरिनेछ ।

भारत सरकारले सीमावर्ती रेलवे स्टेशन बथनाहाबाट मोरङको कटहरी गाउँपालिकासम्म १८ दशमलव ७ किलोमीटर रेलमार्ग बनाइदिने सहमतिअनुसार काम भइरहेको छ । कटहरी गाउँपालिकामा मुआब्जा विवादले भारत सरकारलाई नेपालले जमीन हस्तान्तरण गर्न नसक्दा अन्तिम स्टेशनमा काम रोकिएको छ । बथनाहादेखि आईसीपीसम्मको ७ दशमलव ६ किलोमीटर रेलमार्ग भने सञ्चालनका लागि योग्य भएको छ । विराटनगरको आईसीपीदेखि थप १० किलोमीटरमा समेत धमाधम काम भइरहेको छ ।

रेलमार्गको १८ दशमलव ६ किलोमीटरमध्ये निर्माण सकिएको ७ किलोमीटर बाहेकको काम अहिले भइरहेको छ । बथनाहा रेलवे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कस्टम यार्डसम्मको ७ किलोमीटरमा २०७६ कात्तिकमा रेलवे लिक परीक्षण गरिएको थियो । नेपाल कस्टम यार्डमा अहिले पैदल यात्रुका लागि ओभरहेड ब्रिज बनाउने कामसमेत सम्पन्न भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)