ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डलर खर्चेर फेसबुकमा प्रचार गर्ने कुन नेताले जिते ? क - कसले हारे ?

२०७९ मंसिर, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । मङ्सिर ४ को प्रतिनिधि तथा प्रदेशसभा चुनाव विगतको भन्दा केही फरक देखियो । फरक यस अर्थमा कि कतिपय उम्मेदवारले सामाजिक सञ्जाललाई समेत प्रचार माध्यम बनाए । पम्पलेट, पोस्टर छाप्नभन्दा उनीहरूले सामाजिक सञ्जाललाई प्रचारप्रसारको माध्यम बनाएर करोडौं रुपैयाँ देशबाहिर पठाए । 

यसरी डलर खर्चेर सामाजिक सञ्जालबाट प्रचार गरेकामध्ये अधिकांश उम्मेदवार पराजित भएका छन् । उनीहरूले सामाजिक सञ्जालबाट आफ्नो प्रचार गर्न हजार डलरभन्दा बढी खर्च गरे पनि धेरैजसो जनताबाट अनुमोदित भएनन् । 

डलर खर्चेर प्रचार गर्नेमध्येका एक हुन्– काठमाडौं–५ का स्वतन्त्र प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रीराम गुरुङ । उनले ५ हजार ९६८ डलर (७ लाख ७५ हजार रुपैयाँ) सामाजिक सञ्जालमा खर्च गरेको फेसबुकले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ । तर, उनले चुनावमा जम्मा २ हजार ७६१ मत ल्याए । उनले प्रतिस्पर्धा गरेको क्षेत्रबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल निर्वाचित भए । 

काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नेकपा (एमाले) का किरण पौडेलले पनि फेसबुकमा चुनाव प्रसार गर्न २ हजार ८१२ डलर (३ लाख ६५ हजार रुपैयाँ) खर्च गरे । उनी पनि पराजित भए । भोजपुरबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका डा. सुरेश बस्नेतले २ हजार ३७७ डलर (३ लाख ९ हजार रुपैयाँ) खर्च गरे । उनी सुदन किरातीसँग पराजित भए । 

काठमाडौं–५ (२) का प्रदेशसभा सदस्य उम्मेदवार जगन्नाथ लामिछानेले १ हजार ८५७ डलर (२ लाख २८ हजार रुपैयाँ) खर्च गरेर सामाजिक सञ्जालमा प्रचार गरे । उनले पनि चुनाव जित्न सकेनन् । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सामाजिक सञ्जालमा प्रचार गर्न १ हजार ६८५ डलर (२ लाख १५ हजार रुपैयाँ) खर्च गरेको देखिन्छ । उनी कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भए । 

काठमाडौं–५ का स्वतन्त्र प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशान्त श्रेष्ठले २ हजार ७५९ डलर (३ लाख ५८ हजार रुपैयाँ) खर्च गरेको देखिन्छ । कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएको उक्त क्षेत्रमा श्रेष्ठले जम्मा १ हजार ७११ मत पाए ।

चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका उमेश श्रेष्ठले १ हजार ५६० डलर (२ लाख २ हजार रुपैयाँ) खर्च गरेको देखिन्छ । उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने झन्डै ५० हजार मत ल्याएर निर्वाचित भए । श्रेष्ठ चौथो बन्न पुगे । 

बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका मोहम्मद इश्तियाक राई फेसबुकमा धेरै खर्च गर्ने अर्का उम्मेदवार हुन् । उनले १ हजार ४६३ डलर (१ लाख ९० हजार रुपैयाँ) खर्च गरे पनि उक्त क्षेत्रबाट राप्रपाका धवलशमशेर राणा निर्वाचित भए । 

काठमाडौं–४ बाट प्रतिनिसभाका स्वतन्त्र उम्मेदवार शिवेन्द्र केसीले १ हजार ४५० डलर (१ लाख ८८ हजार रुपैयाँ) खर्च गरेको देखिन्छ । उक्त क्षेत्रबाट कांग्रेसका गगन थापा निर्वाचित भए । काठमाडौं–९ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी कल्पना धमलाले १ हजार ४४३ डलर (१ लाख ८७ हजार रुपैयाँ) खर्च गरे पनि एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भए ।

काठमाडौं–५ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार बनेकी रञ्जु दर्शनाले १ हजार ४०४ डलर (१ लाख ८२ हजार रुपैयाँ) फेसबुकमा खर्च गरेकी छन् । उनी पनि पराजित भइन् । पाल्पा–२ का प्रतिनिधिसभा उम्मेदवार सोमप्रसाद पाण्डेले फेसबुकमा १ हजार ३२९ डलर (१ लाख ७२ हजार रुपैयाँ) खर्च गरेको देखिन्छ । उक्त क्षेत्रबाट नेकपा (एमाले)का ठाकुर गैरे चुनिएका छन् । 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका थिए । यादवले १ हजार ३०२ डलर (१ लाख ६९ हजार रुपैयाँ) फेसबुकमा खर्च गरे । उनलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले पराजित गरिदिए । 

काठमाडौं–२ का प्रतिनिधिसभा उम्मेदवार अनुप बोहराले खर्च गरेको १ हजार १३७ डलर (१ लाख ४७ हजार रुपैयाँ) ले पनि काम गरेन । सो ठाउँबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सोबिता गौतम विजयी भइन् ।

फेसबुकमा प्रचार गरेर जित्ने उम्मेदवारको सूचीमा कांग्रेस नेता प्रदीप पौडेल, प्रकाशमान सिंहलगायत छन् । पौडेलले १ हजार ७९४ डलर (२ लाख ४१ हजार रुपैयाँ खर्च गरेको देखिन्छ । सिंहले १ हजार २५४ डलर (१ लाख ६३ हजार रुपैयाँ) खर्च गरेका छन् ।  

सामाजिक सञ्जालमार्फत प्रचार गर्ने कतिपयको त जमानत नै जफत भएको छ । त्यसमध्येकी एक हुन्– प्रतिनिधिसभा सदस्य उम्मेदवार रञ्जु न्यौपाने दर्शना । विवेकशील साझा पार्टीबाट सक्रिय राजनीतिमा होमिएकी रञ्जुले यसपटक काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । उनले कुल खसेको सदर मतको १ दशमलव ४ प्रतिशत मात्रै प्राप्त गरिन् । रञ्जु २०७४ को स्थानीय निर्वाचनबाट चर्चामा आएकी हुन् । उक्त निर्वाचनमा उनले विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी थिइन् । त्यसबेला उनले २३ हजार ४३९ मत ल्याएकी थिइन् ।

खसेको कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था छ । कानूनअनुसार प्रतिनिधिसभा सदस्य उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत १० हजार रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ । कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको धरौटी फिर्ता हुँदैन ।

काठमाडौं–९ का प्रतिनिधिसभा सदस्य उम्मेदवार साझा पार्टीका मिलन पाण्डेले पनि जमानत जोगाउन सकेनन् । यस क्षेत्रको कुल सदर मत ४२ हजार ५१७ छ । पाण्डेले सदर मतको ५ दशमलव ५ प्रतिशत पाए । 

२०७४ मा पनि पाण्डे यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार थिए । २०७४ मा भने उनले जमानत जोगाएका थिए । यस क्षेत्रमा २०७४ मा ४५ हजार ७४ मत सदर थियो । त्यसको ११ प्रतिशत मत पाण्डेले पाएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)