ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घाटामा रहेका कम्पनीकाे दोस्रो बजारमा शेयर मूल्य उच्च

२०७९ मंसिर, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा
काठमाडौं । पछिल्लो समय घाटामा रहेका कम्पनीहरूको शेयर पनि दोस्रो बजारमा उच्च मूल्यमा किनबेच भइरहेको पाइएको छ । उच्च मूल्यमा शेयर किनबेच भइरहेका कम्पनीमा केही विगतदेखि नै घाटामा चलिरहेका र केही पहिलोपटक घाटामा गएका छन् । निरन्तर घाटामा रहेका कम्पनीको शेयर महँगोमा किन्ने लगानीकर्ता फस्न सक्ने विश्लेषक बताउँछन् ।
ग्रूपिजम गरी सामाजिक सञ्जालमार्फत कम्पनीको नामै तोकेर शेयर किनबेच गर्न उत्प्रेरित गर्ने समूहले गर्दा अस्वाभाविक अवस्था
लामो समयदेखि शेयर किनबेचमा संलग्न लगानीकर्ता डमरुवल्लभ घिमिरेका अनुसार ‘ग्रूपिजम’का कारण पछिल्लो समय नोक्सानीमा रहेका कम्पनीको शेयर मूल्य पनि उच्च भएको हो । उनका अनुसार बजारमा समूह नै बनाएर कम पूँजी भएका कम्पनीको शेयर मूल्य अस्वाभाविक रूपमा बढाउने परिपाटी बढेको छ । बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढेको फाइदा उक्त समूहले उठाइरहेको घिमिरेको दाबी छ । सामाजिक सञ्जालमार्फत कम्पनीको नामै तोकेर शेयर किनबेच गर्न उत्प्रेरित गर्ने समूहको प्रभाव घाटामा रहेका कम्पनीको शेयर मूल्यमा परेको घिमिरे बताउँछन् । ‘बजारमा दुई खालका लगानीकर्ता मैले भेटेको छु,’ घिमिरे भन्छन्, ‘कोही लाभांशप्रति आकर्षित हुन्छन्, कोही छोटो समयमै धेरै नाफा कमाउने हिसाबले कारोबारमा सहभागी हुन्छन् ।’
 
धितोपत्र विज्ञ तथा अधिवक्ता ज्योति दाहालका अनुसार पछिल्लो समय लगानीकर्ताले कम्पनीको वित्तीय अवस्थाभन्दा पनि बजारको ट्रेन्ड हेरेर थोरै समयमै नाफा कमाउने बाटो हेरिरहेका हुन्छन् । वित्तीय अवस्थाभन्दा पनि तत्कालीन नाफा हेरेर लगानी गर्दा घाटामा रहेका कम्पनीको शेयर मूल्यसमेत अस्वाभाविक रूपमा बढेको दाहालको भनाइ छ । त्यसपछिको अर्को कारण भनेको थोरै पूँजी भएका कम्पनीको शेयर एउटा समूहले ठूलो परिमाणमा उठाएर पनि मूल्यलाई तलमाथि गराइदिन सक्छ । ‘यो स्वाभाविक नै हो,’ दाहाल भन्छन्, ‘यस्तो अवस्थामा लगानीकर्ता स्वयं सजग र सचेत हुनुपर्छ ।’
 
सामान्यतया सूचीकृत कम्पनीको वित्तीय स्वास्थ्य, नाफा–नोक्सानको अवस्था, शेयर मूल्य र प्रतिशेयर आम्दानीको अनुपात, लगानीकर्ताको मनोबल, वित्तीय प्रणालीमा तरलताको उपलब्धता, बैंकहरूको ब्याजदरलगायत आधारमा दोस्रो बजारमा शेयर मूल्य घटबढ हुने गर्छ । यी सबै कुरा प्रतिकूल रहेकै अवस्थामा मूल्य माथि पुगेकाले त्यसलाई अस्वाभाविक मानिएको हो । 
शेयरबजारमा केही लगानीकर्ताले गुमाउँछन् । केहीले कमाउँछन् । यो सामान्य विषय हो । तर, लामो समय लाभांश दिने अवस्थामा नभएका कम्पनीको शेयर मूल्य के कारणले बढ्यो, त्यो विचार गर्नु आवश्यक रहेको घिमिरेको भनाइ छ । उनले आम लगानीकर्तालाई राम्रो कम्पनीको शेयरमा गरेको लगानी कहिल्यै नडुब्ने सुझाव दिए । आफूमात्र नाफा कमाउने उद्देश्यले सक्रिय समूहको लोभ लालचमा नपरी कम्पनीको वास्तविक अवस्था बुझेर मात्र लगानी गर्नुपर्ने उनको सुझाव छ । 
बजार बुलिश ट्रेन्डमा हुँदा जस्तोसुकै कम्पनीको पनि शेयर मूल्य उच्च हुन्छ । बजार बियरिस ट्रेन्डमा हुँदा राम्रा/नराम्रा सबै कम्पनीको शेयर मूल्य घटिरहेको हुन्छ । वित्तीय विवरण नहेरी शेयर मूल्य मात्रै हेरेर लगानी गर्दा कसरी डुबिन्छ भन्ने एउटा उदाहरण गोर्खाज फाइनान्स पनि हो । 
गोर्खाजले ६ वर्षदेखि शेयरधनीलाई लाभांश दिएको छैन । अन्तिमपटक आर्थिक वर्ष २०७१/७२ मा ७ प्रतिशत बोनस शेयर दिएको यो कम्पनीको शेयर मूल्य १३ सय रुपैयाँसम्म पुगेको थियो । यो कम्पनीको शेयर २०७८ भदौ २ गते प्रतिकित्ता १ हजार २ सय ९९ रुपैयाँमा कारोबार भएको थियो । आइतवार बजार बन्द हुँदा प्रतिकित्ता ५ सय ५१ रुपैयाँ कायम भएको छ । यो १ वर्षमा गोर्खाजका लगानीकर्ताले प्रतिकित्ता झन्डै साढे ७ सय रुपैयाँ गुमाएका छन् । यो कम्पनीले लाभांश कहिले दिन्छ, ठेगान छैन । 
लगानीकर्ताले कम्पनीको वित्तीय विवरण राम्रोसँग केलाएर लगानी गर्न नसके दुःखले आर्जन गरेको रकम गुम्ने भएकाले धेरै कुरा विचार गरेर मात्रै लगानी गर्नुपर्ने विश्लेषक बताउँछन् ।
त्यसो त कम्पनी घाटामा हुँदैमा लाभांश दिन सक्दैन भन्ने पनि हुँदैन । कारणवश कुनै वर्ष नोक्सानीमा गए पनि कम्पनीको रिजर्भ राम्रो भए लाभांश दिन सक्छ । दीर्घकालीन रूपमा लाभांशका लागि लगानी गर्ने हो भने विगतमा राम्रो लाभांश दिँदै आएका कम्पनीको शेयर रोज्नु उपयुक्त हुने शेयरबजारका जानाकार बताउँछन् । अल्पकालीन लगानी गर्ने हो भने त्यहीअनुसार लगानी रकम, बजारको ट्रेन्ड हेर्नुपर्छ । 
शेयरबजार सधैं बढ्ने वा घट्ने हुँदैन । यी दुई ट्रेन्डलार्ई राम्रोसँग नियालेर लगानी गर्नुपर्ने हुन्छ । यो लहैलहैमा लागेर लगानी गर्ने क्षेत्र पनि होइन । शेयरबजारमा लागेर ठूलो प्रगति गरेका र गुमाएका दुवैथरी मान्छे भेटिन्छन् । सोही कारण राम्रोसँग अध्ययन गर्नु जरुरी हुन्छ ।
चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीमध्ये हाइड्रोपावर र लघुवित्त १४–१४, एउटा जीवन बीमा र दुईओटा विकास बैंक घाटामा छन् । लघुवित्ततर्फ किसान, सबैको, विन नेपाल, एनएमबि, जनउत्थान सामुदायिक, स्वाभिमान, गुराँस, मनकामना स्मार्ट, लक्ष्मी, युनिक नेपाल, जाल्पा सामुदायिक, स्वस्तिक र खप्तड लघुवित्त वित्तीय संस्था नोक्सानीमा छन् । 
हाइड्रोपावरमा पिपुल्स पावर, बलेफी, सिंगटी, स्वेतगंगा, रिभर फल्स पावर, साञ्जेन जलविद्युत्, रसुवागढी, मध्यभोटेकोशी, घलेम्दी, न्यादी, हिमालयन ऊर्जा विकास कम्पनी, हिमाल दोलखा, हिमालयन हाइड्रोपावर र ग्रीनलाइफ हाइड्रोपावर नोक्सानीमा छन् । बीमा कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), विकास बैंकमा नारायणी र ग्रीन डेभलपमेन्ट बैंक नोक्सानीमा छन् । यीमध्ये ६ कम्पनीको नोक्सानी र शेयर मूल्यलाई तालिकामा देखाइएको छ । तालिकामा शेयर मूल्य प्रतिकित्ता ५ सय रुपैयाँभन्दा माथी भएका कम्पनीलाई मात्रै समेटिएको हो । 
तालिकामा समेटिएका ६ मध्ये किसान लघुवित्त वित्तीय संस्थाको चालू आवको पहिलो त्रैमासको नोक्सानी अरूको भन्दा बढी छ । चालू आवमा किसानको खुद ब्याज आम्दानी घटेको र सम्भावित जोखिमबापतको व्यवस्थामा धेरै रकम छुट्ट्याएकाले नोक्सानीमा गएको हो । यसले गत आवमा सम्भावित जोखिमबापतको व्यवस्थामा २ करोड ७४ लाख छुट्ट्याएकोमा चालू आवमा ३ करोड ४३ लाख रुपैयाँ छुट्ट्याउनु परेको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)