ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रसारण लाइन बनाउन एमसीसीद्वारा विश्वव्यापी बोलपत्र आह्वान

२०७९ मंसिर, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले प्रसारण लाइन निर्माणका लागि विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । निर्वाचनसम्म भित्रभित्रै काम गरिरहेको परियोजनाले निर्वाचनलगत्तै लप्सीफेदी–रातमाटे–हेटौंडा ४०० केभी, रातमाटे–नयाँ दमौली ४०० केभी, नयाँ दमौली–नयाँ बुटवल ४०० केभी र नेपाल–भारत सीमा ४०० केभी प्रसारण लाइनका लागि टेन्डर आह्वान गरेको हो ।

सोमवार सूचना जारी गरी उक्त प्रसारण लाइन निर्माणका लागि बोलपत्र पेश गर्ने समय ४ महीना दिइएको छ । नेपालको गरीबी निवारणका लागि अमेरिकाले ५० करोड डलर सहयोग उपलब्ध गराउने र नेपालले १३ करोड अमेरिकी डलर बेहोर्ने गरी एमसीसीमा सम्झौता भएको थियो ।

मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालका अनुसार बोलपत्र भर्नेहरूले लप्सीफेदी–रातमाटे–हेटौंडाका लागि ७ लाख अमेरिकी डलर, रातमाटे–नयाँ दमौलीका लागि ५ लाख ५० हजार डलर र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइनका लागि ६ लाख ७५ हजार अमेरिकी डलर बैंक ग्यारेन्टी पेश गर्नुपर्ने हुन्छ । बोलपत्र सन् २०२३ को २७ मार्चसम्ममा पेश गर्न सकिन्छ ।

नेपाल सरकार र अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) बीच २०२३ को अगस्त ९ (२०८० को भदौ) देखि आयोजना कार्यान्वयन गर्ने सहमति भएअनुसार टेन्डर हुन लागेको हो । एमसीए नेपालले अहिले आयोजनाको पूर्वतयारीको काम गरिरहेको छ । नेपाल सरकार र एमसीसीबीच अगस्त २०२३ देखि ५ वर्षको अवधि राखेर आयोजना निर्माण शुरू गर्ने समझदारी भइसकेको छ । टेन्डर प्रक्रिया पूरा गर्न करीब १८० दिन लाग्ने बताइएको छ ।

सरकारले आयोजनाको पूर्वतयारीको काम गर्न चालू आर्थिक वर्ष २०७९/८० मा ९ अर्ब २७ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो अघिल्लो आवको तुलनामा दोब्बर हो । यो वर्ष आयोजनाको पूर्वतयारी सक्ने गरी काम भइरहेको एमसीए नेपालले जानकारी दिएको छ । यो वर्षको बजेटमा ८ अर्ब ९१ करोड ४१ लाख रुपैयाँ अमेरिकी अनुदान हुनेछ । नेपाल सरकारको स्रोतबाट ३६ करोड ५६ लाख रुपैयाँ बेहोरिनेछ । लामो रस्साकस्सीपछि गत फागुनमा नेपाल सरकार र एमसीसीबीचको सम्झौता संघीय संसद्ले अनुमोदन गरेको थियो । 

एमसीसीको लक्ष्य के ?

एमसीए नेपालका अनुसार करीब ३ सय १५ किलोमीटर लामो ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन र तीनओटा ४०० केभी क्षमताका सबस्टेशन निर्माण गर्ने एमसीएको योजना हो । यसले हाल नेपालमा अभाव भइरहेको हाई भोल्टेज ग्रीडको निर्माण गर्नेछ । 

उक्त प्रसारण लाइन तीन प्रदेश– बागमती, गण्डकी र लुम्बिनीका काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, तनहुँ, पाल्पा, नवलपुर र परासी गरी १० जिल्लाका १८ गाउँपालिका, ११ नगरपालिका र एउटा उपमहानगरपालिका भएर जानेछ । विद्युत् प्रसारण लाइन आयोजनाको सबस्टेशनतर्फ तीनओटा नयाँ ४०० केभीका इन्डोर ग्यास कुचालक सबस्टेशन बनाइँदै छ । रातमाटे सबस्टेशन नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा, नयाँ दमौली सबस्टेशन तनहुँ जिल्लाको दमौलीमा र नयाँ बुटवल सबस्टेशन परासी जिल्लाको भूमहीमा निर्माण गरिनेछ । 

यी तीनओटा सबस्टेशनका अतिरिक्त एमसीसीअन्तर्गतको प्रसारण लाइन लप्सीफेदी र नेपाल विद्युत् प्राधिकरणको नयाँ हेटौंडा सबस्टेशनमा पनि जोडिनेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)