पर्वत । पर्वतमा अलैंचीमा रोग लाग्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । उत्पादन नभएकाले लगानी खेर जाने भन्दै किसानहरू चिन्तित बनेका हुन् । जिल्लाको मोदी गाउँपालिका–४ क्याङको खुईजरी धनमाया पुर्जा मगर रोग नियन्त्रणमा आउन नसक्दा लाखौंको लगानी खेर गएको बताउँछिन् । आफूले व्यावसायिक अलैंचीखेती गरेको तर फल नलागेको गुनासो उनले गरिन् ।
उनका अनुसार मजुवापाखा कबुलीयती वनमा २०७४ सालमा लगाइएका अलैंचीमा अहिले दाना लाग्ने बेला हो । तर, बिरुवा सुक्दै गएका छन् । सीमागोठ मजुवापाखा कबुलीयती वन तथा कृषक समूहमा आबद्ध रहेका कृषकले २०७४ सालदेखि अलैंचीखेती गर्न शुरू गरेका हुन् । उनीहरूले हालसम्म झन्डै ३० हजार बिरुवा रोपेका छन् । यस वर्ष अलैंचीले उत्पादन दिनेमा उनीहरू ढुक्क थिए । तर विगत दुई वर्षदेखि अलैंचीको बोटका पात सुक्दै जाने र बोट नै मर्ने समस्याले उनीहरू निराश भएका छन् । आफूहरूले नयाँ बिरुवा रोप्दै आए पनि हुर्किएर फल लाग्ने बेलामा रोग लागेको उनीहरूले बताए ।
‘५ लाख रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ । अहिले अलैंची उत्पादन गरेर लगानी उठाउने र आम्दानी गर्ने बेला हो,’ समूहकी कोषाध्यक्ष वीरमाया पुनले भनिन्, ‘तर २ वर्षअघि बिरुवाका पात सुक्दै जाने समस्या देखियो । त्यसले अहिलेसम्म पनि छाडेको छैन ।’ रोपेको ३ वर्षमा राम्रो उत्पादन हुनुपर्नेमा ५ वर्षसम्म पनि उत्पादन लिन नपाइएको उनको गुनासो थियो ।
पारिपट्टिको क्याङ गाउँका किसानले पनि सोही किसिमको समस्या भोगिरहेका छन् । समूहकी अध्यक्ष डममाया पुनका अनुसार बिरुवामा शुरूमा पात सुक्ने र पछि डाँठ नै मर्ने समस्या देखिएको थियो । यो समस्याको समाधान अझै हुन नसकेको उनले बताइन् ।
‘हामीले लगभग एक हेक्टर क्षेत्रफलमा अलैंची रोपेका छौं । शुरूमा बिरुवाहरू राम्रो भएर हुर्किँदै आए, तर पछि पात सुक्दै जाने र अन्तिममा डाँठ नै मर्ने समस्या देखियो,’ उनले भनिन्, ‘समस्या समाधानका लागि कृषि ज्ञान केन्द्रबाट टोली आएर सबै हेर्नुभएको हो । सरसफाइ र औषधिले केही कम भए पनि बिरुवा सुक्न रोकिएन ।’
गुनासो आएपछि कार्यालयको प्राविधिक टोलीले कृषकसँगै मिलेर बगानको सामूहिक सरसफाइ गरेको तर रोग नियन्त्रणमा नआएको कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले बताइन् । परीक्षण गरेर हेर्दा ‘फुसारियम’ ढुसीको संक्रमण पाइएको उनको भनाइ थियो । विषादी छर्केर केही कम भए पनि समस्या उस्तै रहेको उनले बताइन् । परीक्षणका लागि काठमाडौंमा नमूना पठाइने र विज्ञको सल्लाहअनुसार थप प्रयास गरिने उनको भनाइ छ । तत्कालका लागि जिल्लामा उपलब्ध प्राविधिकलाई पठाएर विषादी प्रयोगको तरीका सिकाउँदै विषादीहरू नि:शुल्क उपलब्ध गराइएको उनले बताइन् ।