ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खानेतेल निकासी एक चौथाइमा खुम्चियो

२०७९ मंसिर, १८  
समाचार उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । भारतले आफ्ना उपभोक्तालाई राहत दिन प्रशोधित खानेतेल आयातमा लिएको नीतिबाट नेपालका तेल उद्योग आहत भएका छन् । भारतीय नीतिका कारण नेपालबाट तेल निकासी एक चौथाइमा खुम्चिएको छ ।

निकासीमा मुख्य योगदान दिँदै आएको तेलको व्यापार खस्किएपछि वैदेशिक व्यापार सन्तुलन थप नकारात्मक बन्ने देखिएको सरोकारवाला बताउँछन् । खानेतेल निकासी हुने मुख्य नाकामा रहेको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो चौमासभन्दा चालू आव २०७९/८० को उक्त अवधिमा प्रशोधित पाम तेलको निर्यात ६९ प्रतिशतले घटेको छ । मूल्यका आधारमा गरिएको हिसाबअनुसार उक्त परिमाणमा निर्यात घटेको हो ।

गत आवको पहिलो चार महीनामा साढे १३ अर्ब रुपैयाँ बराबरको सात करोड ६ लाख लिटर पाम तेल निर्यात भएकोमा यो वर्षको सोही अवधिमा ४ अर्ब ९ करोड रुपैयाँको मात्रै निकासी भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले बताए ।

चालू आवको साउनदेखि कात्तिकसम्ममा एक करोड ७८ लाख लिटर पाम तेल भारत निकासी भएको भन्सारको तथ्यांक छ । चालू आवको शुरूका चार महीनामा ३ अर्ब २ करोड रुपैयाँ मूल्यको एक करोड १३ लाख किलोग्राम भटमासको प्रशोधित तेल निकासी भएको छ । यो मूल्य गत आवको सोही अवधिको भन्दा ८२ प्रतिशत कम हो ।

गत आवको साउनदेखि कात्तिकसम्ममा १७ अर्ब २० करोड रुपैयाँभन्दा बढीको भटमास तेल निर्यात भएको थियो । सूर्यमुखी तेलको निर्यात पनि ७९ प्रतिशतले घटेको देखिन्छ ।

चालू आवको पहिलो चार महीनामा वीरगञ्ज भन्सार हुँदै ३ करोड २८ लाख रुपैयाँ मूल्यको एक लाख ७२ हजार लिटर सूर्यमुखी तेल निकासी भएको छ ।
अघिल्लो वर्ष सोही समयमा १५ करोड ५१ लाख रुपैयाँको सात लाख ६ हजार लिटर निर्यात भएको थियो ।

तेलको निर्यात खुम्चिएपछि यसको कच्चा पदार्थ आयात पनि घटेको भन्सारको तथ्यांकले देखाउँछ । चालू आवको साउनदेखि कात्तिकसम्ममा वीरगञ्ज नाकाबाट चार करोड २९ लाख लिटर कच्चा पाम तेल आयात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६१ प्रतिशत कम हो । भटमासको कच्चा तेल आयात पनि ५४ प्रतिशतले घटेर पाँच करोड ३८ लाख लिटरमा सीमित भएको भन्सारको तथ्यांक छ ।     

यसकारण घट्यो निर्यात
भारतले बजार मूल्य नियन्त्रणमा राख्न खानेतेलको आयातमा सीमा शुल्क घटाएको छ । भारत सरकारले खानेतेल आयातमा ४० प्रतिशतसम्म शुल्क लिँदा नेपालका उद्योगीले यही शुल्क अन्तरको फाइदा लिएका थिए । भारतले अहिले शून्यदेखि २ दशमलव ५ प्रतिशतसम्म शुल्क लिने नीति कार्यान्वयनमा ल्याएको छ । भारतमा शुल्क बढी भएका बेला नेपालबाट निकासी गर्दा उच्च नाफा थियो । भारतमै शुल्क घटेपछि नेपालीभन्दा अन्यत्रको तेल सस्तो पर्न जान्छ ।

नेपालका उद्योगले साफ्टा सहुलियतमा ५ प्रतिशतसम्म शुल्क तिरेर निकासी गर्दै आएकोमा भारतमै शून्य शुल्कमा तेल आयात हुन थालेपछि अब सहुलियतले काम गर्न छाडेको उद्यमी सुरेश रुंगटा बताउँछन् ।

उद्यमीले घाटा कम गर्न भए पनि केही परिमाणमा निकासी जारी राखेका छन् । ‘उत्पादन बन्द गर्नुभन्दा घाटामै भए पनि निकासी गर्दा कम घाटा हुने देखेपछि निकासी भइरहेको छ । ‘तर, यो धेरै दिन टिक्दैन,’ एक उद्योगीले भने । निकासी प्रभावित भएपछि स्वदेशी बजारमा मूल्यमा चर्को प्रतिस्पर्धा भइरहेको उद्योगी बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)