ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

७० प्रतिशत व्यवसायी थप लगानी गर्न अनिच्छुक : 'जुत्ता च्प्पल र औषधिमा लगानी थप्नै चाहन्नन्'

२०७९ मंसिर, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । अर्थतन्त्रमा पछिल्लो समय देखिएको अन्योलले बहुसंख्यक उद्यमी व्यवसायी थप लगानी गर्ने योजनाबाट पछि हटेको एक अध्ययनले देखाएको छ । नेपाल उद्योग परिसंघले गरेको अध्ययनले त्यस्तो देखाएको हो । 

अध्ययनअनुसार कृषि, सिमेन्ट, एफएमसीजी, औषधि, जुत्ताचप्पल र अन्य उत्पादनमूलक उद्योगमा नयाँ लगानी थप्न ६९ दशमलव ४४ प्रतिशत उद्यमी अनिच्छुक देखिएका छन् । जुत्ताचप्पल, औषधि उद्योग र अटोमोबाइल क्षेत्रमा लगानी थप्न त एकजना उद्यमी पनि तयार नरहेको उक्त अध्ययनले खुलासा गरेको छ । 

अध्ययनअनुसार अहिले बजारमा माग घट्नुका साथै उद्योग व्यवसायको कारोबार रकम पनि घटेको छ । त्यसले व्यवसायीलाई नयाँ लगानी गर्न निरुत्साहित गरेको हो । अध्ययनका क्रममा १८ ओटा क्षेत्र र त्यसका उपक्षेत्रका १०८ उद्योगी व्यवसायीसँग प्रश्न गरिएको परिसंघले बताएको छ । सर्वेक्षणले माग र एलसीमा उल्लेख्य कमी आएको तथा नयाँ लगानीका योजनाबाट पछि हट्ने प्रवृत्ति निकै बढेको देखाएको छ । 

सरकारले लगानीकर्तालाई नयाँनयाँ उद्योग र परियोजनामा लगानी बढाउन आग्रह गरिरहेका बेला व्यवसायी भने लगानी योजनाबाट पछि हटेको देखिएको छ । 
परिसंघको अध्ययनअनुसार सबै क्षेत्रको औसत कुल मागमा २८ दशमलव २८ प्रतिशतले कमी आएको छ । यस्तै समग्र क्षेत्रको कुल कारोबारमा औसत २४ दशमलव ९४ प्रतिशत कमी आएको छ ।

अध्ययनका क्रममा गरिएको सर्वेक्षणमा सहभागीमध्ये ६९ दशमलव ४४ प्रतिशतले लगानी थप्ने योजनाबाट पछि हटेको जवाफ दिएका छन् । जुत्ताचप्पल, औषधि र अटोमोबाइल क्षेत्रमा लगानी थप्न बढी लगानीकर्ता डराएका छन् । परिसंघका अनुसार यी तीन क्षेत्रमा लगानी थप्न वा नयाँ योजना अघि सार्न शतप्रतिशत लगानीकर्ता अनिच्छुक देखिएका छन् । 

यी तीन क्षेत्रको माग पनि सबैभन्दा धेरै घटेको छ । अटोमोबाइलको माग ७८ दशमलव १ प्रतिशतले घटेको अध्ययनले देखाएको छ । त्यसैगरी जुत्ताचप्पलको माग ४५ दशमलव ३ र औषधिको माग १८ दशमलव ८ प्रतिशत घटेको देखिएको छ । 

यी क्षेत्रको कारोबार पनि सोही अनुपातमा छ । यीबाहेक कृषि, सिमेन्ट, कन्स्ट्रक्शन कम्पनी र अन्य उत्पादनमूलक क्षेत्रमा नयाँ लगानी गर्न पनि उद्योगी व्यवसायी अनिच्छुक देखिएका छन् । सबैभन्दा बढी मागमा परिवर्तन आएका क्षेत्रमा कृषि, सिमेन्ट, इन्जिनीयरिङ/कन्स्ट्रक्शन, जुत्ताचप्पल र सूचनाप्रविधि छन् । 

चालू आर्थिक वर्षको शुरूमै वर्षा, त्यसलगत्तै परेका चाडपर्व, मङ्सिर ४ गतेको निर्वाचनका कारण पूर्वाधार निर्माण शुरू हुन ढिलो हुँदा सिजनमा पनि सिमेन्ट, स्टीलजस्ता निर्माण सामग्रीको माग बढ्नुको सट्टा घटेको देखिएको छ । नयाँ आवासीय घर बनाउनेको संख्या पनि अपेक्षाकृत नबढ्दा सिमेन्ट, स्टीललगायत निर्माण सामग्रीको खपतमा कमी आएको छ । यी वस्तुको माग घट्दा उद्योग व्यवसायको कारोबार पनि घटेको छ । 

परिसंघका अनुसार अटोमोबाइल क्षेत्रको कारोबारमा ७१ प्रतिशतले कमी आएको छ । यस्तै, जुत्ताचप्पलको कारोबार ५१ प्रतिशतले घटेको छ । कारोबारको हकमा इन्जिनीयरिङ/कन्स्ट्रक्शन कम्पनीको ४३ दशमलव ७ र सिमेन्ट उद्योगको ३९ प्रतिशतले घटेको परिसंघको सर्वेक्षणले देखाएको छ । यसैगरी आयातका लागि खोलिने एलसीमा समेत कमी आएको छ । 

सरकारले विदेशी मुद्रा सञ्चिति जोगाउने भन्दै विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्धले एलसी रकममा कमी आएको सर्वेक्षणले देखाएको छ । परिसंघका अनुसार औसतमा समग्र क्षेत्रको एलसी रकम २२ दशमलव शून्य ३ प्रतिशतले घटेको छ । सबैभन्दा बढी एलसी रकम घटेको क्षेत्र पनि अटोमोबाइल नै छ । उक्त क्षेत्रको एलसी रकम ८९ प्रतिशतले घटेको छ । सरकारले गत वैशाखदेखि शववाहन र एम्बुलेन्सबाहेकका कार, जीप भ्यान आयातमा प्रतिबन्ध लगाएको छ । त्यसयता यी साधन आयातको एलसी नै खुलेको छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)