ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२१ कम्पनीको शेयर कारोबार अझै रोक्का

२०७९ मंसिर, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । मर्जर तथा प्राप्ति प्रयोजनका कारण हाल रोकिएका कम्पनीको शेयर कारोबार तत्कालका लागि खुला गर्नुपर्ने व्यवस्था लागू भए पनि अझै २१ कम्पनीको शेयर कारोबार रोक्का नै रहेको छ ।

नेपाल धितोपत्र बोर्डले गत कात्तिक २४ गतेदेखि संंगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ लागू गरेको थियो । उक्त निर्देशिकामा भएको व्यवस्थाअनुसार सूचीकृत कम्पनीहरूले मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गरी एकीकृत कारोबार गरेपछि बढीमा १५ दिन कारोबार रोक्का हुन्छ । निर्देशिका लागू हुनुपूर्व मर्जर तथा प्राप्तिका कारण रोक्का रहेको कम्पनीहरूको शेयर कारोबार तत्कालका लागि फुकुवा हुनुपर्ने भए पनि हालसम्म १३ कम्पनीले मात्र कारोबार फुकुवा गरेका छन् ।

बोर्डले निर्देशिका लागू गर्नुपूर्व मर्जर तथा प्राप्ति प्रयोजनका लागि ३४ कम्पनीको शेयर कारोबार रोक्का थियो । बोर्डले निर्देशिका लागू हुनुपूर्व मर्जर तथा प्राप्ति प्रयोजनका कारण रोकिएका कम्पनीको आधारभूत शेयरधनीबाहेकको शेयर कारोबार फुकुवा हुने व्यवस्था गरेको हो ।

बोर्डका अध्यक्ष रमेशकुमार हमालले आम लगानीकर्ताको सम्पत्ति लामो समय बन्धक नहुने गरी लागू गरिएको व्यवस्था कार्यान्वयनका लागि सम्बद्ध कम्पनीहरूले विशेष चासो राख्नुपर्नेमा जोड दिएका छन् । निर्देशिकामा हाल रोक्का रहेका कम्पनीहरूको शेयर कारोबार यति दिनमा खोल्नुपर्ने भन्ने व्यवस्था नभए पनि सम्बद्ध कम्पनीले आफ्ना सदस्यको हितलाई ध्यानमा राखी यथाशीघ्र कारोबार फुकुवा गर्नुपर्ने अध्यक्ष हमालको सुझाव छ ।

नयाँ व्यवस्थाबमोजिम आधारभूत शेयरधनीबाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्न विवरणसहित धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र केन्द्रीय निक्षेप सेवाप्रदायक संस्था सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) समक्ष निवेदन पेश गर्नुपर्ने काम धेरै समय लाग्ने खालको नभएको अध्यक्ष हमालको भनाइ छ । 

धितोपत्र बजार सञ्चालक नेप्सेले सम्बद्ध कम्पनीले आधारभूत शेयरधनीको विवरणसहित निवेदन दिएको भोलिपल्टै कारोबार फुकुवा गर्न सकिने जानकारी दिएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले आधारभूत शेयरधनीको विवरण कम्पनीले तयार गर्न केही मिनेटमात्र लाग्ने बताए । यति हुँदाहुँदै पनि कारोबार फुकुवाका लागि समय लगाउनु उचित नहुने प्रवक्ता पराजुलीको भनाइ छ । 

नियामकले निर्देशिका लागू गर्दा त कार्यान्वयनमा ढिलाइ गर्ने कम्पनीले लगानीकर्ताको गुनासो कसरी सम्बोधन गर्ला भन्ने प्रश्न लगानीकर्ताको छ । नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले आम लगानीकर्ताको सम्पत्ति बन्धक हुने गरी कम्पनीहरूले कारोबार फुकुवामा चासो नदिएको आरोप लगाए । निर्देशिका लागू भएको १ महीना हुन लाग्दा पनि १ दिनमा हुने कामलाई कम्पनीले बेवास्ता गर्दा लगानीकर्ता अन्यायमा परेको ढकालको भनाइ छ । ‘लगानीकर्ताले किन सधैं विरोध मात्र गर्ने भनेर हामी चुप लागेर बसेका हौं,’ उनले भने, ‘अब १/२ दिनमा कम्पनीहरूले चासो नदेखाए नियामकसँग गुहार माग्नेछौं ।’

हाल रोक्का रहेका कम्पनीहरूको शेयर कारोबार फुकुवा भए पनि एकीकृत कारोबारपछि पुन: रोक्का हुन्छ । एकीकृत कारोबार भएको मितिदेखि गाभिएका वा प्राप्त गर्ने संस्थाको शेयर मिलान, धितोपत्र पुन: दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरणलगायत कामका लागि बढीमा १५ कार्यदिन शेयर कारोबार रोक्का राख्ने व्यवस्था निर्देशिकामा छ । 

नयाँ व्यवस्थाअनुसार अब सम्झौता गरेको ६ महीनाभित्र मर्जर तथा प्राप्ति प्रक्रिया सम्पन्न गरिसक्नुपर्नेछ । तोकिएको अवधिमा मर्जर तथा प्राप्ति कार्य सम्पन्न नगरे संगठित संस्थाको सञ्चालक समिति जवाफदेही हुनेछ । मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गर्नुपर्ने अवधि (६ महीना) निर्देशिका लागू हुनुपूर्व प्रक्रियामा रहेका कम्पनीको हकमा भने लागू हुनेछैन ।

यसअघि मर्जर तथा प्राप्ति सम्झौता गरेसँगै रोकिएको शेयर कारोबार एकीकृत कारोबार गरी शेयर स्वामित्व मिलानपछि कायम शेयर सूचीकृत गरेर मात्र खुला हुँदै आएको थियो ।

नयाँ निर्देशिका लागू हुनुपूर्व नै गत कात्तिक ७ गते एकीकृत कारोबार गरिसकेका सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको शेयर कारोबार अझै खुलेको छैन । यी दुई कम्पनी एकआपसमा गाभिएर सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट कारोबार गरिरहेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)