ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल वायुसेवा निगमले ऋणमा लिएका चारओटा चिनियाँ जहाज किस्ता तिर्न नसकेपछि विक्रीमा राखियो

२०७९ मंसिर, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar हिमा वि.क.

काठमाडौं । सहुलियत ऋणमा लिएका चारओटा चिनियाँ जहाजको किस्ता तिर्ने समय शुरू भएको १ वर्ष नाघेपछि नेपाल वायुसेवा निगमले जहाज विक्री प्रक्रिया थालेको छ । निगमले २०७८ कात्तिकदेखि ऋणको किस्ता तिर्न शुरू गर्नुपर्ने थियो ।

सोको १ वर्षपछि निगमले जहाज विक्रीका लागि मूल्यांकन प्रक्रिया थालेको हो । २०७१ देखि पटकपटक गरी निगमले अनुदानमा दुई र ऋणमा चार गरी चिनियाँ ६ ओटा जहाज नेपालमा ल्याएको थियो । २०७७ साउनदेखि ती जहाज औपचारिक रूपमै ग्राउन्डेड छन् । व्यावसायिक रूपमा जहाज सञ्चालन नगर्ने निर्णयपछि सरकारले ती जहाजको व्यवस्थापनका लागि दुईओटा विकल्प दिएको थियो । पहिलो भाडा (लीज) र नभए विक्री गर्न अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको छ । निगमले स्वीकृतिको करीब २ वर्षसम्म भाडामा लगाउन नसकेपछि विक्रीका लागि प्रक्रिया अघि बढाएको छ ।

निगमले मंगलवार सूचना जारी गरेर पार्किङमा रहेका चिनियाँ जहाजको मूल्यांकनका लागि कम्पनी छनोट गर्न टेन्डर (बोलपत्र) आह्वान गरेको छ । ६ ओटामध्ये अहिले निगमसँग चिनियाँ पाँचओटा जहाज छन् । एउटा जहाज अवतरणका क्रममा २०७६ चैतमा नेपालगञ्जमा दुर्घटनाग्रस्त भएको थियो । अहिले पाँचओटै जहाज विक्रीका लागि निगमले मूल्यांकन गर्ने कम्पनीका लागि टेन्डर आह्वान गरेको हो । निगमले ५६ सीट क्षमताका एमए–६० दुईओटा र १७ सीट क्षमताका तीनओटा वाई–१२ ई जहाजको मूल्यांकन गर्न टेन्डर आह्वान गरेको छ ।

बोलपत्र पेस गर्ने समयसीमा १५ दिनको छ । निगमका प्रवक्ता अर्चना खड्काले भाडाका लागि प्रस्ताव नपरेपछि विक्री प्रक्रिया शुरू गरिएको बताइन् । ग्राउन्डेड भएका जहाजको व्यवस्थापन प्रक्रिया अघि बढेको भन्दै उनले अहिलेकै अवस्थामा जहाजको मूल्यांकन हुने जानकारी दिइन् । अहिलेको मूल्यांकनपछि मात्रै जहाजहरू विक्री हुने वा नहुने निश्चित हुनेछ । १७ र ५६ सीट क्षमताका चारओटा चिनियाँ जहाज सरकारले चिनियाँ एक्जिम बैंकको १ दशमलव ४५ प्रतिशत ब्याजदरमा खरीद गरेको थियो । उक्त किस्ता २०७८ कात्तिकदेखि नै तिर्नुपर्नेमा जहाज व्यवस्थापन नहुँदा तिर्न नसकिएको उनको भनाइ छ ।

चिनियाँ जहाजबाट थप व्ययभार थपिएपछि निगम सञ्चालक समितिको २०७७ असार १६ गते बसेको बैठकले सोही वर्षकै साउन १५ गतेपछि चिनियाँ जहाजहरू व्यावसायिक रूपमा सञ्चालनमा नल्याउने निर्णय गरेको थियो । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै अर्थ मन्त्रालयले २०७७ चैत ४ गते अनुदान र ऋणमा लिएका चिनियाँ जहाज व्यवस्थापनका लागि दुईओटा विकल्पमा जान सुझाएको थियो । मन्त्रीस्तरको निर्णयअनुसार ती जहाज भाडामा दिन र भाडामा नगए सरकार तथा निगमलाई अधिकतम लाभ हुने गरी विक्री गर्न भनिएको थियो ।

जहाज भाडा (लीज)मा दिन सोही वर्षको चैत १९ गते लिज कमिटी गठन गरिएको थियो । उक्त कमिटीले भाडादरसहित २०७८ जेठ ३ गते प्रतिवेदन बुझायो । तर, भाडा तथा विक्रीमा जाने निर्णयमै लामो समय लागेपछि अहिले ती जहाज थप जीर्ण भएका छन् । करीब ७ अर्ब लगानी भएका जहाज अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको पार्किङमा छन् । चिनियाँ ५६ सीट क्षमताको चिनियाँ एमए–६० जहाज काठमाडौं, नेपालगञ्ज र भर्खरै सञ्चालनमा आएको गौतमबुद्धबाहेक अन्य आन्तरिक विमानस्थलमा उडान/अवतरण गर्न सक्दैनन् ।

धावनमार्गको दूरी कम हुँदा काठमाडौंबाट जान मिल्ने तर अन्य विमानस्थलबाट फर्किन नमिल्ने र अन्य कारणले जहाज सञ्चालन गर्न नसकिएको निगमले बताउँदै आएको छ । निगम स्रोतले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/७२ देखि आर्थिक वर्ष २०७५/७६ सम्म दुवैखाले विमानबाट निगमलाई १ अर्ब ९० करोड ६९ लाख रुपैयाँ घाटा भएको थियो । निगमका अनुसार त्यो अवधिमा एमए–६० र वाई–१२ ई जहाज चलाउँदा नै सञ्चालन घाटा मात्रै ७७ करोड ७४ लाख थियो ।

त्यसपछि सरकारले औपचारिक रूपमै तिनको व्यावसायिक सञ्चालन बन्द गरेको थियो । अहिले सञ्चालन खर्च/घाटा नभए पनि किस्ता तिर्नुपर्ने दायित्व निगममाथि छ । किस्ता रकम कति पुगेको छ भन्ने विषय निगमले खुलाएको छैन । 

निगमले गरेको अध्ययनले प्रशिक्षक पाइलट उपलब्ध नभएको, प्रशिक्षण खर्च ट्विनअटरको तुलनामा चार गुणाभन्दा बढी हुनुका साथै ए–३२० को भन्दा पनि बढी हुँदा जहाज सञ्चालन नै खर्चालु र धान्नै नसक्ने देखाएको छ । यसैगरी ट्रेनिङ स्लट र क्रूको अभावमा विमान ग्राउन्डेड हुने भएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)